अलबिदा त्रिभुवन !

मुख्य समाचार स्थानिय समाचार

लाईट न्युज संवाददाता
२०७९ माघ ३ गते । पोखरा । यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको मंगलबार अत्येष्टि गरिएको छ । शव पहिचान र पोस्टमार्टम गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले परिवारलाई शव बुझाएपछि सेती नदीको शान्तिघाटमा पौडेलको दाहसंस्कार गरिएको हो ।

उनलाई श्रद्धाञ्जलीदिन पत्रकार, राजनीतिकर्मी, पेसाकर्मी, उद्यमी व्यवसायी, समाजसेवी लगायतको उपस्थिति थियो । उनको शवयात्रामा ठूलो संख्या सामेल भयो । पत्रकार पौडेलको पार्थिव शरीर नेपाल पत्रकार महासंघ कास्कीको प्रांगणमा राखी श्रद्धाञ्जली अर्पण गरिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरु सीता सुन्दास, पञ्चराम गुरुङ, पूर्वमन्त्री रामजी बराल, प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, पूर्वअध्यक्ष गोविन्द आचार्य, प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक र पुण्य पौडेल, महासंघ कास्कीका पूर्वअध्यक्षहरु नारायण कार्की, रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ, महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, महासंघ कास्की अध्यक्ष विमला भण्डारी, उपाध्यक्षद्वय जमुना वर्षा शर्मा, रामप्रसाद तिमिल्सिना, सचिव माधव बराल, कोषाध्यक्ष कृष्ण दवाडी लगायत पत्रकारहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।अस्पतालबाट पौडेलको शव उनको निवास पोखरा ११ फूलबारी लगी त्यहाँबाट पत्रकार महासंघ प्रांगण पुर्याई श्रद्धाञ्जली अर्पणपछि शवयात्रा गरिएको थियो ।

३७ वर्षे पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् । त्यसअघि उनी महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष र महासंघ कास्कीको उपाध्यक्ष एवं २ कार्यकाल सचिव भएका थिए । राष्ट्रिय स्वाभिमान साप्ताहिकबाट २ दसकभन्दा अघि पत्रकारिता सुरु गरेका पौडेलले पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनमा आवद्ध भई पत्रकारिता गरे । पछिल्लो समय उनी पोखरा हटलाइन दैनिकको प्रकाशक तथा सम्पादक थिए ।
नेपाल प्रेस सेन्टरको कार्यसम्पादन समितिको बैठकमा भाग लिन काठमाडौं गएका उनी आइतबार यती एयरको जहाजमा फर्किंदा दुर्घटनामा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *