मन्त्रीपरिषद् विस्तार, नयाँ मन्त्रीहरुले लिए सपथ
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार गरेका छन् । मंगलबार विस्तार भएका मन्त्रीपरिषद्का नयाँ सदस्यहरुले शीतलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुमा राप्रप्रा अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले उपप्रधासहित ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री, ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डेले सहरी विकासमन्त्रीको जिम्मेवारी पाएका छन् ।
यस्तै, माओवादी केन्द्रबाट रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, सुदन किराँतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका पमा शपथ लिएका छन् । नेकपा एमालेका सांसद हरि उप्रेतीले रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीले स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, ज्वालाकुमारी साहले कृषि र राजेन्द्र राईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका रुपमा शपथ लिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनालले शिक्षा मन्त्रीका रुपमा शपथ लिएका छन् । यस्तै, सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री, दीपक सिंह उर्जा राज्यमन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको शपथ लिएका छन् ।