एकै चर्चका तीन अगुवाहरु अन्त्यष्टि कार्यक्रमबाट फर्किँदै गर्दा
लाईट न्युज सम्वाददाता
पोखरा, माघ २ गते । नेपालमा लगभग ५० वर्ष सेवकाई गरेर स्वर्ग प्रस्थान गर्नुभएका पोखरा स्थित नदीपुर चर्चका पाष्टर म्याथ्यु फिलिपलाई उनकै जन्मथलो भारतको केरलामा अन्तिम बिदाई गर्न नदीपुर चर्चका मुख्य अगुवाहरु जानुभएको थियो ।
मण्डलीका संस्थापक पाष्टर प्रभुमा सुतेको केहिदिन मात्र भएको थियो अनि घट्यो यो अकल्पनिय घटना । २०७९ माघ १ गते भएको विमान दुर्घटनामा परि ज्यान गुमाउनेमा नदीपुर चर्चका मुख्य अगुवा राजुसिँह ठकुरी, अनिल शाही र रबिन हमाल पनि परेका छन । राजुसिँह ठकुरी एक कुशल व्यवसायी, मण्डलीको मुख्य अगुवा र समुदायको सेवामा क्रियाशिल हुनुहन्थ्यो । रबिन हमाल अध्ययन र मण्डलीको सेवामा सक्रिय हुनुहुन्थ्यो । अनिल शाही ख्रीष्टियान जगतका निकै प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो, उहाँ एक कुशल मिडियाकर्मी, भिडियोग्राफर तथा फोटोग्राफर, उत्कृष्ट संगित संयोजक, कुशल व्यवसायी, युवा उद्यमी हुनुहुन्थ्यो । उहाँहरु लगायत अन्य अगुवाहरु पाष्टर म्याथ्यु फिलिपको अन्त्यष्टि कार्यक्रममा सहभागी भएर काठमाडौँबाट पोखरा आउँदै हुनुहुन्थ्यो भने केहि साथीहरु बसमा आउँदै थिए ।
घटना थाह पाएलगत्तै पोखरामा भएको मण्डली परिवार, पोखरेली ख्रीष्टिय समुदाय, अन्य ख्रीष्टियान व्यक्तित्वहरु एकजुटभएर प्रार्थना तथा सान्त्वनाको लागि भेला भए । मण्डलीको स्रोत अनुसार आफन्त तथा इष्टमित्र बाहिर भएको र पार्थिव शरिरको सनाखत हुँदै गरेकोले अन्त्यष्टि सेवाकेहि दिनमा हुने जानकारी प्राप्त भएको छ ।