पोखरामा परमेश्वरले चलाउनुभएको व्यक्ति: म्याथ्यु फिलिप
उहाँ पोखरा आउँदा पोखरामा जम्मा २ वटा चर्च थिए, पोखरेली ख्रीष्टियानहरुको निम्ति उहाँको योगदान अतुलनिय छ । आफ्नो सारा जवानीपन पचास बर्ष भन्दा बढी पोखरामा आफ्नो सेवकाईको जीवन बिताउनुभएका नदिपुर मण्डलीका संस्थापक तथा प्रमुख अगुवा मैथ्यू फिलिपको जन्म भारतको केरलामा सन् २२ मे १९४७ भएको थियो । कक्षा १० पास पछि टिचर्स तालिम लिएका उहाँले १५ बर्षको उमेरमा नै प्रभु येशूमा विश्वास गरि त्यसको केही समयमा नै बप्तिस्मा लिई आफ्नो जीवन प्रभुमा सुम्पनुभएको थियो । उहाँको जीवनमा परमेश्वरको कार्य हुनुमा उहाँको प्रभुमा समर्पित बाजे मैथ्यूको ठूलो योगदान रहेको कुरा उहाँ बताउनुहुन्छ । प्रभुका दासहरुबाट ख्रीष्टमा जीवन बिताउनुपर्दछ र सेवकाई गर्नुपर्छ भन्ने बाइबलीय शिक्षा पाएपछि उहाँ सन् १९७२ मा बनारस स्थित २ बर्षे बाइबल स्कूलमा जानुभयो । सो बाइबल स्कूलका तत्कालिन प्रिन्सिपल स्व. के. बि. अब्राहामले नेपालको गोर्खा लगायत बिभिन्न ठाउँहरुमा १२ बर्ष सम्म सेवकाई गर्नुभएको रहेछ । उहाँले नेपालको बारेमा खूब चर्चा गर्नुहुन्थो ।
मैथ्यू फिलिप बाईबल स्कूल सिद्धिएपछि सन् १९७४ मा सेवकाईको लागि काठमाण्डौं आउनुभयो । सन् १९७५ मा उहाँको विवाह केरलामा नै एल्सी मैथ्यूसंग भयो । पोखरामा आए पछि उहाँकी श्रीमती एल्सी मैथ्यू साइनिङ्ग अस्पतालमा काम गर्नुहुन्थ्यो भने उहा शुरुमा बागबजार मण्डलीसंग मिलेर सेवकाई गर्नुहुन्थ्यो ।
त्यस ताका पञ्चायत कालमा खुल्ला सुसमचार प्रचार गर्न बन्देज थियो तर उहाँको मनमा एउटा इसाई पुस्तक पसल खोलेमा त्यहाँ किताबहरु राख्न पाइन्थ्यो, कोही इच्छा लागेकाहरु आउलान् र प्रभुको वचन पढलान र आफूलाई पनि प्रभुको कुरा गर्ने मौका मिल्थ्यो भन्ने विचारले निडर बनी पोखरामा पहिलो इसाई पुस्तक पसल खोली झण्डै ३० बर्ष सम्म संचालन पनि गर्नुभयो । उहाँले सतावटको पनि सामना गर्नुपर्यो । उहाँ भन्नुहुन्थ्यो मैले प्रभुको लागि यो यो गरे भनेर भन्नु प्रभुलाई भन्दा पनि आफुलाई उचाल्नु हो । एक पटक उहाँको पुस्तक पसलका किताबहरु जलाइए । वडा कार्यालय र प्रशासनबाट पुस्तक पसल बन्द गर्नको लागि ठूलो दबाव सहित बन्द गरिदियो तर उहाँले हरेश खानु भएन केही महिना पछि नै उहाँले अर्को नयां ठाउंमा पुस्तक पसललाई निरन्तरता दिनुभयो । नदीपुर चर्च स्थापना साथै थुप्रै व्यक्तिलाई चेलापन र सुसमाचारमा सँधै अग्रणी व्यक्ति पोखरेली ख्रीष्टिय समुदायमा पनि सक्रिय रुपमा रहेर लामो समय सेवा गर्नुभयो ।
मैथ्यू फिलिपमासधै सुसमचारमा अग्रसर हुनुहुन्थ्यो । उहाँले सुसमचारका जवान झुण्डहरु लिएर नेपालका बिभिन्न जिल्लाहरुमा पुग्नुहुन्थ्यो । पोखराका विभिन्न पाष्टरहरु उहाँसंग प्रचारको लागि गोर्खा, बिरेठाटी, नौडाँडा मुग्लीन, आबु खैरेनी, दमौली र धेरै ठाउँहरुमा पुग्नुभएको छ । मैथ्यू फिलिपले पोखरामा सेवकाई गर्दा यहि भन्नुहुन्थ्यो कि “म परमेश्वरको अनुग्रहमा सेवकाई गरिरहेको छु । परमेश्वरले जा भन्नुभयो म पोखरा आएँ जुन दिन तँ पोखरा बाट फर्कि भन्नुहुन्छ त्यही दिन म पोखराबाट फर्कनेछु ।”
उहाँसँग लाईट न्युजले २०७३ साल भाद्र १६ गते लिएको अन्तर्वाता अझै पनि नेपाली मण्डलीलाई मार्गदर्शन गर्न प्रेरित गरिरहन्छ । प्रस्तुत छ अन्तवार्ता :
जयमसिह
जयमसिह ।
आजभोलि के गर्दै हुनुहुन्छ ?
म आजभोलि चर्च परिवारसँग मिलेर प्रभुको सेवा गर्दैछु ।
यहाँको जन्म कहाँ र कहिले भयो ?
मेरो जन्म १९४७ मे २२ केरलाको एक विकट गाउँमा एक ईसाई परिवारमा भएको थियो ।
कस्तो थियो त्यतिबेलाको अबस्था र मानिसहरु कसरी बस्थे ?
त्यतिबेला सबै मानिसहरू खेतीकिसानी काम गर्थे, खानपिनको लागि धेरै कडा परिश्रम गर्नुपर्थ्यो, रूपैयाँ पैसा हुँदैनथ्यो । मानिसहरू आफ्नै घरमा काम गर्थे, मेरो परिवार पनि किसान नै थियो साथै नरिवल प्रशस्त फल्ने भएकाले हामीले नरिवल पानी बेच्थ्यौँ ।
अहिले त्यतातिर हजुरको परिवारमा को को हुनुहुन्छ ?
अहिले त्यतातिर मेरो दिदी बहिनी र भाई हुनुहुन्छ ।
कसरी बित्यो केरलामा हजुरको बाल्यकाल ?
म एउटा सामान्य स्कुलमा पढें । त्यतिबेला किताब कपी लिएर स्कुल जानुपर्दैनथ्यो । हामी स्लेटमा एकप्रकारको पत्थरले लेख्थ्यौँ । पाँच कक्षा पुगेपछि मात्रै मैले मसीमा चोबेर लेख्ने कलमले लेख्न पाएँ । र दस कक्षा सम्मै पढें । हामीलाई सानो छँदा बाबा आमाले त्यति धेरै वास्ता र हेरविचार गर्नुपर्थेन । त्यति बेला एक गाउँ एक परिवारजस्तै थियो । मानिसहरूमा एक आपसमा मधुर सम्बन्ध थियो । एक अर्कालाई वास्ता फिक्रि गर्थे । मेरो बाल्यकाल आफ्नो परिवार र गाउँमा निकै रमाइलोसँग बित्यो ।
हाल आएर कस्तो छ त्यताको वातावरण कस्ता भएका छन त्यहाँका मानिसहरु?
पहिले सबैको घरहरू नरिवलको पातले छाएको दुइवटा मात्रै कोठाको हुन्थ्यो । त्यतिबेला साईकल पनि मुस्किलले देखिन्थ्यो । तर अहिले आएर राम्रो पक्की घरहरू छन, घरघरमा गाडीहरू छन ठुलो भौतिक बिकास भएको छ तर आत्मिकता, एक अर्काप्रतिको माया, स्नेह र धार्मिकता घटेको छ ।
कसरी भयो त्यहाँ भौतिक बिकास ?
परमेश्वरको अनुग्रहले त्यहाँका मानिसहरूलाई बाहिर देश जाने मौका मिल्यो पहिले पहिले अरब देशहरू र अहिले युरोप र अमेरिका अनि त्यहाँका मानिसहरूको भौतिक बिकास भयो । तर दुःखको कुरा अहिले मानिसहरूले परमेश्वरलाई भन्दा पनि रूपैयाँ पैसा, गाडी, घर र आफ्ना छोराछोरीलाई पुज्छन ।
यहाँले प्रभुलाई कसरी पाउनुभयो ?
म एक इसाई परिवारमा जन्म लिएतापनि, सानैदेखि चर्च गएतापनि पक्का बिश्वासी थिइन तर जब म १५ वर्षको भएँ मलाई आफु पापी भएको भयो प्रभुको वचनलाई मैले बुझें र येशू ख्रीष्टलाई व्यक्तिगत रूपमा प्रभु महसुस अनि मुक्तिदाता भनि विश्वास गरें ।
कसरी यहाँले सेवकाई गर्ने र प्रभुको लागि नै आफ्नो सारा जीवन सुम्पिने प्रेरणा पाउनुभयो ?
मैले बिशेष गरेर धेरै प्रभुको दासहरूलाई हेरे, उनीहरूको जीवन शैली, लक्ष्य र वचनबाट मैले हामीले प्रभुको सुसमाचार नसुनाई नहुँदो रहेछ भन्ने कुरा मनमा गड्यो । म सँग सम्बन्धमा आउने प्रभुका दास, प्रचारकहरू र थुप्रै प्रभुका जनहरूको जीवनबाट मैले थुप्रै कुराहरूमा चुनौती पाएँ र सबै थोक छोडेर म प्रभुको सेवा गर्छु भन्ने निर्णय गरेँ ।
भनेपछि यहाँले प्रभुको दासहरुलाई हेरेर, उनीहरुको जीवनशैलीलाई हेरेर प्रभुको सेवा गर्छु भन्ने निर्णय गर्नुभयो, के अहिले त्यस्तो परिस्थिति छ कि, कोही प्रभुको दासहरुलाई हेरेर सेवकाईमा आउन चाहने ?
दुःखको कुरो अहिले त्यो परिस्थिति अति नै कम छ । मेरो विचारमा छँदै छैन भन्दा पनि हुन्छ हाम्रो उताको परिवेशलाई हेर्दा र यता नेपालमा पनि त्यसको कमी छ ।
आखिर किन यस्तो भयो ?
पाष्टर, अगुवाहरू अहिले आत्मा बचाउनुभन्दा पनि धेरै पैसा र संस्थाको पछि कुदेका छन् । यता नेपालमा पनि अहिले आएर प्रभुको सेवा भन्दा पनि मानिसहरू संस्था र धनसम्पत्तिको पछाडि कुदेको भेटिन्छ त्यसैले भयो होला ।
हजुर नेपालमा कहिले आउनुभयो ?
म १९७४ जुलाई १२ मा काठमाडौँमा आएँ ।
अनि यहाँ पोखरा कसरी आउनुभयो र कुन कुराले गर्दा यहाँ आउन मन लाग्यो ?
जब म काठमाडौँमा थिए मैले मेरी श्रीमति जो पहिले नर्स थिइन र प्रभुको सेवा गर्छु भनेर सबै कुरा छाडेर बाइबल स्कुलमा थिइन, उनको बारेमा सुने र परिवार सँग भेट गरेर विवाह गरे अनि हामी सँगै फेरि काठमाडौं आयौँ । त्यतिबेला काठमाडौँमा थोरै चर्च थिए । मेरी श्रीमति नर्स भएको कारणले एउटा ख्रीष्टियान हस्पिटलबाट कामको अफर आयो तर हामी काम गर्न होइन प्रभु साक्षी हुन आएको भनेर भन्यौँ । त्यतिबेलाको नियम कानुनले हामीलाई खुल्ला रूपमा प्रचार गर्न दिर्दैनथ्यो । त्यसपछि हामीलाई बगरमा आई.एन.एफ अर्न्तगतको एक हस्पिटलमा काम गर्ने र यता आउने मौका मिल्यो तर हाम्रो उद्धेश्य प्रभुको सेवा गर्ने थियो ।
हजुरलाई नेपाल आउने मौका र प्रेरणा कसरी प्राप्त भयो ?
जब म बनारसमा बाइबल स्कुलमा पढ्थे तब हाम्रो स्कुलको प्रिन्सिपल जो धेरै पटक नेपाल आउनुभएको रहेछ साथै उहाँले १२ वर्षदेखि नेपालमा सेवकाई पनि गर्नुहुन्थ्यो, उहाँले हामीलाई धेरैपटक नेपालको बारेमा बताउनुभएको थियो र उहाँको कुराहरूले मलाई नेपाल आउने प्रेरणा मिल्यो ।
हजुर यहाँ पोखरा बसेको पनि थुप्रै वर्ष भईसक्यो, र सेवकाईमा पनि यहाँको धेरै अनुभव छ ? यहाँ सुरुमा पोखरा आउँदा यहाँको विश्वासीको अवस्था कस्तो थियो, कति चर्चहरु थिए र ?
म पोखरा आउँदा २ वटा चर्चहरूमात्र थिए र एउटा अर्को संगति पनि चलिरहेको थियो । थोरै विश्वासीहरू थिए ।
हजुरको विचारमा भारत र नेपालका इसाई विश्वासीहरुको आस्थामा के कस्तो फरक छ ?
मेरो विचारमा अहिलेसम्म भारतका विश्वासीहरूभन्दा नेपालका विश्वासीहरू राम्रो छन, इमान्दार छन, सेवकाईमा आउन इच्छुक छन, सेवकाई भइरहेको छ, गरिरहेका छन । तर त्यहाँ हाम्रो ठाउँमा अहिले मानिसहरू यस्ता कुराहरूबाट धेरै पछि हटिसकेका छन । म सानो छँदा ७÷८ किलोमिटर हिँडेर चर्च आवतजावत गर्ने मान्छेहरू अहिले आफ्नै गाडी हुँदा पनि चर्चमा जाँदैनन । मानिसहरू प्रभु येशू र विश्वासलाई एउटा परम्परागत हिसाबमा मात्रै पछ्याईरहेका छन । यहाँ पनि त्यस्तो कुरा आउन बेर लाग्दैन । मानिसहरू भन्छन म जन्मैदेखि बिश्वासी हुँ, यो एकदमै गलत कुरा हो । जबसम्म कसैले येशू ख्रीष्टलाई व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर स्वीकार्दैन तबसम्म उ ख्रीष्टियान हुन सक्दैन ।
सबैको जीवनमा संघर्षको कथा हुन्छ अथवा धेरैले सेवकाईको सुरुवातमा दुःख कष्ट भोगेका हुन्छन भने हजुर यहाँ यो देशमा सेवकाईको लागि आउँदा सुरुमा के कस्तो परिस्थितिको सामना गर्नुपर्यो ?
मेरो आफ्नो विचारमा भन्नुपर्दा जब हामी प्रभुको बोलावट पाएर सेवाको लागि निस्कन्छौं भने, आफ्नो जीवन प्रभुलाई दिन्छौं भने हाम्रो जीवनमा हरेक कुराहरू प्रभुको योजनाअनुसार हुन्छ, त्यसैले म दुःख पाएँ भनेर प्रभुको बेइज्जत गर्न चाहन्न । चाहे खान पाएँ, पाइन त्यो सबै उहाँको योजना हो ।
अहिले वर्तमान अवस्थामा हाम्रो नेपालको मण्डलीमा के कुराको खाँचो छ ?
अहिले हाम्रो वर्तमान अवस्थामा विषेश पाष्टर अगुवाले मण्डलीलाई दिनुपर्ने स्थान र महत्व दिनुपर्छ, आफ्ना छोराछोरीहरूको अगाडी गवाही बन्नुपर्छ र संघ संस्थाको पछि कम दर्गुनुपर्छ भने विश्वासीहरू पनि आफ्नो मण्डली सोचेर आफ्ना पाष्टर र अगुवासँग मिलेर प्रार्थना साथ सेवामा साथ दिनुपर्छ ।
मण्डलीमा अहिले युवाहरु सेवकाईमा आउनको लागि कसरी मण्डलीले अथवा पाष्टर अगुवाले मार्गनिर्देशन तयार गर्न सक्छन ?
सर्वप्रथम त मण्डलीले सेवकाई भनेको के हो भन्ने बुझउन सक्नुपर्छ र किन गर्ने भन्ने महत्व बुझाउनुपर्छ र मण्डलीका युवाहरूको दान दानलाई पहिचान गरेर त्यहि अनुसारको जिम्मेवारी सुम्पिदैं अगाडी बढाउनुपर्छ । उनीहरूलाई आफ्नो बोलावट पहिचान गर्न सहयोग गर्नुपर्छ ।
अहिले जताततै हाम्रो देशमा इसाईहरुलाई विभिन्न आरोपहरु र लान्छना – लगाईरहेको अवस्था छ, हामी छक्क पर्नुपर्दैन कारण बाइबलले हामीलाई पहिलेनै भनिसकेको छ, अव यस्तो अवस्थामा हामी विश्वासीहरु के गर्नुपर्छ ?
साँच्चै भन्नुपर्दा अहिलेको खेदो, लान्छना केहि होइन, शब्दहरूमा धेरै छ तर भौतिक शारिरिक रूपमा त्यस्तो खेदो पाएका छैनन । होला कहिलेकाहीँ सुनिन्छ केही घटना र खबरहरू तर हामीहरू आत्तिनु पर्दैन । हामी पनि हरेक कुरामा होशियार हुनुपर्छ । लेख्ने कुरा, बोल्ने कुरामा बुद्धि पुर्याउनुपर्छ । हामी समाजको लागि असल उदाहरण बन्नुपर्छ,मण्डलीमा मात्र विश्वासी होइन तर आफ्नो असल चरित्रले इसाई भनिन लायक हुनुपर्छ । प्रभु येशुको सुसमाचारमा चाहिँ केही मिसाउनुहुँदैन ।
हजुरको भविष्यको दर्शन के हो र के प्रति तपाई अझै चिन्तन गर्दै हुनुहुन्छ ?
अहिले म युवा र सन्डे स्कुलका बच्चाहरूप्रति चिन्तित छु अहिले उनीहरूलाई असल तरिकाले प्रभुमा ल्याउनुपर्छ नत्र भने अहिले गंर एकदमै दुषित भइरहेको अवस्था छ उनीहरू हराउन सक्छन । प्रभुमा उनीहरूलाई अगाडी बढायो भने मण्डलीको सेवकाई सफल हुन्छ नत्रभने असफल जस्तै हो यसैले अहिले मेरो दर्शन जवानहरू र बालबच्चाप्रति छ ।
अन्त्यमा हजुरले सबैलाई के सन्देश दिन चाहनुहुन्छ ?
अन्त्यमा म यहि भन्न चाहन्छु कि हामी सधैँ जीवनभरी सत्यता र विश्वासयोग्यतामा प्रार्थनासहित जिउनुपर्छ र सधैँ वचनलाई मनन गरी हृदय राखी अगाडी बढ्नुपर्छ ।
source: from the article written by pastor Arjun Bhandari for pokhareli Christian community silver Jubilee
interview from archive of Light News