इंग्ल्याण्ड र क्रोएसिया सेमिफाइनलमा, आयोजक रुस बाहिरियो
२३ असार, गएराति भएको दोस्रो क्वाटरफाइनल खेलमा स्वीडेनलाई २–० ले हराउँदै इंग्ल्याण्ड र रसियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन । इंग्ल्याण्डलाई अन्तिम ४ मा पुर्याउन खेलको ३० औं मिनेटमा हयारी मागुरे र ५९ औं मिनेटमा डेल अलीले गोल गरे । कर्नर बलमा मागुरेले हेडमार्फत सुन्दर गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १–० ले अग्रता लिएको इंग्ल्याण्डका लागि डेल अलीले गोल गर्दै अग्रता दोब्बर पारे । जेसस लिंगाडको क्रसमा उनले हेडमार्फत बललाई जाली चुमाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले स्वीडेनको ३ वटा उत्कृष्ट प्रहार बचाएर टिमको जित सुनिश्चित गरे । इंग्ल्याण्ड यो सहित तेस्रो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको हो । यसअघि सन् १९६६ मा आफैले विश्वकप जित्दा र सन् १९९० मा सेमिफाइनलसम्म पुगेको थियो ।
त्यसैगरी क्रोएसियाले आयोजक रसियालाई हराउँदै विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । निर्धारित र थप समय २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी हुँदै अन्तिम चारमा पुगेको हो । दुवै गोलकिपरले एक एक पेनाल्टी रोकेपनि रसियाका लागि थप समयमा बराबरी गोल गर्ने मारियो फर्नान्डेजले टाइब्रेकरमा गोल गर्न नसक्नुनै अन्ततः निर्णायक बन्यो । क्रोएसियाका गोलकिपर डानिजे सुवासिचले रसियाका फेडोर स्मोलोभको पेनाल्टी रोकेका थिए । क्रोएसियाका लागि मार्सेलो ब्रोजोभिकले पहिलो पेनाल्टीमा गोल गरे भने माटेउ कोभासिसको पेनाल्टी रसियाका गोलकिपर इगोलर अकिनफिभले रोके । रसियाका लागि दोस्रो पेनाल्टी हानेका एलान डजागोभले गोल गरे । तर फर्नान्डेजको प्रहार पोस्ट नजिकबाट बाहिरिएपछि रसिया पछि परेको थियो । क्रोएसियाका लागि तेस्रोमा लुका मोड्रिच र चौथोमा डोमागोज भिडाले गोल गरे । उता रसियाका चौथोमा सेरेगेइ इगानसेभिचले र डालेन कुजेयभले गोल गर्दा खेल टाइब्रेकर ३–३ को बराबरीमा थियो । अन्तमा क्रोएसियसाका इभान राकिटिकले गोल गर्दै टोलीलाई जित दिलाए । यो सँगै रसिया विश्व कपको समिकरण पुरा भएको छ । क्रोएसियाले अब इङ्ल्यान्डसँग सेमिफाइनल खेल्नेछ । फ्रान्स र बेल्जियम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।