बार्सिलोनाको सानदार जित
एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हासिल गरेको छ ।शनिबार राति भएको खेलमा कप्तान लियोनेल मेसी र ट्रिन्काओको समान दुई गोल तथा जुनियर फिर्पोको एक गोलको सहयोगमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसमाथि ५–१ को सानदार जित निकालेको हो ।
बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको सो खेलको २९औं मिनेटमा बार्सिलोनाले ट्रिन्काओको गोलबाट अग्रता लिएको थियो । त्यस्तै, ३६औं मिनेटमा कप्तान मेसीले गोल गरे पनि भिएआरबाट मान्यता पाएन । पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमै मेसीले सर्जियो बुस्क्वेट्सको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । तर, खेलको ५७औं मिनेटमा लुइस रिओजाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए ।त्यसपछि बार्सिलोनाले सात मिनेटको अन्तरमा तीन गोल गर्दै सहज जित निकाल्न सफल भयो । खेलको ७४औं मिनेटमा ट्रिन्काओले मेसीको पासलाई सदुपयोग गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । त्यसको दुई मिनेटपछि नै कप्तान मेसीले एन्टोइन ग्रिजम्यानको पासमा गोल गर्दै खेललाई ४–१ को आरामदायी अवस्थामा ल्याएका थिए । त्यस्तै, खेलको ८०औं मिनेटमा जुनियर फिर्पोले ग्रिजम्यानको पासमा गोल गर्दै बार्सिलोनालाई ५–१ को फराकिलो जित दिलाए । यो जितसँगै बार्सिलोनाले २२ खेलबाट ४६ अंक जोडेको छ । पराजित एलाभेसको भने २२ अंक मात्र रहेको छ ।