यस्ता छन् २०२१ मा डब्लूएचओका २१ सुझाव

बिबिध

एजेन्सी, माघ ६ गते । गत वर्षको डिसेम्बरबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ ले मानव जीवनलाई उथलपुथल बनाएको छ । अधिकांश देशहरु यसबाट प्रभावित बनेका छन् । विश्व स्वास्थ्य संगठनले गत मार्चमा यस भाइरसलाई महामारीको रुपमा घोषणा गरेको थियो । यस भाइरसकै कारण वर्ष सन् २०२० अशान्त रह्यो । हामी अहिले वर्ष २०२१ को सुरुवाती चरणमा छौं । कोरोनाले मानव जीवनलाई त परिवर्तन गरेकै छ । आगामी दिनहरुमा भाइरसबाट बच्न र स्वस्थ रहनका लागि विश्व स्वास्थ्य संगठनले दिएका २१ सुझाव यस प्रकारका छन्ः

१.प्राकृतिक खानेकुरा खाने गरौं
हामीले सेवन गर्ने खानेकुरा कृतिम भईदिँदा आज मानिसहरुले अनेकौँ रोगव्याधि झेल्नु परेको छ । यसर्थ खानपानलाई प्राकृतिक र स्वस्थकर बनाउनु आवश्यक छ । खानेकुरालाई प्राकृतिक रूपमै प्रयोग गर्दा स्वास्थ्यका लागि अत्यन्त फाईदाजनक हुन्छ । यसका लागि खाना पकाउँदा त्यसको प्राकृतिकपन र पौष्टिकता नष्ट हुन दिनुहुँदैन । तार्ने, भुट्ने, लामो समयसम्म पकाउने जस्ता क्रियाले खानेकुराको प्राकृतिक गुण नष्ट गर्दछ ।

स्वास्थ्यको रक्षाका लागि सन्तुलित भोजन पनि उत्तिकै आवश्यक छ । कार्बोहाईड्रेट, प्रोटीन, चिल्लो पदार्थ, खनिज पदार्थ, भिटामीन, पानी र चोकर युक्त खानेकुरा नै सन्तुलित भोजन हो । यसका लागि अन्न, दाल, गेडागुडी र कन्दमूलका अतिरिक्त पर्याप्त मात्रामा फलफूल, सागपात, तरकारी, दुध, दही, घ्यु, मोही आदि खानुपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनले एउटा वयस्क व्यक्तिका लागि ५ पोर्सान अथवा ४०० ग्राम फलफूल एवं तरकारी खानुपर्छ भनेको छ । यसरी फलफूल र तरकारीको पर्याप्त सेवन गर्ने गर्दा सूक्ष्मपोषक तत्वहरूको कमी हुन पाउँदैन भने नसर्ने रोगको प्रकोपबाट पनि बच्न सकिन्छ ।

२.स्वस्थकर तरिकाले खाना पकाउने गरौं
हामी स्वस्थकर तरिकाले खानेकुरा पकाउन नजान्दा अनेकौ प्रकारका स्वास्थ्य समस्याहरू झेल्न बाध्य भएका छौं । अस्वस्थकर तरिका भन्नाले खानालाई कम पकाउनु, ज्यादा पकाउनु वा हानिकारक रसायन हालेर पकाउनु हो । खानालाई ठीकसँग नपकाउँदा ब्याक्टेरिया, भाइरस, फङ्गस, परजीवी जस्ता जीवाणुहरू शरीरमा प्रवेश गर्न सक्छ । यी जीवाणुहरूका कारणले २०० भन्दा ज्यादा प्रकारका रोगहरू लाग्न सक्दछ ।

यसैगरि खानालाई चाहिने भन्दा ज्यादा पकाउँदा खानामा विद्यमान पौष्टिक तत्व, सुक्ष्म पोषक तत्व, प्रोटिनहरूको विघटन भई खाना पोषणरहित बन्न पुग्दछ । खानामा हानीकारक रसायन मिसाउँदा खाना विषाक्त बन्न पुग्छ । माछा मासुलाई धेरै पकाउने वा पोल्नु हुदैन । खानालाई स्वस्थकर बनाउन विश्व स्वास्थ्य संगठनले खानालाई स्वच्छ राख्न, पाकेको र काचोलाई नमिसाउन, मज्जासँग पकाउन, अत्याधिक ताप र उच्च आँचमा नपकाउन र खानामा हालिने पानी र अन्य मरमसला स्वस्थ्यकर र सुरक्षित मात्र प्रयोग गर्न सुझाब दिएको छ ।

३.नुनको मात्रा कम गरौं
नुन सोडियम र क्लोराईड नामक दुई तत्वहरू मिलेर बनेको यौगिक हो । यी दुबै तत्वहरू हाम्रो शरीरका लागि अतिआवश्यक तत्वहरू हुन् तर आवश्यकता भन्दा कम वा ज्यादा मात्रामा सेवन गर्दा हाम्रो स्वास्थ्यमा अनेकौं समस्या देखा पर्दछन् । उच्च मात्रामा नुन सेवन गर्दा रक्तचाप बढ्दछ ।

एकचोटी रक्तचाप बढेपछि हाम्रो स्वास्थ्यमा अनेकौं समस्याहरू देखा पर्ने गर्दछ । नुन खान नजानेर प्रत्येक बर्ष २५ लाख मानिसहरू अकालमा मर्ने गरेका छन् भने करोडौ मानिसहरू उच्च रक्तचाप, मधुमेह, स्ट्रोक प्यारालाईसिस र मृगौला फेलिएर जस्ता दीर्घकालिन समस्या लिएर बाच्न बाध्य छन् ।

यसर्थ विश्व स्वास्थ्य संगठनले स्वास्थ जीवन बाँच्नका लागि दैनिक ५ ग्राम भन्दा ज्यादा नुनको सेवन नगर्न भनेको छ । दैनिक ५ ग्राम नुनखाँदा लगभग २ ग्राम वा २००० मि।ग्रा। सोडियमको पूर्ति हुन्छ । यसैगरि दैनिक ३.५ ग्राम वा ३५०० मि।ग्रा पोटासियमको पूर्ति पनि हाम्रो शरीरमा हुनु पर्दछ । यसका लागि सोडियम साल्ट नखाई पोटासियम साल्ट खानको लागि सल्लाह दिने गरिएको छ ।

४.गुलियो पनि धेरै खाने नगरौं
नुनपछिको अर्को स्वास्थ्यनासक खाद्य चिनी हो । बच्चाहरुले चिनी खाँदा दाँतको क्षय हुन्छ भने बयस्कले धेरै चिनी खाँदा मोटोपनको समस्या आउँछ । यसैगरि चिनी खाई रहनेलाई मधुमेह, मुटुरोग, चायाँ–पोतो–डण्डिफोर आउने, अनेकौं किसिमका क्यान्सर, तनाव, चिन्ता भय र उदासिनता, चाँडै बुढो हुने, कलेजोमा बोसो जम्ने, मृगौला खराब हुने, यूरिक एसिड बढ्ने जस्ता समस्या देखा पर्दछन् । यसर्थ चिनीलाई सकभर नखाएकै राम्रो हो तर खानै पर्ने भए कुल क्यालेरिको ५ प्रतिशत भन्दा धेरै चिनी खानु हुँदैन ।

५.चिल्लो नियन्त्रित मात्रामा खाने नगरौं
स्वस्थ जीवन जीउनका लागि चिल्लो पनि नियन्त्रित मात्रामा खानुपर्ने हुन्छ भने अस्वस्थकर चिल्लोलाई खानामा समावेस गर्नु हुदैन । अस्वस्थकर चिल्लो भनेको सन्तृप्त चिल्लो ९सेचुरेटेड फ्याट० र ट्रान्स फ्याट हुन् । जनावरहरूबाट प्राप्त हुने चिल्लो जस्तै मासु, अण्डा, घ्यु, नौनी, बटर, चीज, मर्जेरिन, क्रिम, नरिवलको तेल, पामको तेल, लार्ड आदिमा पाईन्छ भने तेल घ्युमा तारेभूटेका खानेकुरा, बोतल र बट्टबद्ध खानेकुरा, पिजा, बर्गर, केक, चाउचाउ, बिस्कुट, कुकिज, वनस्पति घिउ र बारबार तताईएको वा उच्च तापक्रमसम्म तताईएको तेलमा ट्रान्स फ्याट पाईन्छ । जसकारण घरमा प्रयोग गर्दा वनस्पति जन्य तेलहरू जस्तै बदाम, आलस, एबोकादो, तोरी, भट्टमास, सूर्यमुखी, जैतुन, क्यानोला र केही विशेष प्रजातिका माछा आदि हुन् ।

६.मद्यपान सेवन नगरौं
मद्यपान सेवनकै कारण प्रत्येक बर्ष ३३ लाख मानिसहरू अकालमै मर्ने गरेका छन् । मृत्युका अतिरिक्त मद्यपान सेवनले दीर्घकालिन रूपमा शारीरिक, मानसिक, सामाजिक एवं आचरणसँग सम्बद्ध समस्याहरू पनि देखापर्दछन् । त्यस्तै कलेजोमा बोसो जम्ने रोग, लिवर सिरोसिस, क्यान्सर, मुटुरोग, जस्ता समस्याहरू पनि देखा पर्दछन् । यसर्थ कुनै पनि बाहानामा मद्यपान सेवन राम्रो होइन ।

७.स्वस्थकर पानी पिउने गरौं
विश्वका २ अर्ब जनसंख्या असुरक्षित र अस्वस्थकर पानी पिउन बाध्य छन्, जसका कारण प्रत्येक बर्ष लाखौं मानिस असुरक्षित पानी पिउनाले आफ्नो ज्यान गुमाइरहेका छन्, भने कैयौं मानिस पानीको माध्यमबाट सर्ने रोगबाट संक्रमित हुने गरेका छन् । तसर्थ पिउने पानी स्वच्छ, स्वस्थकर एवं सुरक्षित हुन अत्यन्त आवश्यक छ । स्वस्थकर पानी पिउनाले हैजा, झाडापखाला, हेपाटाईटिस–ए, टाईफाईड, पोलियो जस्ता पानीबाट सर्ने रोगबाट बच्न सकिन्छ । यसका लागि हामीले कस्तो पानी पिउँदैछौं भनेर त्यसको श्रोतको जाँच गर्न आवश्यक हुन्छ भने पानीलाई फिल्टर गरेर वा ५ मिनेटसम्म उमालेर खान सकिन्छ ।

८.धूमपान सेवन नगरौं
धूमपान एवं सूर्तीको सेवनले विश्वमा बार्षिक ७२ लाख मानिस मर्ने गरेका छन्, भने करोडौ मानिसरू यसले निम्त्याउने प्रतिकूल स्वास्थ्य स्थिति लिएर बाच्न बाध्य छन । सुर्तिजन्य वस्तुको सेवन गर्दा वा धूमपान गर्दा विभिन्न किसिमका क्यान्सरहरूको खतरा बढ्दछ भने मुटुरोग, दम, खोकी जस्ता श्वासरोग, मष्तिस्कघात, मधुमेह जस्ता दीर्घ एवं जीर्ण रोगहरूले पनि सताउँछन् । यस्तै धूमपानले आसपासमा बसेका मान्छेको स्वास्थ्यमा समेत असर पुर्याउँदछ ।

९.सक्रिय रहौं
निष्क्रिय रहने व्यक्तिलाई क्यान्सर, मुटु तथा रक्तनलीका रोग, उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल, मोटोपन, अस्टियोपोरोसिस, अस्टियोपिनिया, मृगौलाको पत्थरी, हड्डी खिइने, नशा च्यापिने, काँधको जोर्नी जाम हुने, ठूलो आन्द्राको क्यान्सर, मानसिक तनाव, चिन्ता, भय र उदासीनता, रक्तनली साँघु¥याउने अथेरोस्क्लेरोसिस, रक्तशिराभित्रै रगत जम्ने डिपभेन थ्रम्बोसिस, कब्जियत, अम्लपित्त, अजीर्णता, अनिद्रा जस्ता समस्याले सताउँदछन् । त्यसैले यी रोगहरुबाट बच्न शारीरिकरूपमा सक्रिय रहन आवश्यक छ ।

शारीरिकरूपले सक्रिय रहनु भनेको शरीरमा विद्यमान ईच्छाधिन मांशपेशीहरूलाई चलाएर अत्याधिक उर्जा खर्च गर्नु हो । यसरी उर्जा खर्च गर्दा हाम्रा कोषहरूमा मेटाबोलिक क्रियाकलापहरू बढ्छ र कोषहरू स्वस्थ हुने गर्छन् । शारीरिकरूपले सक्रिय रहनका लागि मर्निङ्ग वाक जाने, दौडने, डोरी ९स्किपिङ्ग० खेल्ने, पिटी खेल्ने, ट्रेड मिल चलाउने, खेल खेल्ने, पौडी खेल्ने, ट्राम्पोलिनमा उफ्रने, ट्रेकिङमा जाने, नाच्ने, योग गर्ने, एरोविक्स, जुम्बा, साल्सा, जिम गर्ने, हाइकिङ्ग जाने, बाटोमा साइकिल चलाउने, स्टाटिक साइकिल चलाउने, सिँडी उक्लिने, कम्फुकराँते, उसु खेल्ने, पानीमा गरिने व्यायामहरू गर्ने, घरको काम अथवा करेसाबारी वा बगैँचाको काममा संलग्न रहने जस्ता क्रियाकलाप गर्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले रोग लाग्न नदिनका लागि हप्तामा कमसेकम १५० मिनेटकोे शारीरिक क्रियाकलाप गर्नुपर्ने र स्वस्थ जीवन बाँच्नका लागि हप्ताको ३०० मिनेटको शारीरिक क्रियाकलाप गर्नुपर्ने सुझाव दिएको छ ।

१०.नियमितरूपमा स्वास्थ्य जाँच गरौं
नियमितरूपमा स्वास्थ्य जाँच गर्नाले रोग लाग्नु भन्दा पहिलेनै हामी रोगबाट बच्न सक्छौ वा लागि हालेपनि बेलैमा रोगलाई नियन्त्रण गर्न सक्छौं । समयमै रोग पत्ता लाग्दा रोगको उपचार राम्रो हुन सक्छ । यसर्थ नियमितरूपमा स्वास्थ्य जाँच गर्ने गरौं ।

११.बेला बेलामा रक्तचाप जाँच गरौं
विश्वको कुल जनसंख्याको ९५ प्रतिशत मानिसहरु रक्तचापको समस्याद्वारा ग्रसित छन् । उच्च रक्तचाप आफैंमा कुनै रोग होइन तर सयौं रोगहरुको जननी हो । यसका कारणले हृदयघात, मष्तिस्कघात, मिर्गौला फेलियर, नेत्रघात दृष्टि गुम्नु मुटु सुन्निने, रक्तनलीहरु तन्किने, फुल्ने तथा फुट्ने र मानसिक तथा भावनात्मक अस्वस्थता जस्ता समस्याहरु उत्पन्न हुन सक्छन् तसर्थ उच्च रक्तचापलाई बेलैमा निदान गरि उपचार गर्नु राम्रो हुन्छ ।

१२.खोक्दा वा हाच्छ्यूँ गर्दा नाकमुख ढाक्ने गरौं
विश्व हावाको माध्यमबाट सर्ने रोगबाट ग्रसित छ । ईन्फ्लुएञ्जा, निमोनिया, क्षयरोग, कोभिड–१९ जस्ता स्वास्थ्य समस्याहरू हावाको माध्यम भएर सर्ने रोगहरू हुन र यी रोगहरूको कारणले पनि प्रत्येक वर्ष लाखौं मानिसहरू मर्ने गरेका छन् । यी रोगहरू संक्रामक रोग भएकाले यी रोगहरूबाट बच्न रोगीको थुक, खकार, सिङ्गानबाट बच्नु पर्छ । यसका लागि खोक्दा वा हाच्छ्यूँ गर्दा रूमाल वा गम्छाले नाक वा मुख ढाक्नु पर्दछ अथवा आफ्नै कुहिनोलाई मोडेर नाक मुख ढाक्ने गर्नु पर्दछ । यस्तै मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ ।

१३.लामखुट्टेको टोकाईबाट बचौं
लामखेट्टेको टोकाईबाट मलेरिया, कालाजार, जापनिज ईन्सेफलाईटिस, यल्लो फिवर, चिकनगुनिया, डेङ्गी, हात्तीपाइले रोग जस्ता अनेकौ रोगहरू फैलिने गरेका छन् । यी रोगहरूबाट बच्ने उत्तम उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु हो । लामखुट्टेको टोकाईबाट बच्नका लागि राति सुत्दा झुल वा मच्छरधुपको प्रयोग गर्ने, संक्रमित क्षेत्रमा नियमित रुपमा लामखुट्टे मार्ने बिषादी छर्किने, लामखुट्टेको बासस्थान पानी जम्ने ठाउँहरू नष्ट गरिदिने, जस्ता उपायहरू अपनाउन सकिन्छ ।

१४.नैराश्यता महसुस भएमा नजिकका व्यक्तिसँग कुरा गरौं
नैराशायताका कारण विश्वभर लगभग २६ करोड मानिसहरू प्रभावित छन् । विश्वमा हुने ९० प्रतिशत आत्महत्याको कारण नैराश्यता नै हो । निराशाले भरिएको मानिसको जीवनमा निरन्तर निराशावादी सोचहरू आईरहन्छ र जीवनको आश लाग्न छोड्छ । यो अवस्था बढ्दै गए रोगीले आत्महत्यासम्म गर्दछ । यदि तपाईको जीवनमा पनि निराशाजनक स्थिति आएमा परिवार, साथीभाई, इष्टमित्रहरुसँग कुरा गर्ने अथवा मनोरोग विशेषज्ञको परामर्श लिएर नियन्त्रण गर्न सकिन्छ ।

१५.चिनी हालिएका पेयहरूको सेवन नगरौं
चिनी वा चिनी जस्तै गुलिया पदार्थ हालिएको पेयहरू जस्तै, कोकाकोला, पेप्सिकोला, फन्टा, मिरिन्डा, ड्यू जस्ता कार्बोनेटेड पेय, रेडबुल, एक्सएल, स्ट्राङ्गबुल, अर्ना जस्ता ईनर्जी पेय र फ्रुट जुसका नाममा बजारमा बेचिने रियल, एक्टिभ, ब्रस्ट, रियो जस्ता पेयहरूमा प्रचूर मात्रमा चिनी हालिएको हुन्छ । एउटा २५० मि.लीको यी पेयहरूमा २५ देखि ३० ग्रामसम्म चिनी वा कर्नसिरप हालिएको हुन्छ भने चिनीका अलावा, अल्कोहल, सिट्रिक अम्ल, फस्फोरिक अम्ल, बिसोफिनोल ए, बेञ्जिन लगायतका भारी धातु जस्ता अन्य थुप्रै खाद्यरक्षक वस्तुहरू मिलाईएको हुन्छ । यस्ता पेयहरूको प्रतिदिन ५०० मि.ली.सेवन गर्नाले आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले वयस्कमा हुने अव्यक्त मधुमेह हुने जोखिम रहन्छ । त्यसैगरि नियमितरूपमा यस्ता पेयहरूको सेवनले विभिन्न रोगहरु उत्पन्न हुने खतरा बढी हुन्छ ।

१६. पेटका ब्याक्टेरियालाई महत्व दिऔं
हाम्रो पेटमा भएका ब्याक्टेरियाहरू लगभग एकहजार भन्दा धेरै प्रजातीका हुन्छन् जसमा चारसय हाराहारीमा खराब हन्छन् । संयुक्तरूपमा यिनीहरूको तौल लगभग १.५ देखि २ किलोग्रामसम्मको हुन्छ जुन हाम्रो मष्तिस्कको तौल बराबर हो । यी ब्याक्टेरियाहरूले रेशा र चोकरलाई समेत पचाएर सर्ट–चेन एसिड उत्पादन गर्ने, प्रतिरक्षा र स्नायु प्रणालीलाई सशक्त पार्ने जस्ता अनेकौं क्रियाकलापहरू गर्ने गर्दछन् । पर्याप्त मात्रामा रेशा र चोकर उच्च भएका खानेकुराहरु, जस्तै अन्न, दाल, गेडागुडी, कन्दमुल, सागपात, फलफूल, दही, मोही, गुन्द्रुक, सिन्की, खल्पी, साँवरक्रान्ट, केफीर प्रोकायोटिक्सयूक्त खानेकुराहरू खाएर पेटको ब्याक्टेरियाहरूलाई स्वस्थ राख्न सक्छौं । यी ब्याक्टेरियाहरूको स्वास्थ्य राम्रो रहन सके हाम्रो पेटको स्वास्थ्य, मुटुको स्वास्थ्य, स्नायुको स्वास्थ्य, प्रतिरक्षा प्रणालीको स्वास्थ्य, मधुमेह नियन्त्रण, तौल नियन्त्रण जस्ता अनेकौं फाईदा हुन्छन् ।

१७.एन्टिबायोटिक्सहरूको जथाभावी प्रयोग नगरौं
एन्टिबायोटिक्सहरूको जथाभाबी प्रयोगले एन्टिबायोटिक्सले गर्नुपर्ने काम गर्दैन । यसको मुख्य कारण शरीरमा एन्टिबायोेटिकको प्रतिरोधकता विकशित हुनु हो । एन्टिबायोेटिक प्रतिरोधकता विकशित भएमा ब्याक्टेरियाहरूको संक्रमणलाई निको पार्न कठिन हुने गर्दछ जसले गर्दा रोगको उपचार सहज नहुने, मृत्युदर पनि ज्यादा हुने गर्दछ । एन्टिबायोटिक्सहरूको प्रतिरोधकता विकशित हुनुमा एन्टिबायोटिक्सहरूको जथाभावी र अत्याधिक प्रयोग नै हो । यसर्थ आफ्नो मनखुशी एन्टिबायोटिक्सको प्रयोग नगरौं ।

१८.हात धुने बानी बसालौँ
हात फोहोर भएकै कारणले धेरै रोगहरू लाग्ने वा सर्ने गर्दछन् । हातले निरन्तररूपमा संक्रामक किटाणुहरू, विषाक्त रसायनहरू र एलर्जनहरू छुईरहेको हुन्छन् र यीनै हातहरूले पुनः नाक, मुख, आँखा र शरीरका अन्य भागमा पनि छोइरहेको हुन्छ । यसरी छुँदा संक्रामक किटाणुहरु शरीरभित्र प्रवेश गर्दछन् र हामीलाई विभिन्न किसिमका रोगहरू लाग्दछन् । यसर्थ हातलाई स्वच्छ राखेर पनि धेरै रोगहरूबाट बच्न सकिन्छ ।

१९.पर्याप्त मात्रामा पानी पिउने गरौं
पानीले हाम्रो शरीरमा ७० प्रतिशत हिस्सा ओगटेको छ । शरीरमा हुने अधिकांश जैव रसायनिक क्रियाहरू पानीको माध्यममा हुने गर्दछ । पर्याप्त मात्रामा पानी नपिउँदा शरीर निर्जलताको शिकार हुन पुग्दछ र धेरै जैव रसायनिक क्रियाहरू हुन सक्दैनन् । निर्जलताले अक्सिडेटिभ स्ट्रेसको उत्पन्न हुन्छ । अक्सिडेटिभ स्ट्रेस भएपछि कोषहरू आफैं मर्न थाल्दछन् र क्षयकारक रोगहरूको उदय हुन्छ ।

पर्याप्त मात्रामा पानी पिउनाले बोसो लाग्न नदिने, विषाक्त तत्वहरुलाई निष्काशन गरी रक्त शुद्धिकरणमा सहयोग पुर्याउने छालाको सौन्दर्यलाई जीवन्त राख्ने, माशंपेशी तथा स्नायुकोषहरु कार्यक्षमतालाई सुचारु राख्ने, पाचन, अवशोषण र मल निष्काशनलाई सुचारू बनाउने जस्ता कार्यहरू गर्दछ । पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने कमल पित्त, मृगौला तथा पित्तथैलीका पत्थरी, मोटोपन, जोर्नी दुख्ने अपच अनिन्द्रा एसिडिटी, ग्याष्ट्रिक, अल्सर, कब्जियत, चायाँ, पोतो, डण्डिफोर, महिनावारीको गडबढी, श्वेतप्रदर, हार्मोनहरुको गडबढी जस्ता रोग लाग्नबाट बचाउँछ ।

२०.पर्याप्त सुतौं
हाम्रो शरीरलाई राम्रो भोजन र पर्याप्त व्यायाम चाहिए जस्तै पर्याप्त विश्राम पनि चाहिन्छ । विश्रामको सबैभन्दा प्राकृतिक विधि भनेको निन्द्रा हो । स्वस्थ जीवनको लागि राम्ररी निदाउनु राम्रो विकल्प हो । राम्ररी नसुत्दा तौल बढ्ने, ईन्सुलिन प्रतिरोधकता बढ्ने, शारीरिक एवं मानसिक क्षमता घट्ने, मुटुरोग र मष्तिस्कघातको खतरा बढ्ने, मधुमेहको खतरा बढ्ने, प्रतिरक्षा प्रणाली कमजोर हुने, तनाव, चिन्ता, भय, उदासिनता र नैरास्यता जस्ता मानसिक समस्याले सताउने, घाउ, खटिरा आईरहने, शरीरमा सूक्ष्म ईन्फ्लामेसन भईरहने र भावनात्मकरूपमा पनि नाजुक बन्दै जाने जस्ता समस्या देखा पर्दछ । तसर्थ स्वस्थ जीवन जीउन चाहने हर कसैले राम्रोसंग सुत्ने कोशिस गर्नुपर्दछ ।

२१.सम्बन्धहरूलाई जीवन्त राखौं
सम्बन्धहरु राम्रो नहुँदा मान्छे मानसिक र भावनात्मकरूपले मात्र रोगी हुँदैन शारीरिक एवं सामाजिकरूपले पनि कमजोर हुँदै जान्छ । पारिवारिक एवं साथीभाईहरूसँग राम्रो सम्बन्ध भएका व्यक्तिहरू कमजोर सम्बन्ध भएका व्यक्तिका तुलनामा ज्यादा स्वस्थ र दीर्घजीवी हुन्छन् । यसर्थ हामीले हाम्रो सम्बन्धहरूलाई जीवन्त राख्नु आवश्यक छ ।

एजेन्सीको सहयोगमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *