गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद धरापमा
पोखरा, पौष ६ गते । नेपाल कम्युनिस्ट पार्टीमा चर्किएको विवादको कारण गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद पनि धरापमा परेको छ । नेकपाका स्थायी समिति सदस्य समेत रहेका मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री निटक नेता हुन् ।
नेकपा विभाजन निकट पुगेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्रीको पद धरापमा परेको जानकारहरु बताउँछन् ।
गण्डकी प्रदेशमा कुल ६० सांसद रहेको जसमा केपी ओली निकट समुहको २७, नेपाल समुहका १, नेपाली कांग्रेसको १५, राष्ट्रिय जनमोर्चाको ३ र जसपाको २ सिट रहेको छ । नेकपा विभाजन भएको खण्डमा नेकपाको प्रचण्ड नेपाल समुहले अविश्वास प्रस्ताव पेश गरेको खण्डमा कांग्रेस, जसपा र जनमोर्चाले गुरुङ सरकारको विपक्षमा मतदान गर्ने प्रचण्ड निकट एक नेताले बताए ।
सदनमा कुनै दलले अविश्वासको प्रस्ताव पेश गरेको अवस्थामा पृथ्वीसुब्बा गुरुङले ३१ सांसदलाई आफ्नो पक्षमा ल्याउनुपर्ने अवस्था सिर्जना हुन्छ । तर अहिले राष्ट्रिय राजनीतिलाई सरसर्ती हेर्ने हो भने प्रदेश सरकारले ३१ जना सांसदको साथ पाउने कुरा लगभग अनिश्चित जस्तै देखिन्छ । केन्द्र सरकारमा जस्तै सरकार फेरबदलको अवस्था सिर्जना हुँदा कमजोर अवस्थामा रहेका गुरुङले के कदम चाल्छन्, त्यो भने हेर्न बाँकी नै छ । यद्यपी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसदको विशेष अधिवेशन माग गरिसकेको छ ।