निजी अस्पतालले कोरोना उपचारमा ३५ सयदेखि १५ हजारसम्म लिन पाउने

नेपाल मुख्य समाचार स्वास्थ्य

पोखरा, साउन १५। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को उपचारका लागि नीजि अस्पतालले लिने शुल्कको मापदण्ड तोकेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोभिड–१९ सङ्क्रमितको उपचार वापत् न्युनत्तम दैनिक प्रति व्यक्ति तीन हजार पाँच सय रुपियाँ र अधिकत्तम १५ हजार नबढ्ने गरी तोकिएको जानकारी दिनुभएको छ ।
लकडाउन खुकुलो भएयता सङ्क्रमितको संख्या बढ्दैछ । पछिल्लो साता दुई अक्षरमा सङ्क्रमितको पुष्टि हुँदै आएकोमा तीन दिन यता सङ्क्रमितको संख्या दैनिक दुई सयभन्दा बढी थपिदै आएको छ । सङ्क्रमित थपिदा सरकारी कोभिड–१९ अस्पतालमा उपचार गराउने बिरामीको चाप बढेको छ ।
उपचार अभावमा बिरामी भौतारिनुपर्ने अवस्था अन्त्य गर्न सरकारले सूचीकृत नीजि अस्पतालमा पुग्ने सङ्क्रमितको उपचारमा लाग्ने शुल्क तोकेको हो । सरकारले कोभिड–१९ उपचारका लागि लेभल–१,२ र ३ गरी तीन तहमा अस्पतालको वर्गीकरण गरी सूचीकृत गरेको छ ।
मन्त्रीपरिषद्को असार १५ गतेको बैठकले कोरोनाभाइरस कोभिड–१९को सङ्क्रमणको उपचार वापत् अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७ लाई संशोधनसहित स्वीकृत गरेको थियो । उक्त आदेशको दोस्रो बुँदामा कोभिड–१९ को शंकास्पद तथा सङ्क्रमितको उपचार निशुल्क हुने उल्लेख गरिएको छ ।
आदेशले सङ्क्रमितलाई अस्पतालमै भर्ना गरी उपचार गर्नुपरेको अवस्थामा सरकारी अस्पतालबाट मात्र सेवा उपलब्ध गराउन नसकिने अवस्था सम्बन्धमा समेत सम्बोधन गरेको छ । यस्तो अवस्थामा निजी, गैरसरकारी, सहकारी तथा सामुदायिक अस्पतालमा समेत उपचार गर्ने व्यवस्था मिलाउन सकिने उल्लेख गरिएको छ ।
सामान्य लक्षण भएका कोरोना सङ्क्रमित बिरामीको उपचार वापत् नीजि अस्पतालले दैनिक तीन हजार पाँच सय रुपियाँ लिने व्यवस्था गरिएको छ । मध्यम जटिल बिरामीको उपचार गरे वापत् नीजि अस्पतालले दैनिक सात हजार रुपियाँ लिन पाउनेछन् । त्यसैगरी, आईसीयू तथा भेन्टिलेटरको आवश्यकता हुने कोभिड–१९ सङ्क्रमितको उपचार गरे वापत् दैनिक १५ हजारमा नबढ्ने गरी उपचार गर्ने व्यवस्था कार्यान्वयन गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

तर मन्त्रालयले तात्काल उपचारका लागि निजी अस्पतालमा भर्ना हुने बिरामीलाई सरकारले उपचार खर्च उपलब्ध नगराउने प्रष्ट्याएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले निजी अस्पतालमा उपचार गर्न चाहने बिरामीका लागि सरकारले शुल्क निर्धारण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ का लागि सरकारी अस्पतालमा देशभरि दश हजार बेड क्षमता छ, त्यस अन्तगर्त शुल्क लाग्दैन ।” “निजी अस्पतालमा उपचार गराउने बिरामीको उपचार खर्चमा एकरुपता ल्याउन शुल्क निर्धारण गरिएको हो ।”– डा.गौतमले थप्नुभयो ।
सरकारी अस्पतालको क्षमता पुरा भएपछि निजी अस्पतालमा भर्ना हुने अवस्थामा अहिलेको आदेश परिमार्जन हुन सक्ने उहाँले खुलाउनुभयो । राजधानी काठमाडौं अतिरिक्त देशबाहिरका सरकारी अस्पतालमा आईसीयू र भेन्टिलेटरको संख्या थोरै मात्रामा रहेको छ । नीजि तथा शिक्षण अस्पतालमा यसप्रकारको सुविधा उपलब्ध रहेपनि चर्को शुल्कका कारण बिरामी मारमा पर्दै आएका छन् । विश्वब्यापी महामारीको बेला सरकारले कोभिड–१९ बाट सङ्क्रमितको उपचारमा सहुलियत र एकरुपता ल्याउन यस प्रकारको मापदण्ड ल्याएको मन्त्रालयले जनाएको छ । सरकारले भने कोभिड–१९ सङ्क्रमितको उपचार निशुल्क हुने यसअघि नै प्रयट्यास्केको छ। यद्दपी भुक्तानीको माध्यमबारे प्रष्ट गरिसकेको छैन्। गारखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *