गण्डकी प्रदेश कोरोना अपडेटः पोखराका ३ जनासँगै नयाँ संक्रमित ३२, कुल ७२९ पुग्यो
पोखरा, असार १० । गण्डकी प्रदेशमा बुधबार बिहान ३२ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप भएका नयाँ ३२ जनामा संक्रमित पुष्टि भएको हो । संक्रमित हुनेमा बागलुङ ९ जना, स्याङजामा ७ जना, कास्की र लमजुङमा ५/५ जना, नवलपुरमा ३ जना, तनहुँ, गोरखा र पर्वतमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए । उनीहरुलाई सम्बन्धीत जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । पछिल्लो थपिएकामा कास्कीका ५ जना रहेका छन् । ति मध्ये ३ जना पोखरा महानगरपालिका र दुई जना मादी गाउँपाकिका रहेका छन् । पोखरामा मंगलबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु चितवन, भारत र कुवेतबाट फर्किएका रहेका छन् । सात जना मध्ये ३ जना महिला कुवेतबाट, ३ जना पुरुष भारतबाट र एक जना महिला चितवनबाट पोखरा आएका थिए । उनीहरु सबै क्वारेन्टिनमा नै थिए । मंगलबार थपिनेमा पोखरा महानगरपालिका वडा नम्बर ३३ का ३ जना, वडा नम्बर ३२, २६, १३ र १० का १/१ जना छन् । उनीहरु सबै पोखरा महानगरपालिकाको क्वारेन्टिइनमा बसेका थिए। संक्रमित सबैलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिएको छ ।
लमजुङको मध्ये नेपाल नगरपालिकाका ४ जना पुरुष र बेशिशहर नगरपालिकाका १ महिलामा कोरोना देखिएको हो । उनीहरु २१ देखी ३७ बर्ष उमेर समुहका छन् । त्यसै गरी स्याङजाको अजुनचौपारी गाउँपालिकाका १२ बर्षिय बालक, आँधीखोला गाउँपालिका एक, वालिङ नगरपालिकाका ३ पुरुष र ३० महिने बालिका एक जना र २४ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको शर्माले बताए । कास्कीको पोखरा महानगरपालिकामा एक जना पुरुष र दुई जना महिला, मादी गाउँपालिकाका १ पुरुष र १ महिला रहेका छन् । उनीहरु २३ देखी ४१ बर्ष उमेर समुहका छन् । कास्कीमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । बागलुङ बरेङ गाउँपालिका ८ जना, जैमिनी गाउँपालिका १ जना पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरु २० देखी ६० बर्ष उमेर समुहका छन् । त्यसै गरि गोरखाको गण्डकी गाउँपालिका १ पुरुष, नवलपुरको गैडाकोट नगरपालिकाका ३ जना महिला, तनहुँको देवघाट गाउँपालिकाका १ पुरुषमो कोरोना पुष्टि भएको शर्माले जानकारी दिए । उनीहरुलाई सम्बन्धीत जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । पोखरा थपिएका कुबेतबाट र भारतबाट आएकाहरु हुन् । गण्डकी प्रदेशमा अहिले सम्म ९१ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।