‘चर्चहरु अब खोल्नुपर्छ, प्रार्थनाको खाँचो छ’–डोनाल्ड ट्रम्प
एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चहरु चाँडोभन्दा चाँडो खुल्नुपर्ने बताएका छन । यो कुरा मानिसहरुको मानसिकता र आत्मियताको लागि निकै महत्वपुर्ण रहेको र वर्तमान समयमा कोरोनाभाइरसको महामारी रहेको अवस्थामा चर्चहरु बन्द भयो भने यसले देशलाई बर्बाद पार्नसक्ने कुरा उहाँको विश्वास रहेको छ । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नुपर्ने जरुरी रहेको बताएका हुन् । उनले भने, ‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन ।’
उनी भन्छन “देशको मानसिकताको सवालमा चर्चहरु मेरो लागि धेरै महत्वपुर्ण रहेका छन । मानिसहरु आफ्नो चर्चमा रहन चाहन्छन । घरमै बसेर ल्यापटपमा केहि कुरा हेर्नू रमाइलो हुन्छ तर चर्चमा साथीहरुसँग बसेको जस्तो हुँदैन” । एउटा बैठकमा ट्रम्पले भने “हामी चर्चहरु फेरी खोलिएको देख्न चाहन्छौँ”। कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन बन्द गरिएको छ । अमेरिकामा कोरोनाबाट १६ लाख बढी संक्रमित छन् भने ९५ हजार ९ सय २१ जनाको मृत्यु भएको छ । मृतक ९५ हजार पुगेलगत्तै ट्रम्पले ट्वीट गरेर शोकमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने घोषणा गरेका थिए । ट्रम्पले आफ्ना गर्भनरहरुलाई निर्देशन पालनगर्न पनि आदेश दिएका छन ।
“केही गभर्नरहरूले मदिरा पसल र गर्भपतन क्लिनिकहरू आवश्यक ठान्छन, तर चर्च र आराधना गर्ने घरहरूलाई महत्व ठानेका छैनन । यो ठीक छैन । त्यसैले म यो अन्यायलाई सच्याउँदै छु र आराधना गर्ने घरलाई आवश्यक भनिरहेछु,“ ट्रम्पले ह्वाइट हाउसमा आफ्नो घोषणाको बेला भने।
मार्च महिनामा प्रान्तहरुमा गभर्नरको आदेश थियो कुन व्यापारिक प्रतिष्ठान वा स्थान कसरी र कति सयसम्म बन्द रहने भनेर । अहिले गभर्नरले नै कहिले र कसरी प्रतिबन्ध खुकुलो गर्ने भन्ने तय गर्छन् ।यसमा चर्चमा भेला हुने सीमा पनि समावेश छ ।
अबको एक हप्ता वा १० दिनभित्र नै चर्चहरु व्यवस्थित रुपमा संचालन हुने आशा रहेको छ ।