अब वैशाखबाट पोखराका नगर बसमा इ–टिकेटिङ हुने
पोखरा महानगरपालिकाले वैशाखबाट महानगर बसका छोटो रुटमा पनि टिकट र कार्ड सुविधासहित “‘पेपरलेस यात्रा” लागु गर्ने भएको छ । महानगरका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले एन क्लाउड संस्थासँग सहकार्य गरी योजना ल्याउन लागिएको जानकारी दिएका छन । उनले भने “यो सुविधा लागु भयो भने यात्रुलाई मात्रै होइन, बस व्यवसायीलाई पनि समय र पैसा दुवैको बचत हुनेछ साथै यात्रु ठगिने सम्भावना पनि न्यून हुन्छ ।’
तिमिल्सिनाले कार्ड प्रयोग गर्न कुनै १ बैंकसँग सहकार्य गर्ने र महानगरले निश्चित म्यादसहितको कार्ड जारी गर्ने जानकारी दिए । साथै यात्रुहरु टिकट काटेर पनि बसमा यात्रा गर्नसक्नेछन । सजिलो उपायको लागि बैंकको एटिएम कार्डजस्तो कार्ड वितरण हुनेछ र पछि महानगरले त्यही कार्डलाई स्मार्ट कार्ड बनाउने योजना पनि रहेको कुरा जानकारीमा आएको छ ।
एन क्लाउडका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रनारायण अधिकारीले पहिलो चरणमा महानगर बसमा इटिकेटिङ लागु गर्ने र त्यसपछि ट्याक्सी र अन्य सार्वजनिक बसमा विस्तार गर्ने जानकारी दिए । इटिकेटिङ सुविधामा बसको सहचालकलाई एउटा डिभाइस दिइएको हुन्छ । त्यही डिभाइसको सहयोगमा यात्रुले भनेको ठाउँको टिकट पाउछन् ।
उनीहरुले पहिले निश्चित ठाउँमा रकम जम्मा गरेका हुन्छन्, त्यहीका आधारमा कार्ड पाउँछन्, श्रेष्ठले भने, “यात्रुले सजिलोका लागि कार्ड नम्बर डाइल गरे पनि हुन्छ ।” उनले सुरुमै सबैसँग कार्ड असम्भव हुने हुँदा इटिकेटिङ नै भरपर्दो हुने बताए । उनले साझा र विभो बसका लागि कार्ड बाँड्न सुरु भइसकेको जानकारी दिए ।
पोखरा बस व्यवसायी समिति महासचिव अमृत शर्माले “पेपरलेस यात्रा” लागु भए व्यवसायीलाई पनि फाइदा पुग्ने दाबी गरे । “पैसा नै तिरेर टिकट लिए दिनभरमा कति टिकट बिक्री भयो भन्ने जानकारी संस्थालाई जान्छ । कार्ड प्रयोग गरेको भए त्यो रकम सिधै खातामा जान्छ,” उनले भने, “यसबाट व्यवसायीको आम्दानी तथ्यांक पनि पारदर्शी हुन्छ ।”
महासचिव शर्माले पेपरलेस यात्राले व्यवसाय परिमार्जन गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । “यो सुरुमा साझा बसमा मात्रै थियो । अब पोखरामा पनि लागु गर्दै छौं । यसले स्मार्ट सिटीलाई पनि सहयोग मिल्नेछ,” उनले भने, “यसले एक त व्यवसाय परिर्माजन पनि हुन्छ । अर्को प्रविधिमैत्री पनि हुन्छ ।”