पोखरा म्याराथनको उपाधि आर्मीका हरि रिमालले जिते
पोखरा । सफल पोखरा म्याराथनको उपाधि नेपाल आर्मीका हरिकुमार रिमालले जितेका छन् । २ घन्टा ४०.१० सेकेन्डमा ४२ किलोमिटर पार गर्दै उनले उपाधि जितेका हुन् । सशत्र प्रहरी बलका खिमबहादुर खत्रीले २ घन्टा ४०.२० सेकेण्डमा दौड पूरा गरेर दोस्रो भए भने तेस्रो भएका नेपाल प्रहरीका भूमिराज राईले २ घन्टा ४१ मिनेट १७ सेकेन्डमा दूरी पूरा गरे । २ घन्टा ४२ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरेका नेपाली सेनाका पूर्ण तामाङ चौथो भए ।
भूतपूर्व खेलाडी मञ्च नेपालले गरेको १३ औं संस्करणको सफल पोखरा म्याराथनको उपाधि जितेका रिमालले १ लाख रुपैयाँ र ट्रफी हात परे । दोस्रो भएका खिमबहादुरले ७० हजार, तेस्रो भएका भूमिराजले ५० हजार र चौथो भएका पूर्ण तामाङले ७ हजार रुपैयाँ प्राप्त गरे । रिमाल यसअघिको म्याराथनमा दोस्रो भएका थिए भने राई बिजेता बनेका थिए । अघिल्लो वर्ष कास्कीको अन्नपूर्ण आधार शिविरबाट भएको अन्नपूर्ण म्याराथनमा हरिले उपाधि जितेका थिए ।
१० किमी पुरुषतर्फको दौडमा तीनै वटा उपाधि नेपाली सेनाले हात पार्यो । सेनाका विकास कार्की, राजन रोकाया र शिवबहादुर रायमाझी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । १० किमी महिलातफको दौडमा नेपाल प्रहरीकी राजपूरा पछाईं पहिलो, सशत्र प्रहरी बलकी वृन्दा श्रेष्ठ दोस्रो र नेपाली सेनाकी सरिता वंशी तेस्रो भइन् ।।
५ किमी दौडमा छात्रछात्रा सहभागी थिए । जसमा छात्रतर्फ शहीद स्मृतिको तुलबहादुर घर्तीमगर र छात्रातर्फ बेसलाइन एकेडेमीका ललिता लामिछानेले उपाधि जिते । उनीहरुले ५/५ हजार पुरस्कार जिते । प्रतियोगिताको ४०० मिटर पुरुष ह्विल चियर दौडमा सुरेश गौली पहिलो, भरत अधिकारी दोस्रो र हेमबहादुर गुरुङ तृतीय भए । यस्तै महिलातर्फ लक्ष्मी सुनार, अञ्जु बराल र पवित्रा विक क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । उनीहरुले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ जिते। १०० मिटर दृष्टिविहीन दौडमा पुरुषतर्फको बी वानमा आदेश बस्याल पहिलो, सुनील राना दोस्रो र प्रेम क्षेत्री तेस्रो भए । यस्तै बी टूमा दुर्गादत्त पौडेल पहिलो, आशिष खड्गी दोस्रो र राम गुरुङ तेस्रो भए । दृष्टिविहीन महिलातर्फको बी वानमा रितादेवी थापा, बिपना खनाल र माया गौतम क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । बी टूतर्फ बिनिता पुन पहिलो, सरिता घिमिरे दोस्रो र सुकु बिक तेस्रो भए । पहिलो हुनेले ५, दोस्रोले ३ र तेस्रो हुनेले २ हजार रुपैयाँ पुरस्कार पाए ।
म्याराथनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दै धावकसँगै केही मिटर दौडिएका थिए । मुख्यमन्त्रीसँगै प्रदेशका गृहमन्त्री हरिबहादुर चुमान पनि केही बेर दौडिएका थिए । दौडौं पोखराका लागि, दौडौं स्वास्थ्यका लागि’ नाम दिएर पोखरा म्याराथन गरिएको हो । भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङले म्याराथनलाई सिंगो पोखराले सेलिब्रेसन गरेको बताए । म्याराथनका विजेतालाई सामाजिक विकासमन्त्री नरदेवी पुन, सांसद मोहन रेग्मी, कृष्ण थापालगायतले पुरस्कार प्रदान गरे । अनलाइनखबरडटकम