पब्जी प्रतिबन्धः सामाजिक सञ्जालमा प्रशंसा, आलोचना र रमाइला प्रतिक्रिया
बिबिसी । चर्चित अनलाइन खेल प्लेयर्स अननोन्स ब्याटलग्राउण्ड पब्जी माथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको बारेमा सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ। कतिले सरकारको निर्णयलाई सकारात्मक कदमका रूपमा अर्थ्याएका छन् भने कतिले व्यक्तिगत र इन्टरनेट स्वतन्त्रताको हनन भनेका छन्। विश्वका विभिन्न मुलुकमा चर्चा कमाइरहेको उक्त खेलमाथि नेपाल प्रहरीको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले प्रतिबन्ध लगाएको हो।
प्राधिकरणले उक्त निर्णयबारे इन्टरनेट सेवा प्रदायकहरूलाई जानकारी दिइसकेको जनाएको छ।
विश्वका विभिन्न मुलुकमा ख्याति कमाइरहेको पब्जी नेपाल प्रहरीको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले प्रतिबन्ध लगाएको हो ।
अदालतको स्वीकृतिमा प्रतिबन्ध
प्रहरीले उक्त निर्णय काठमाण्डू जिल्ला अदालतसँग स्वीकृति मागेर गरेको बताएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बीबीसी नेपाली सेवालाई भने, हामीले अदालतसँग सहमति माग गरेपछि अदालतले मनोचिकित्सकसँग परामर्श लिएर प्रतिबन्ध लगाउन सहमति दिएको हो। विभिन्न प्रकारका सामाजिक समस्या उत्पन्न भएको उजुरी परेको आधारमा उक्त खेल माथि प्रतिबन्ध लगाउनु परेको सरकारी निकायहरूको भनाइ छ। विद्यालय जाने उमेरका बालबालिकादेखि वयस्कहरूसमेत खेलको लतमा परेको र त्यसपछि उनीहरूमा एकान्तमा बस्न रुचाउने र अधिकांश समय अनलाइनमा रमाउने जस्ता मनोवैज्ञानिक समस्या देखा परेको बताइएको छ। सिंह भन्छन्, १० देखि २० वर्षसम्मका बालबालिका यसमा फसेको देखियो। अभिभावकले उक्त खेलको लतमा नलाग्न सुझाउँदा मोबाइलले हान्ने र मोबाइल फुटाउने लगायतका गतिविधि गर्ने उजुरी हामीकहाँ आएपछि त्यस्तो कदम चाल्नु परेको हो।
निजी तथा आवासीय विद्यालयहरूको सङ्गठन प्याब्सन, अभिभावकहरू र विभिन्न विद्यालयहरूले आधिकारीकरूपमै उजुरी दिएपछि उक्त कदम चालिएको उनको भनाइ छ।
पब्जीलाई सन् २०१७ मा दक्षिण कोरियाली कम्पनीले सार्वजनिक गरेको थियो। उक्त खेल एकै पटक छ जनासम्मले खेल्न सक्छन्। सामाजिक सञ्जाल ट्विटरमा कतिपय प्रयोगकर्ताले सरकारको उक्त कदमको प्रशंसा गरेका छन्। मानिसहरु भन्दछन, पबजि गेम नेपालमा बन्द गर्ने काम सराहनिय छ सरकारको । टिनेज उमेरमा कृयटिभिटि शुन्य बनाउने, एकोहोरो बनाउने, नपढ्ने, आँखाको समस्या, बाल्यकालमै बिभिन्न ढाड सम्बन्धी साथै अन्य मानसिक तथा शारिरीक समस्या उत्पन्न गराउने गेम बन्द गराउन पर्छ । कतिपयले भनेका छन, सरकारले पब्जी नामक गेममाथि प्रतिबन्ध लगाएर अत्यन्त सह्रानीय काम गरेको छ।बच्चादेखि युवा पुस्तासम्म यो लतमा फसेर बर्बाद हुने अवस्थामा पुगिसकेको थियो।
सामाजिक सञ्जाल ट्विटरका अधिकांश प्रयोकर्ताले भने पब्जीमाथि लगाइएको प्रतिबन्धको विषयलाई सरकार सञ्चालन लगायत अन्य विभिन्न विषयसँग जोडेर व्यङ्ग्य गरेका छन्। कतिपय प्रयोगकर्ताले भीपीएन प्रयोग गरेर आफूहरूले उक्त खेल खेल्ने बताएका छन्। भीपीएन एउटा यस्तो सफ्टवेयर हो जसले प्रयोगकर्तालाई उसको स्थान लुकाएर अन्य कुनै ठाउँ वा नेटवर्कबाट इन्टरनेटसँग जोडिन सहयोग गर्छ। त्यसको प्रयोग गरेर प्रतिबन्धित सामग्री तथा वेबसाइट सजिलै हेर्न सकिने जानकारहरू बताउँछन्। बिबिसीबाट साभार