राणा शासनविरुद्ध बलिदान दिएका अमर शहीदको सम्झनामा ‘शहीद सप्ताह’ सुरु
काठमाडौं । जहानियाँ राणा शासन विरुद्ध लडेर बलिदान दिएका शहीदको सम्झनामा आजबाट शहीद सप्ताह सुरु भएको छ । काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।
आज पहिलो दिन टेकुको पचलीमा शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गरी शहीद सप्ताहको थालनी भएको छ । नागरिक स्वतन्त्रताको माग गर्दा विक्रम संवत् १९९७ माघ १० गते राति १२ बजे काठमाडौंको टेकु पचलीस्थित खरिको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याएर हत्या गरिएको थियो । त्यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए । देशका लागि जीवन बलिदान गर्ने शहीदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । सप्ताहान्तमा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । शहीद दिवसका अवसरमा यी चार अमर शहीदका अतिरिक्त विभिन्न कालखण्डमा भएका जनआन्दोलनका क्रममा ज्यानको आहुति दिने सबै शहीदको सम्झना गरिन्छ । शहीद दिवसमा पहिले सार्वजनिक विदा दिने गरिए पनि हाल सरकारले यो विदा कटौती गरेको छ ।