२०७६ को क्यालेण्डरमा १३ दिन सार्वजनिक बिदा थप्न प्रस्ताव
काठमाडौं । सार्वजनिक बिदा बढी भयो भनेर २०७५ मा कटौती भएका बिदाहरु २०७६ मा फेरि थप्न प्रस्ताव गरिएको छ । गएको चैतमा मन्त्रिपरिषद् बैठकबाट सरकारले सार्वजनिक बिदा धेरै भएकाले सरकारी कामकाज नै प्रभावित भएको भन्दै २०७५ को क्यालेण्डरमा बिदा कटौती गरेको थियो । बिदा पुनरावलोकन गर्न गठित कार्यदलले ०७५ मा कटौती भएका सबै बिदाहरु ०७६ मा राख्न सरकारसमक्ष प्रस्ताव पेस गरेको छ । सरकारले ०७५ मा १२ दिन सार्वजनिक बिदा कटौती गरेको थियो । अब २०७६ मा एक दिन थपेर १३ दिन सार्वजनिक बिदा थप गर्न प्रस्ताव गरेको हो ।
गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई सदस्य रहेको समितिले १३ दिन बिदा थप गर्न प्रस्ताव गरेको हो ।
समितिले किराँत चाड उभौली (बु्द्ध पूर्णिमा ) र उधौलीका लागि २ दिन, इद उल फित्र, बकर इद र मोहम्मद जयन्तीमा ३ दिन, क्रिसमसमा १ दिन, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारमा १/१ दिन गरेर ३ दिन बिदा दिन प्रस्ताव गरिएको छ । यस्तै छठ पर्वमा १ दिन, ऋषि पञ्चमी (महिलालाई मात्रै) १ दिन, माघी पर्वमा १ दिन र जनै पूर्णिमामा १ दिन गरी १३ दिन बिदा थप गर्न प्रस्ताव गरेको हो । २०७४ मा केपी शर्मा ओली नेतृत्वकै सरकारले विभिन्न समुदायले मनाउने चाडपर्वमा यस अघि दिँदै आएको कूल १२ दिनको सार्वजनिक बिदा कटौती गरेको थियो । तिनै बिदा पुनस्र्थापित गर्न कार्यदलले सरकारलाई सुझाव दिएको हो ।