युनाइटेडले जित्दा चेल्सी बराबरीमा रोकियो

खेलकुद मुख्य समाचार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार चौँथो जित हात पारेको छ । बुधबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई २–० गोलले हरायो । युनाइटेडले अन्तरिम प्रशिक्षक ओली गनर सोल्स्कसायरको प्रशिक्षणमा उत्कृष्ट लय जारी राखेको छ ।
न्युक्यासलको घरेलु मैदान सेन्टजेम्स पार्कमा भएको खेलमा युनाइटेडलाई जिताउन रोमेलु लुकाकुले ६४औँ र मार्कस रासफोर्डले ८०औँ मिनेटमा गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । जितसँगै छैटौँ स्थानमा रहेको युनाइटेडले २१ खेलबाट ३८ अंक बनाएको छ । १८ अंक बनाएको न्युक्यासल १५औँ स्थानमा छ ।
यसैगरी अर्को खेलमा बलियो टोली चेल्सी रेलिगेसनमा रहेको साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीको गोल गर्ने प्रयासमा साउथह्याम्पटन बाधक बनेको थियो ।

यस बराबरीपछि चेल्सीले तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दुरी घटाउने मौका गुमाएको छ । चौँथो स्थानमा रहेको चेल्सीले ४४ अंक बनाएको छ । सिटीको ४७ अंक छ । १६ अंक बनाएको साउथह्याम्पटन रेलिगेसनको चपेटामा छ ।
प्रिमियर लिग अन्तर्गत बुधबार रातीनै भएका अन्य खेलमा बर्नलीले हड्र्सफिल्डलाई २–१ र क्रिस्टल प्यालेसले वल्भ्सलाई २–० गोलले हरायो । ब्राइटन र वेस्टहाम युनाइटेडले २–२ तथा बर्नमाउथ र वाटफोर्डले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *