कतै तपाईको बच्चामा मोबाइल गेमिङको लत त छैन?

मुख्य समाचार लेख / रचना विज्ञान तथा प्रविधि

केहि दिन अगाडी एकजना दिदीले “भाई मेरो फेसबुक आइडि त ह्याक भएछ । रातभरी हिन्दी भाषामा एकजना मान्छेले ब्ल्याकमेल गर्दै धम्काउँदै, तथानाम गाली गर्दै पैसा पो माग्छ” भन्नुभयो । उसले मेरो आइडी र पासवर्ड पाएर मेरो पासवर्ड नै परिवर्तन गरेछ भनेर बताउनुभयो । हामीले आइडि पासवर्ड कसरी त्यो व्यक्तिसम्म पुगेछ भनेर पत्ता लगाउन खोज्दा दिदीको छोरा जो लगभग १३ वर्षको थियो उसले ममीको (दिदीको) मोबाइलमा फ्रि फाएर नामक गेम खेल्दा एकजना दाईले प्लिज मलाई एकदमै गाह्रो भएको छ भाई मलाई मद्धत गरिदेउ न, तिमीले सहयोग गर्यौ भने म तिमीलाई टपअप गर्दिन्छु भनेर आइडि र पासवर्ड मागेको रहेछ । अनि बाबुले विचारै नगरी, त्यसको असर के हुन्छ ख्यालै नराखी आईडि र पासवर्ड दिँदा दिदीको फेसबुक ह्याक भएर दुःख र धम्की खेप्नुपर्यो । अहिले उक्त आइडी नै ब्लक गरेर अर्को चलाउनु परिरहेको छ ।
यो त एउटा प्रतिनिधि घटना मात्र हो । अहिले विशेष गरेर धेरै कुरामा लागेको प्रतिबन्ध, स्कुल कलेज तथा जागिर नहुँदा थुप्रै किशोरकिशोरी तथा जवान युवाहरु मोबाइल गेमिङको नराम्रो लतमा फसिरहेका छन । केहि समय अघि मात्रे नेपाल सरकारले पब्जी खेललाई प्रतिबन्ध लगाएपनि प्रभावकारी रुपमा कार्यन्वयन हुन सकिरहेको छैन ।
हिंसालाई प्रोत्साहन गर्ने खेल पब्जी, फ्रि फाएर लगायतले एउटा पुस्ता नै बिगार्ने संकेत देखिएको छ । यस्ता खेलहरुमा दुई बिपरित समुहका लडाकुहरु कुनै अज्ञातस्थलमा हातहतियारबाट सुसज्जित भई एकले अर्कालाई सक्दो घातक हतियार प्रहार गरी मार्ने काममा अघि बढ्ने खेल हो । यसमा खेलाडीले उकले अर्कालाई मार्छन । यी खेलहरु सामुहिक हुन्छन जसमा एकसाथ केहि खेलाडीले भाग लिन्छन ।
मनेविदहरुका अनुसार अर्को पक्षलाई जति मार्यो उति खेलाडीको प्रगति हुने यो खेलमा घण्टौँ घण्टा बिताएका बच्चाहरु वास्तविक जीवनमा पनि मर्ने र जित्ने भावनाले उत्प्रेरित हुने गर्छन । यी खेलहरुले हिंसाप्रति बालबालिकाको लगाब बढेको र मानसिक असन्तुलन समेत बढेको निष्कर्ष मनोविद्हरु निकाल्दछन । साथै संसारका कतिपय भागहरुमा मानिसहरुको आत्महत्या तथा हत्या हिंसाका घटनाहरुपनि बाहिर आइरहेका छन । केहि समय अघि मात्र बैंगलोर भारतमा एक युवाले आफ्नो बुवाले पब्जी खेल्न नदिएकाले बुवाको नै घाँटी काटेको ताजा समाचार सोसल मिडियामा भाइरल भयो ।
मनोरञ्जनका लागि निर्मित गेमहरुमा जब लत लाग्छ त्यसले बालबालिका तथा युवाहरु सबैलाई नै मानसिक, सामाजिक र स्वास्थ्यको हिसाबमा हानी पुर्याइरहेको हुन्छ । यसले विद्यार्थीको पढाई, व्यवहार र अन्य थुप्रै पक्षमा असर पुर्याउँदछ । विशेष उनीहरुको बहुमुल्य समय भविष्य निर्माण भन्दापनि यत्तिकै खेर गईरहेको हुन्छ । विश्व स्वास्थ्य संगठन तथा मनोविदहरुका अनुसार यसले मानिसको सामाजिक, व्यवसायिक तथा मनोवैज्ञानिक कुराहरुमा प्रत्यक्ष असरहरु पुर्याउँदछ । जस्तैः
१) स्वास्थ्य समस्याः लामो समय मोबाइल गेमहरु खेल्नाले मोटोपनाको समस्या, मांसपेशी र जोर्नीहरु कमजोर हुने र अल्छी बनाउने गर्दछ । बस्ने शैलीहरु परिवर्तन हुने, आँखा कमजोर हुनु, टाउको दुख्नु ।
२) व्यवहारिक समस्याः पब्जी फ्रि पायर लगायत हिंसाजन्य खेलहरुले आक्रमक सोचहरु आउने, छिट्टै रिसाउने, मनोभाव र व्यवहारलाई असर पु¥याई मानसिक स्वास्थ्यमा कमजोर बनाउनु । यसले बच्चाहरुमा लामो समयसम्म असर पुरयाउँन सक्छ ।
३) सामाजिक सम्बन्धमा कमजोर हुनुः लामो समयसम्मै गेम खेल्ने मानिसहरु समाजिक रुपमा निष्क्रिय नै हुन्छन । साथीहरुसँग प्रत्यक्ष कुराकानी गरी खेल्न मिल्ने भएतापनि, एक्लो रहन्छन र यसले शारिरिक तथा मानसिक स्वास्थ्यमा असर पुर्याउँछ ।
४) निद्रा बिथोलिनु/सुत्ने शैली परिवर्तन हुनुः लामो समयसम्म स्क्रिनको अघि बस्नाले सुत्ने शैली परिवर्तन हुनु र गेम खेल्न कै लागि मानिसहरु कम सुत्छन ।
५) गलत मुल्य मान्यतासँग परिचित हुनुः बालबालिकाहरु प्राय खेलहरुमा जस्तो देखियो त्यस्तै व्यवहारहरु सिक्ने कोसिस गर्दछन । त्यहाँको चरम हत्याहिंसा, भ्रष्टता, जातियता लगायतका विभिन्न अन्य पक्षहरु जुन पब्जी लगायत खेलहरुमा पाईन्छ, तिनीहरु खतरनाक हुन्छन।
६) शैक्षिक प्रदर्शनमा कमि आउनुः बालबालिकाहरु होमवर्क अथवा परिक्षाको लागि पढ्न छोडेर भिडियो गेमहरुमा भुल्न सक्छन । सिर्जनशिलतामा कमि आउन सक्छ ।
७) समय खेर जानुः एउटा खेल सकिनको लागि एक घण्टा नै लाग्न पनि सक्छ, त्यसैले दिनमा ५ वटाभन्दा बढी खेलहरु खेलेपनि दिनको ४/५ घण्टा यत्तिकै खेर जान्छ ।

कुनै पनि मोबाइल गेमहरु, पब्जी फ्रि फाएर लगायत अन्य केहि समय मनोरञ्जन तथा लकडाउनको समयमा बढी समय भएको कारण खेल्नु केहि हदमा उपयुक्त होला । अलि जान्ने बुझ्ने व्यक्तिले समय मिलाएर खेलबाट प्रशस्त फाइदा लिन सक्लान तर तयसको साथसाथै आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नु अत्यन्तै जरुरी छ । विशेष गरेर भर्खरका कलिला स्कुले बच्चाहरुलाई उनीहरुको भित्रि क्षमता अनुसार सिर्जनशिलतामा नडोर्याई उनीहरुलाई मोबाइल दिएर भुलाउने प्रवृत्ति अहिले वर्तमान समयमा निकै बढेको छ । अहिलेको सजिलोले भोली आफ्ना नानीबाबुहरुको भविष्य नै धरापमा पर्ने हो कि भनेर हामीले एकपल्ट अवश्य नै गम्भिर भएर सोच्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *