च्याम्पियन्स लिगः युभेन्टस र रियल म्याड्रिड बाहिरिए

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको छ । शुक्रबार घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मदतले लियोनलाई २–१ ले पराजित गरेपनि युभेन्टस अगाडि बढ्न सकेन । समग्रमा २–२ को स्कोर भएपछि अवे गोलको आधारमा लियोन अगाडि बढेको हो । पहिलो लेग १–० ले जितेको लियोनले दोस्रो लेगको १२ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको हो । कप्तान मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै लियोनलाई सुदृढ अवस्थामा पुर्याएका छन् । युभेन्टसका मिडफिल्डर रोड्रीगो बेन्टान्कुरले हुसेम औआरलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
१९ औं मिनेटमा युभेन्टसले खेलमा फर्कने सुवर्ण अवसर गुमायो । फेडेरिको बर्नार्डेस्कीले तीन डिफेन्स र गोलरक्षक समेतलाई छलाएर गोल गर्न नजिक पुगेको अवस्थामा मार्सेलोले अन्तिम समयमा उत्कृष्ट ट्याकल गर्दै सम्भावित गोल टारे । २० औं मिनेटमा एलेक्स सान्ड्रोको क्रसमा क्रिस्टियानो रोनाल्डोको हेडरले पोस्टको दिशा लिन सकेन । ३५ औं मिनेटमा रोनाल्डोले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिक वालमा लागेर फर्कियो । लगत्तै जुआन क्वाडराडोको क्रसमा हिगुआइनको हेडरलाई गोलरक्षक लोपेसले दोस्रो प्रयासमा बचाए । ४० औं मिनेटमा युभेन्टस खेल बराबरीमा ल्याउने अवसरबाट चुक्यो । पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकमा रोनाल्डोको प्रहारलाई गोलरक्षक लोपेसले सानदार बचाउ गरेका थिए । लगत्तै मिरालेम प्यानिचले त्यस्तै स्थानबाट प्रहार गरेको फ्रिकिकमा युभेन्टसले पेनाल्टी प्राप्त गर्यो । प्यानिचको फ्रिकिकले वालमा बसेका कप्तान मेम्फिस डिपाएको हातमा लागेपछि इटालियन टोलीले पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको ५२ औं मिनेटमा प्यानिचको लामो फ्रिकिकलाई गोलरक्षक लोपेसले पन्च गरिदिए । ५७ औं मिनेटमा लियोनका ब्रुनो गुइमारेसले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार आकासियो ।
खेलको ६० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्रको बाहिरबाट रोनाल्डोले बायाँ खुट्टाले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक लोपेसले बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।
६४ औं मिनेटमा युभेन्टसका डिफेन्डर लिओनार्डो बोनुचीको हेडरले पोस्टको दिशा लिन सकेन । त्यसको चार मिनेटपछि नै अनमार्क रहेका गोन्जालो हिगुआइनको हेडर पनि पोस्टभन्दा थोरैले बाहिरियो । ७५ औं मिनेटमा रोनाल्डोको हेडरले पोस्टको दिशा लिन नसक्दा युभेन्टस समग्रमा अग्रता लिनबाट चुक्यो । युभेन्टसले चोटबाट संघर्ष गरिरहेका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई मैदान प्रवेश गराएपनि उनी पुनः चोटका कारण २० मिनेटभन्दा बढी खेल्न सकेनन् । खेलको ८९ औं मिनेटमा युभेन्टस काउन्टर अट्याकमा अगाडि बढेपनि फर्नान्डो मार्सालले ड्यानीलोलाई लडाउँदै युभेन्टसको आक्रमणमा ब्रेक लगाए ।


लियोनले अब क्वाटरफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत शुक्रबार भएको राउन्ड अफ १६ को दोस्रो लेगमा २–१ को जित दर्ता गर्दै सिटीले रियललाई प्रतियोगिताबाट नकआउट गरेको छ । पहिलो लेगमा २–१ को जित दर्ता गरेको सिटी समग्रमा ४–२ को जितसँगै अगाडि बढ्न सफल रहयो । सिटीको दुवै गोल डिफेन्डर राफाएल भारानको गल्तीमा रहीम स्टर्लिङ र ग्याब्रीएल जेससले गरेका थिए । रियलका करीम बेन्जेमाले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए ।
खेलको सुरुवाती समयमा नै म्यानचेस्टर सिटीले घरेलु मैदानमा रियल म्याड्रिडविरुद्ध अग्रता बढाएको थियो । पहिलो लेग २-१ ले जितेको सिटीले रहिम स्टर्लिङको गोलमा अग्रता लिएको हो । रियलको डिफेन्समा तालमेल नमिल्दा सिटीले त्यसको फाइदा उठाउन सफल रहयो ।
फरवार्ड ग्याब्रीएल जेससले राफाएल भारानबाट पेनाल्टी क्षेत्रभित्र बल खोस्न सफल रहे । उक्त बललाई उनले स्टर्लिङलाई पास दिएपछि इंग्लिस विंगरले सहजै गोल गर्दै सिटीलाई बलियो स्थितिमा पुर्याए । १८ औं मिनेटमा रहिमले नै गोलअन्तर बढाउने अवसर पाएपनि क्यासेमिरोले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ट्याकल गर्दै रियललाई खेलमा कायम राखे । २१ औं मिनेटमा सिटीका गोलरक्षक एडरसनले एक मिनेटको अन्तरमा दुई बचाउ गर्दै सिटीको अग्रता जोगाए । दुवै अवसरमा बेन्जेमाको प्रहारलाई एडरसनले राम्रो बचाउ गरेका थिए । खेलको २८ औं मिनेटमा रियलले बराबरी गोल फर्कायो । युवा विंगर रोड्रीगोको उत्कृष्ट मुभमा फरवार्ड करीम बेन्जेमाले रियललाई खेलमा फर्काए । पेनाल्टी क्षेत्रबाहिर बल पाएका रोड्रीगोले अगाडि बढाएर दिएको चिप क्रसलाई बेन्जेमाले हेडरमार्फत गोल गरेका थिए । ३३ औं मिनेटमा काइल वाल्करले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयासले पोस्टको दिशा लिन सकेन । ३६ औं मिनेटमा सिटीका जोआओ कान्चेलोको प्रहारलाई कोर्टुवाले उत्कृष्ट बचाउ गरे । दोस्रो हाफको ५४ औं मिनेटमा सिटीले अग्रता लिने सुवर्ण अवसर गुमायो । पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको स्थितिमा इल्काए गुन्डोगनले आफैं प्रहार नगरी स्टर्लिङलाई दिएको पासमा उनको प्रहार गोलरक्षक कोर्टुवाले विफल पारे । लगत्तै केभिन डे ब्रुएनको प्रहारलाई ड्यानी कार्भाजलले ब्लक गरिदिए । ६४ औं मिनेटमा बेन्जेमाको प्रहारलाई गोलरक्षक एडरसनले सहजै बचाए । लगत्तै अर्कोतर्फ कोर्टुवाले ग्याब्रीएल जेससको प्रहारलाई विफल पार्दै खेलमा रियलको सम्भावना कायमै राखे । जेससले दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारलाई कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए ।


६८ औं मिनेटमा सिटीले पुनः रियल म्याड्रिडको डिफेन्सको गल्तिको फाइदा उठाउँदै खेलमा अग्रता लियो । भारानले दबाबका बीच गोलरक्षक कोर्टुवालाई हेडरमार्फत ब्याक पास खेल्न खोज्दा जेससले उक्त बललाई पेनाल्टी क्षेत्रभित्र पहिलो टचमै गोलको दिशा दिँदै कोर्टुवालाई बिट गरेका थिए ।
अग्रता लिएको एक मिनेट नबित्दै गोलरक्षक एडरसनले लगातार दुई बचाउ गर्दै सिटीको अग्रता कायम राखे । सिटीले खेलको अन्तिम १० मिनेटमा बल पोसेसनमा ध्यान दिँदै रियल म्याड्रिडलाई खुलेर खेल्ने अवसर दिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *