रियल म्याड्रिड, युभेन्टस, सिटी, बार्यन युनाइटेड बिजयी
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जी को पाँचौ खेलमा रियल म्याड्रिडले एएस रोमालाई २–० ले पराजित गर्दै शिर्ष स्थानमा कब्जा जमाएको छ । मंगलबार भएको खेलमा रियल म्याड्रिडका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफको अन्त्यतिर रोमाका मिडफिल्डर सेन्गिज उन्दरले अपत्यारिलो मिस गरेपछि रोमा अग्रता लिनबाट चुकेको थियो । उक्त मिसलाई च्याम्पियन्स लिगकै इतिहासमा खराबमध्यको एक रहेको जिकिर गरिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि रियलले दोस्रो हाफको सुरुवातमै अग्रता बनाउन सफल भयो ।
खेलको ४७ औं मिनेटमा ग्यारेथ बेलले डिफेन्डर फेडेरिको फाजियोको गल्तिको फाइदा उठाउँदै रियललाई सुरुवाती अग्रता दिलाए । यो उनको पछिल्लो पाँच च्याम्पियन्स लिग खेलमा पाँचौ गोल थियो । ५९ औं मिनेटमा लुकास भाज्केजले दोस्रो गोल गर्दै रियलको जित पक्का गरे । जितसँगै अंक तालिकामा रियल शीर्ष स्थानमा रहने पक्का भएको छ । रोमा पनि दोस्रो स्थानमा रहँदै अर्को चरण पुगेको छ ।
युभेन्ट्सले भ्यालेन्सियालाई हरायो
त्यसैगरी क्रोएसियन फरवार्ड मारियो मान्जुकीचको निर्णायक गोलमा युभेन्ट्सले च्याम्पियन्स लिगअन्तर्गत समूह एचको पाँचौ खेलमा भ्यालेन्सियालाई १–० ले पराजित गरेको छ । यस नतिजासँगै भ्यालेन्सिया च्याम्पियन्स लिगबाट बाहिरिएको छ । इटालियन च्याम्पियन युभेन्ट्सले खेलको ५९ औं मिनेटमा खेलको एकमात्र गोल गर्न सफल भयो । भ्यालेन्सियाले रक्षात्मक खेल प्रस्तुत गर्दा युभेन्ट्सको स्टार आक्रमणलाई केहि दबाब पारेको थियो । जोआओ क्यान्सेलोले भ्यालेन्सियाको क्षेत्रभित्र क्रिस्टियानो रोनाल्डोलाई पास दिएपछि रोनाल्डोले भ्यालेन्सियाका ग्याब्रिएल पाउलिस्टालाई छलाउँदै दिएको लो क्रसमा मान्जुकीचले सहजै गोल गरेका थिए ।
सिटी र लियोन च्याम्पियन्स लिगको नकआउट चरणमा
साथै इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च लिग वान क्लब लियोन युइएफए च्याम्पियन्स फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । सिटी समूह ‘एफ’ को विजेता तथा लियोन उपविजेता बन्दै नकआउट चरणका पुग्न सफल भएको हो । मंगलबार राति भएको खेलमा सिटी र लियोनले २–२ गोलको बराबरी खेल्यो । घरेलु टोलीका लागि दुवै गोल म्याक्सवेल कर्नटले गरेका थिए । सिटीका एमरिक लापोर्टे र सर्जियो अग्विरोले गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
बायर्नको बेन्फिकामाथि शानदार जित
त्यस्तै जर्मन क्लब बायर्न म्युनिखले शानदार जित निकालेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नले पोर्चुगिज क्लब बेन्फिकामाथि ५–१ को शानदार जित निकालेको हो । बायर्नको फराकिलो जितमा आर्जेन रोवेन र रोवर्ट लेवान्डोस्कीले समान २ गोल गर्दा फ्रान्क रिवेरीले एक गोल थपे । बेन्फिकाका जेड्सन फर्नान्डिजले एक गोल फर्काए ।
घरेलु मैदान आलिआन्ज एरिनामा एकपक्षीय बनेको खेलमा बायर्नले खेलको १३औं मिनेटमा आर्जेन रोवेनको गोलबाट अग्रता बनाएको थियो । ३०औं मिनेटमा रोवेनले अर्काे गोल थप्दै अग्रता दोब्बर पारेको थियो । ३६औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले जासुवा किम्मिचको पासमा गोल गरेपछि बायर्नले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाएको थियो । दोस्रो हाफको शुरुमै बेन्फिाकाका जेड्सन फर्ना्न्डिजले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएको थियो । तर, एक गोल खाएपनि बायर्नले थप दुई गोल गर्न सफल भयो । ५१औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि खेल ४–१ को अवस्थामा पुर्याए । ७६औं मिनेटमा फ्रान्क रिवेरीको गोल गरेपछि बायर्नले बेन्फिकामाथि ५–१ को शानदार जित निकाल्यो ।
योङ ब्वाइजमाथि युनाइटेडको संघर्षपूर्ण जित
युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्वीस क्लब योङ ब्वाइजमाथि १–० को संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलमा मरौउने फेलियानीले इन्जरी समयमा गोल गरेपछि युनाइटेडले योङ ब्वाइजमाथि संघर्षपूर्ण जित निकालेको हो । फेलियानीले इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गरेका थिए । बलमा पकड जमाएपनि युनाइटेडले गोलका केही सुन्दर मौकाहरु खेर फालेको थियो । योङ ब्वाइजले पनि केही मौकाहरु खेर फालेको थियो । महत्वपूर्ण जितसँगै युनाइटेड च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । युनाइटेड समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणका पुग्न सफल भएको हो । यो समूहबाट युभेन्टस समूह विजेताको रुपमा प्रि–क्वाटर फाइनलमा प्रवेश गरेको छ ।