मेहनत साथ एउटै कुरामा निरन्तर लागे सफल अवश्य भइन्छ
स्वागत छ यहाँलाई मनका कुरामा ?
धन्यवाद ।
के गर्दै हुनुहुन्छ आजभोली ?
आजभोली भाषाको कक्षाहरु साथै हाम्रो यो नयाँ भवनको कार्यहरु अब सकिन लागेको छ यसैमा व्यस्त छु ।
यहाँको जन्म र बाल्यकालको बारेमा केही बताईदिनुहोस् न ?
मेरो नाम यम जोशी हो, पर्वत जिल्लाको सदरमुकामम कुस्मा नजिकैको गाउँ अर्मादी सानुबगर मा मेरो जन्म भयो । म एउटा साधारण किसान परिवारमै जन्मे, मेरो हाईस्कुल सम्मै शिक्षा पर्वत कुस्माकै नारायण माध्मिक विद्यालयबाट भयो त्यसपछि म पि.एन क्याम्पसमा आई पढे । म गाँउको परिवेशमा घाँसदाउरा गदैं, पशुहरु चराउँदै गाँउले परिवेशमा हुर्केको व्यक्ति, गाँउमा छदाँ देखि नै पढाईमा रुचि राख्ने व्यक्ति थिए अनि हाईस्कुलसम्मको शिक्षामा म हरेक कक्षामा प्रथम, द्धितिय र तृतिय मध्ये एउटा हुन्थे र अहिले पनि त्यो क्रम निरन्तर जारी छ ।
हुन्छ, यहाँ सामान्य परिवारमा हुर्केको व्यक्ति आज यो विश्व मैत्री भाषा जस्तो ठूलो भाषा तथा तालिम केन्द्रको एउटा संचालक हुनुहुन्छ । यहाँसम्म कसरी आइपुग्नुभयो ? कसरी सुरु भयो विश्वमैत्री भाषा ?
सबैभन्दा पहिले त म यो परमेश्वरको अनुग्रह र योजना भन्छु । किनभने हाम्रो व्यक्तिगत प्रयासले केही हुन सम्भव थिएन र विशेष गरि मचाहिँ ब्याचलर अध्ययनरत छदाँ कोरिया गए अनि कोरियामा म सोह्र वर्ष जति बिताए । हामीले यो विश्व मैत्री भाषा तथा तालिम केन्द्रलाई सानो पुँजीबाट सुरु गरेक हौँ । हामी अहिले बाह्र वर्षको दौराहानमा छौ । परमेश्वरको योजना छुट्टै हुदोँरहेछ, कोरियाको आईडि भएको व्यक्ति । मैले त्यत्ति बेला देशमा केहि गर्न पर्छ भन्ने सोचले कोरियाको स्थाई बसोबास त्यागेर आए । मैले त्यतिबेला आफुले पाउने कुरा भन्दा गुमाउने कुरा ठुलो हुन्छ कि भन्ने सोचेको थिए तर परमेश्वरको योजना छुट्टै हुदोँरहेछ, मैले यस्तो होला भनेर सोचेको पनि थिएन । म कोरियामा रहँदा खाद्यविज्ञानमा केही शिक्षा हासिल गरेँ र लगभग १३ वर्ष रेष्टुराँमा काम गरे । मैले नेपाल फर्केपछि कोरियन रेष्टुरेन्ट गर्छु, भन्नेसोचेको थिएँ । तर मेरो जीवनमा परमेश्वरको योजना छुट्टै रहेछ । हामीले परमेश्वरसँग सानो कुरा माग्छौ तर परमेश्वरले हामीलाई पोखिने गरेर दिन चाहानुहुदोँ रहेछ । कोरियाबाट फर्केर पोखरा आएपछि पोखरामा कोरियन भाषा संचालन गरिरहनु भएका मेरो साथी चुडामान गुरुङलाई भेटे । उहाँ पनि कोरियामा बसेर आउनुभएको रहेछ । त्यसपछि हामी मिलेर यो विश्वमैत्री भाषाको शुरुआत गरियो, अहिले हामीे दुई परिवार मिलेर एकले अर्कालाई प्रेममा, प्रार्थनामा उचाल्दै काम गरिराखेका छौ । बिश्वमैत्री भाषा यहाँ सम्म आउनुको कारण हामी दुइ परिवारको एकता, विश्वास र प्रार्थना नै हो । हामी सामान्य किसान परिवारमा जन्मेका हौँ । हामी यस ब्यबसायलाई ४० दिनको प्रार्थना बाट शुरु गरेका हौँ, आज यो स्थानमा पुुगेका छौँ ।
कोरियामा जाँदा यहाँको जीवन परिवर्तन भएको हामीलाई जानकारी छ, कसरी यहाँको जीवन परिवर्तन भयो, त्योे क्षण बताईदिनुहोस् न?
विशेषगरि कोरियामा काम गर्दैगर्दा काम गर्ने कोरियालीहरु ख्रीष्टियान विश्वासी नै हुनुहुन्थ्यो र केही विश्वास नगर्ने पनि हुनुहुन्थ्यो । अनि विश्वासी र अविश्वासीहरुले हामीप्रति गर्ने व्यवहारले विश्वासीहरुको जीवनमा केही निहाल्न पाए अनि उनीहरु दुवै एकै देशका कोरियन नागरिक हुन, एकथरीले एउटा व्यवहार गर्छन जो अलि ठीक थिएन तर जुन चाहिँ चर्च जान्छन् विश्वासी हुन् यिनिहरुको व्यवहार छुट्टै थियो, उनीहरुको व्यवहारमा वास्ता र माया अनि सदभाव भरिएको थियो । अनि साँच्चै यिनीहरु को रहेछन, जाने ठाँउ कहाँ रहेछ भनेर खोज्दै जाँदा म चर्चमा जान पुगे त्यहाँ मैले न्यानो माया पाएँ, असल कुरा भेट्टाएँ । नेपाली साथीहरु पनि भेटे क्रमश बुझ्दै जाँदा मैले येशूलाई पाएँ ।
आज यहाँको तालिम केन्द्रले निकै ठूलो फड्को मारेको छ भने वास्तवमा यस विश्व मैत्री भाषा तथा तालिम केन्द्रको मुख्य उद्देश्य के रहेको छ ?
यो मुलतः मुख्य उद्देश्य वेरोजगार युवाहरुलाई कोरियन भाषा पढाएर यहाँको विद्यार्थीहरुलाई कोरिया पठाउनु हो । एउटा कुरा बेरोजगारी युवालाई हामीले मिहेनतसाथ समय प्रशस्त लिएर परमेश्वरको डर र भयमा पढाएका छौ जसले गर्दा शुरुआत का दिनहरु देखि नै उत्कृष्ट परिक्षाफल हाशिल गरिराखेका छौ ।
यहाँले युवाहरुलाई कोरिया पठाउने गर्नुहुन्छ, युवाहरु अहिले वर्षेनी हजारौँ संख्यामा विदेश पलायन भईराखेका छन् । यो यहाँले अवसरको रुपमा लिनुहुन्छ कि हाम्रो देशको विडम्बनाको रुपमा लिनुहुन्छ अथवा अन्य कुनै रुपमा लिनुहुन्छ ?
एउटा कुरा त यो हाम्रो बाध्यता नै हो । रोजगारको निम्ति हामी युवापिढी विदेशीन बाध्य छौ किनभने स्वदेशमा हामीले पढे अनुसारको रोजगार पाउँदैनौ । साथै स्वदेशमै केहि गर्न चाहनेलाई अहिले केही अवसर भएतापनि अझै पनि लगानीको कमी, आर्थिक अभाव, सिन्डिकेट जस्ता कुराहरुले माथी उठ्न निकै गाह्रो पर्दछ । मेरो पालामा पनि म ब्याचलर पढेको व्यक्ति (व्याचलर पढेको व्यक्ति भनेपछि त्यति बेला धेरै पढेको व्यक्ति मानिन्थ्यो) त्यति बेला नै कोरिया गएको थिए, एउटा बाध्यता नै हो । अनि अर्को कुरा, म जस्तो व्यक्ति कोरियामा गएर पैसा भन्दापनि परिश्रम गर्न सिकेँ र अर्को महान कुरो त मैले परमेश्वरलाई चिन्ने मौका पाएँ । अनि जीवनलाई ठीक मार्गमा हिड्ने एउटा बाटो पाए । त्यसले गर्दा यसलाई मेरो जीवनमा अवसर पनि भन्न चाहान्छु ।
यहाँ धेरै लामो समय कोरियामा बसेर काम गर्नुभयो लगभग १६ वर्ष बस्नुभयो, यहाँको विचारमा कोरिया कसरी विकसित हुन पुग्यो । तपाईले बुझेको जानेको कुरा भनिदिनुहोस् न ?
अब कोरियाको कुरा गर्नुपर्दा मुलतः १९५० दखि १९५३ सम्म कोरियामा गृहयुद्ध भएको थियो । गृहयुद्ध चाहिँ कम्नुष्ट र कांग्रेसको भएको थियो । अनि अन्ततः गृहयुद्धले चरमसिमा लिएपछि कोरिया दुई भागमा विभाजन भयो । उत्तर कोरिया र दक्षिण कोरिया । अनि त्यो कोरियामा जतिबेला युद्ध विराम भयो । त्यसबेला कोरिया विश्वकै गरिब राष्ट्र, खाना नपुग्ने राष्ट्र थियो । यो देश मुख्य विकास हुनुको मुख्य कारण चाहिँ, त्यो देशमा सु–समाचार भित्रनु हो अनि त्यो देशको मान्छेले परमेश्वरलाई अपनाउनु हो । जबसम्म अपनाएका थिएनन् त्यो देशमा मानिसहरु गरिबै थिए, जब त्यस देशका मानिसहरुले परमेश्वरलाई अपनाउन थाले त्यो देश एका–एक विकास हुन थाल्यो, विश्वास बड्न थाल्यो, एकता बड्न थाल्यो अनि परमेश्वरको डर र भयमा हिड्न थाले । त्यसैले त्योे देश विकाश हुनुमा प्रमुख कारण चाहिँ परमेश्वरको डरमा हिडेर धेरै मानिसले परमेश्वरलाई चिनेको कारणले नै हो भन्ने म बुझ्दछु । किनभने अब १९६० को दशक तिर कोरिया विश्वकै गरिब देश मानिन्थ्यो भने अहिले विश्वकै सातौँ धनि राष्ट्रमा पर्दछ । अनि त्यहाँका मानिसहरु मिहेनती पनि छन, आफ्नो देशलाई माया पनि गर्छन आदि कारणले कोरिया विकासमा अगाडि बढेको देख्दछु ।
यहाँले भन्नुभयो त्यहाँका मानिसहरुले देशको माया पनि गर्छन र काम पनि गर्छन । हामी नेपालीहरुमा यो श्रमको सम्मान भन्ने कुुरा चाहिँ गर्न नजानेका हौँ वा के कुराको कमि छ किन हामी बढी फुर्स्दिला छौँ ? मानिसहरु अहिले आफ्नो देशमा काम गर्न खोज्दैनन् तर बाहिर देशमा भने जे पनि गर्न तयार हुन्छन, किन होला ?
मुख्य हाम्रो देशमा श्रमका धेरैे अवसर नै छैन । अब श्रमको अवसर भएता पनि श्रम अनुसारको परिश्रामिक छैन । यदि यहि ठाउँमा पनि हामीले बालुवा बोकेर दिनमा पाँच हजार कमाउँछौ भने हामीले पनि गर्छौ, लाजै मान्दैनौ किनभन पैसा छ नि त । दिनभरी काम गरेर पाँच सय थापेर बालुवा बोक्न हामी सक्दैनौ । यो देशमा सबैभन्दा पछाडि परेको कुरा के हो भनेहामि आफ्नो काम गर्न लाज मानेर पनि हो । दक्षिण कोरियामा जाने नेपालीमा के पाउँदछु भने कोरियामा एकदमै कडा काम गनुर्पछ । अन्य देशमा काम गरेभन्दा कोरियामा धेरै काम गर्नुपर्छ । मैले केहि समय अगाडि अष्ट्रेलिया गएको थिए, त्यहाँ एकघण्टा काम गरेबापत नेपाली लगभग दुईहजार भन्दा बढी पैसा पाइँदो रहेछ भने कोरियामा एकघण्टा काम गरेबापत जम्मा एकहजार भन्दा पाईदैन किनभने त्यहाँ रोजगारको प्रशस्त अवसर छ । अब अष्ट्रेलियामा पाँच घण्टा भन्दा बढि काम गर्दैनन् भने कोरियामा अठार बीस घण्टा काम गर्छन । त्यसको पछाडि के छ भने कोरियामा काम गरे अनुसार पारिश्रमिक पाइने भएकोले काम गर्न पछि पर्दैनन् अब नेपालमा काम गरेपनि पारिश्रमिक त्यति उचित मात्रामा छैन । यहाँ कमाएको पैसाले यहाँ नै कमाउछँन र यहाँ नै रमाउछन्, बचत हुदैन । तर कोरिया यस्तो देश हो जहाँ मजदुरलाई खान र बस्नको व्यवस्था छ । अनि बचाउन चाहनेले शत प्रतिशत पनि बचाउन सक्छन् र त्यसैले यहाँबाट हामी नेपालीहरु नेपालमा रहेर हाम्रो काममा अलिकति लाज मान्न, परिश्रम गर्न हिच्किच्याउनु त्यो हाम्रो कमजोरी हो र हामीलाई पछाडि पार्नु त्यो हाम्रो कमजोरी हो । मेरो सन्दर्भमा भन्ने हो भने म जब कोरियाबाट फर्के म आफै काम गर्न लाज मान्दिन किनभने म कोरियामा त्यस्तै काम गरेर आएको हुँ । विदेशमा गएर त्यस्तो काम गरे भने स्वदेशमा किन त्यस्तो काम नगर्ने भनेर मेरा पाटोमा हेर्ने हो म लाज मान्दिन, अहिले म लगभग पचास वर्षको भए म अझै पनि दैनिक दश घण्टा पढाउँछु । काम सबै समान हुन्छ र त्यसको सहि मुल्यांकन हुनुपर्दछ भनि म ठान्दछु । जहाँ फोहोर हुन्छ, त्यहाँ मोहोर हुन्छ भन्ने कुरा बिर्सन हुदैन ।
अहिले यहाँको विचारमा कोरियाबाट फर्केका युवाहरुमा कस्तो खालको परिवर्तन हुन आएको छ । उनीहरुको श्रममा, सीपमा र ज्ञानमा के–कस्तो परिवर्तन देखिन्छन ?
कोरियाबाट फर्केका नेपालीहरुले अन्य देशको तुलनामा राम्रै गरेका छन् । किनभने हामीले पढाउने बेलामा, जाने बेलामा पनि हामीले सम्झाउँदै पैसा मात्र कमाउने होइन कोरियाबाट फर्कदा नेपालको लागि चाहिने सीप सिकेर आउनुपर्छ जसलाई हामीले भावी जीवनमा के गरेर बस्न सक्छौ भनेर शिक्षा दिन्छौ । अनि अब कोरियामा गएर आएका नेपालीले अब नगन्य रुपमा कोरियामा गएर बिग्रने मान्छेहरु पनि छन् किनभने त्यो एकदमै स्वतन्त्र राष्ट्र हो । त्यहाँ महिनाभरि कमाएको पैसा एकैदिनमा सकाउने ठाउँहरु पनि छन् यद्यपि अधिकाशं मानिसहरु कोरियामा गएर परिश्रमी भएर आएका छन् । विशेषगरि कोरियाबाट फर्केका नेपालीहरु उदाहरणीय हिसाबले के सम्झिन् सक्छौ भने पोखराको रिठ्ठेपानीमा श्याम थापा भन्ने एकजना साथीले एकदमै नेपालकै उदाहरणीय बङ्गुर फार्म गर्नुभएको छ । उहाँ अहिले विभिन्न रास्ट्रिय पुरस्कारहरुबाट सम्मानित हुनुहुन्छ र सरकारबाट पनि ठुलो अनुदान प्राप्त गर्नुभएको छ । अहिले उहाँको कम्पनीमा बीस–पच्चीस जना काम गरिरहेका छन् । उहाँले लगभग दुईहजार भन्दा बढि बङ्गुर पाल्नुभएको छ । त्यसैगरी कोरियामा काम गरेर फर्केका नेपालीले कृषिफर्ममा लगानी गरेका छन्, पशूपालनमा लगानी गरेका छन । अनि कोरियासँग सम्बन्धित नेपालमा काम लाग्ने उद्योगमा लगानी गरेका छन । अन्य देशको तुलनामा कोरियामा जानेहरुले एउटा परिश्रम, सीप र केही न केही नेपालको लागि काम लाग्ने केही कुरा सीकेका छन् । यो राष्ट्रका लागि पनि ठुलो उपलब्धि हो ।
यो देशले सँधैभरि युवाहरुलाई बाहिरमात्रै पठाईराख्ने हो वा देशमा स्वरोजगारीका केही अवसरहरु सृजना गरेको यहाँ चाहनुहुन्छ ?
व्यक्तिगत रुपमा भन्नुपर्दा वर्षेनी युवा शक्ति विदेशीनु कालान्तरमा यो राम्रो कुरा होइन । यो बाध्यता हो, हामी नेपालीहरु वर्षै्पिच्छे बाहिरीनुपर्ने । सरकारले मुख्य कुरो त दिगो शान्ति हुने एउटा लामो समयसम्म रहने सरकार आउनु पर्छ । त्यो दुई–चार महिना रहने एक–दुईवर्ष रहने सरकारले देश विकास हुन सक्दैन । हामीले विदेशको इतिहासलाई हेर्न सक्छौ, इन्डोनएसियामा सुवार्थको शासन ३२ वर्षसम्म चल्यो, हामीले कोरियाको इतिहासलाई हेर्न सक्छौ त्यहाँ पाचुङ्गी भन्ने राष्ट्रपतिले १८ वर्ष शासन गर्नुभयो । त्यो चाहि विकासको शुरुवात हो । अनि हामीले थाईल्यान्डको विकासलाई हेर्न सक्छौ । जुनैपनि देशको विकासलाई नियाँल्याैँ भने त्यहाँको सरकार कम्तीमा पनि दश वर्ष भन्दा लगातार शासन गरेको कारणले हो । कुनैपनि देशमा विकास गर्नलाई नयाँ दर्शन बोकेको एउटा सरकारले लामो समय व्यक्तिगत स्वार्थबाट टाढा रहेर काम गर्न सक्यो भने पक्कै पनि हामी जस्तो युवा पिँडीहरु वर्षेनी विदेशीनु पर्दैन ।
अहिले वर्तमान सरकारबाट युवाहरुको लागि के–कस्तो सेवा–सुविधाहरु, अवसरहरु सृजना होला भन्ने आशा गर्नुभएको छ अथवा सरकारले के–कस्ता सुविधाहरु सृजना गरिदिए वर्षेनी विदेश पलायन हुने युवाहरु आफ्नै देशमा रहेर रोजगारी गर्थे ? के–कस्ता अवसरहरु सृजना गर्नुपर्छ होला?
केही समय अगाडि म सिङ्गापुर भम्रणमा थिए । सिङ्गापुर सानो देश जहाँ दुई घण्टामा टयाक्सीको यात्रामा घुमेर सकिने रहेछ । अनि सिङ्गापुरमा उब्जने भनेको खुसार्नी पनि उब्जने नरहेछ, अन्नबाली त छुट्टै कुरो हो । अनि त्यहाँको सबै प्रमुख आयस्रोत भनेको पर्यटन हो । त्यसलाई पर्यटन क्षेत्रमा विकास गरेर विश्वकै पर्यटकहरु घुम्न आउने देश भएको छ । प्रमुख आयस्रोत भनेको त्यहाँको पर्यटन हो । विश्वकै एक–दुईवटा देशहरु भन्दा सबैलाई फ्रि–भिजा बनाईदिएको छ । त्यो देशले आफ्नो देशको स्रोत र साधनको प्रयोग त्यता तिर गर्यो, पहिचान गर्यो । अब आफ्ना देशमा के छ, के छैन भनेर सरकारले छुट्टयाउन सक्नु प¥यो नि ! मैले यो दुईचारवटा देशमा घुम्ने क्रममा नेपालमा के पाएको छु भने नेपाल बिकासका लागि प्रचूर सम्भावना भएको देश हो । यदि हामीले पर्यटन क्षेत्रलाई, कृषि क्षेत्रलाई राम्रोसँग अगाडि बढाउन सकियो भने विश्वकै पयर्टनहरुलाई नेपालमा भित्रयाउन सक्छौ । हामी बसी–बसी विश्वकै डलर कमाउन सक्छौ । तर यहाँ अब यो देशमा सम्भाव्य पर्यटनलाई लोभ्याउने पुर्वधारहरुको विकास गर्न सकेका छैनौ । पर्यटनको क्षेत्रमा यातायातको असुविधा छ, अब एउटा पर्यटक काठमाँडौबाट बस चढेर पोखरा आयो भने ऊ कहिले पनि नेपाल फर्कैदैँन । किनभने त्यो यात्राको त्यति नै दुःख छ र कुनै पनि देशमा विदेशीलाई त्यो देशमा छुट दिन्छ भने हाम्रो देशमा विदेशीलाई कर लाग्छ, लुट्ने कार्य हुन्छ । कोरियामा म बजारमा केही किन्न गए भने यो त विदशी हो, घुम्न आएको हो भनि छुट दिइन्छ भने र यहाँ यो नेपालमा विदेशी हो भने एउटा मिनिरल पानीलाई पाँच डलर भन्ने चलन छ । त्यो कुरा उनीहरुले वास्तविक रुपमा बुझे भने उनीहरु नेपाल फर्कर्दैनन् । अनि यो देशमा पर्यटनको एकदमै सम्भावना भएको देश हो । विश्वकै सुन्दर देश हो नेपाल । हामी विदेशी भम्रण गर्न जान्छौ, रमाइलो गर्न जान्छौ तर हाम्रो देश जस्तो रमाइलो देश अरु कुनै पनि छैन, विहान उठ्छौ हिमाल देख्छौ, नदीनाला प्रशस्त छन्, हरियाली जङगलहरु छन्, ताल पखेराहरु र लोभ्याउने प्रशस्त ठाँउहरु छन् । तर तिनको राम्रोसँग प्रबन्ध गर्न सकेका छैनौ । हामीले हाम्रो स्रोतसाधनहरुलाई प्रयोग गरेको खण्डमा यो देशको मानिसहरुले विदेशको मुख ताक्नु पर्दैन, यो देशमा हामीले घरमै बसी–बसी डलर कमाउन सक्छौ ।
भनेपछि यो देशमा रोजगारको बाटोहरु, सम्भावनाहरु धेरै नै छन तिनको उपयोग गर्नुपर्याे, कसरी गर्न सकिएला यहाँको विचारमा ?
विशेषगरी यहाँको शासकहरुले विदेशमा गएर सिकेर आउनुपर्छ । यहाँका शासकहरु सबै पुराना विचारका छन्, पुराना विचारहरु उनले फाल्न पनि चाहँदैनन् र नयाँ कुरा ल्याउन पनि चाहँदैनन् । कोरियाको विकासलाई हेर्ने हो भने, पाचङ्गी भन्ने राष्ट्रपतिले एकपटक अमेरिका, युरोपको भम्रण गरेर आएपछि देश त यसरी पनि विकास गर्नुपर्दो रहेछ भनेर सिकेर आएपछि लागु गरे । हाम्रो देशमा त कोही भम्रणमा जानुपर्यो भने जम्बो टिम लिएर जान्छन, देशको ढुकुटी सिध्याएर आउछन् फाइदा केही पनि छैन भएपनि एकदमै न्यून छ । उल्टै नेपालको अहित हुने कुरामा सन्धि गरेर आउँछन् । किनभने विदेशमा भम्रणमा जान्छन् भने केही न केही फाइदा लिएर आउनुपर्यो नि देशको लागि । उनीहरुको व्यक्तिगत स्वार्थको लागि मात्र गएर त भएन । यहाँ जुनसुकै मान्छेहरु जान्छन् तर उहाँहरु चाहिँ व्यक्तिगत स्वार्थहरु पुर्ति गरेर आउँछन् र आफ्नो देश र जनताको निम्ति र केही न केही नयाँ पाटो सिकेर आउनुपर्यो । त्यसकारण यो देशको विकास गर्नलाई युवापिढीलाई देशको शासन मौका दिनुपर्छ । उनीहरुले केही न केही गर्न सक्छन् । पुराना मष्तिष्क भएका व्यक्तिहरुले दशै वर्ष सरकार चलाए पनि केहि गर्न सक्दैनन् ।
यहाँ एउटा मण्डलीको अगुवा पनि हुनुहुन्छ, नेतृत्व गर्ने व्यक्ति पनि हुनुहुन्छ । यहाँले मण्डलीको सेवकाई र यो व्यवसायको क्षेत्रलाई कसरी सँगसँगै लगिरहनु भएको छ ? तपाईले ख्रीष्टियान व्यापारीहरुलाई कस्तो सन्देश दिन चाहानुहुन्छ ? कसरी गर्नुपर्छ ? परमेश्वरको सेवा र आफ्नो काम ?
हाम्रो मष्तिष्कमा पनि के कुराको जानकारी हुनुपर्छ भने अब अहिलेको अवस्थामा कतिपए अगुवाहरुले राजनीति गर्नुहुन्न, व्यापार गर्नुहुन्न भन्ने सोच छ होला तर मेरो विचार ख्रीष्टियानले राजनीति गर्नुपर्छ, ख्रीष्टियान कुर्चीमा पुगे पो उसले परमेश्वरको डर र भयमा देशको लागि प्रार्थना गरेर अगाडि बढ्छ । किनभने उसले घुस खान, अर्कालाई छल्न, नराम्रो काम गर्न डराउँछ । हामीले आफ्नो व्यवहार र बोलीवचन असल बनाउनुपर्दछ । बाहिरको मान्छेले हाम्रो जीवनद्वारा हामी ख्रीष्टियान भनेर चिन्नुपर्यो के । किनभने हामी परमेश्वरको आखीँ झ्याल हौँ । हाम्रो माध्यमबाट तिनीहरुले परमेश्वरलाई देख्छन । अब चाहि हाम्रो जीवनबाट बाहिरको मानिसले ख्रीष्टलाई चिन्नुपर्छ । त्यसैले मैले पनि यहाँ काम गर्दै गर्दा के सोच्छु भने विद्यार्थी पढाउँदै गर्दा मलाई सबैभन्दा ठूलो डर लाग्छ कतैे म विद्यार्थीहरुलाई भर्ना गरेर उचित पढाएको छ वा छैन । विचरा गाँउबाट कस्तो किसिमले पढ्न आईराखेका छन्, खर्च भई नभई, कति त ऋणको भरमा, कति त धान बेचेर, कोदो बेचेर, घरका पशु बेचेर अथवा बन्धकी राखेर पढ्न आएका छन् । अनि मेरो धारण के हुन्छ भने परमेश्वरको डर र भयमा पढाउने, सकेसम्म मेरो जीवनबाट परमेश्वरलाई चिन्न सकुन । अनि मैले यो काम गरेको लगभग १२ वर्ष भयो, कुनैपनि व्यक्तिले मेरो बारेमा औँला ठडाउने ठाँउ छैन जस्तो लाग्छ । किनभने मैले कुनै पनि व्यक्तिको परिश्रमलाई त्यत्तिकै खाएको छैन ।
अन्त्यमा यहाँले सबैलाई, विशेष गरेर युवाहरुलाई जसले केही गर्न चाहन्छन्, जसले भविष्यमा सपना बोकेका छन् उहाँहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
अबको नयाँ पिढीलाई, नयाँ युवालाई, यहि भन्न चाहन्छु कि सपना देख्नुपर्दछ अनि मात्र पुरा हुन्छ । हामी अत्यन्तै मेहनत साथ लक्ष्य लिएर एउटै कुरामा निरन्तर लागि पर्नुपर्दछ अनि सफल भइन्छ आफ्नो काममा, आफुले पाएको जिम्मेवारीमा इमान्दार हुनुुपर्दछ, अनि मात्रै देश उभोँ लाग्दछ । हामी वर्षेनी एकदमै मिहेनतसाथ पढाउँछौ अनि सुरुका वर्षदेखि नै हाम्रो फल पनि रामरो लाग्दै आएको छ । अहिलेसम्म नेपाली युवाहरु धेरै कोरियामा पुगेका छन् । आउँदो दिनमा पनि यसलाई हामि निरन्तरता दिनेछौं । हामीलाई यहाँहरुको प्रार्थनाको खाँचो छ ।