साफ च्याम्पियनसिपः आज नेपाल र भुटान खेल्दै

खेलकुद मुख्य समाचार

ढाका – बंगलादेशमा भैरहेको साफ च्याम्पियनसिप (साफ सुजिकी कप) मा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । नेपाल पाकिस्तानसँग अन्तिम समयमा गोल खादै २–१ ले पराजित भएको थियो । यस्तोमा नेपाल पहिलो जितका खोजीमा हुनेछ । जारी साफ च्याम्पियनसिपमा रहिरहन नेपाललाई भुटानविरुद्धको खेलमा निश्चित जित आवश्यक छ । बराबरीले अर्काे चरणको सम्भावना न्युन रहदा हारले भने नेपालको यात्रा फेरि समूह चरणबाटै टुंगिनेछ । नेपालले अघिल्लो साफमा पनि समूह चरण पार गर्न सकेको थिएन । भुटानविरुद्धको खेलमा नेपालले अहिलेसम्म हार बेहोरेको छैन । साफमा दुईपटक आमनेसामने हुदा दुवै खेलमा नेपाल विजयी हुन सफल भएको छ । नेपाली टिमका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्धको जितबाहेकको विकल्प नरहेको बताएका छन् । यता, भुटान पनि समूहमा अंकविहीन रहेकाले पहिलो जित निकाल्दै दोस्रो चरण पुग्ने सम्भावना जीवितै राख्ने योजनामा हुनेछ । भुटान पहिलो खेलमा आयोजक बंगलादेशसँग २–० ले पराजित भएको थियो । नेपालविरुद्धको खेलमा भुटानका २२ वर्षीय फरवार्ड चेन्चो ग्याल्जेन मुख्य हतियार हुनेछन् । चेन्चो भारतीय आइ लिग क्लबबाट व्यावसायिक फुटबल खेल्ने गर्दछन् । बंगलादेशविरुद्धको खेलमा उनी बंगाली डिफेन्डरको मार्कमा रहँदा खुलेर खेल्न सकेको थिएन । भुटानका प्रशिक्षक ट्रिभोर मोर्गानले दुवै टोलीले पहिलो खेल गुमाएका कारण खेल खुल्ला हुने बताएका छन् । समूह ‘ए’ मा नेपाल र भुटान अंकविहीन हुदा बंगलादेश र पाकिस्तानले समान ३ अंक जोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *