परमेश्वरसँग मानवलाई मिलाप गराउन येशूको जन्म भयो
धर्म भनेको के हो ?
धर्म भनेको असल कर्म गर्नु हो, मेरो विचारमा असल काम गर्नु नै धर्म हो ।
धर्ममा विश्वास राख्नेले अथवा धार्मिक आस्था राख्ने सबैले के असल कर्म नै गरेका छन र ?
अब सबैको ग्यारेन्टी त म लिन सक्दिनँ, किनभने मेरो आफ्नै विचार के छ भने मेरो आफ्नै हातको पाँचवटा औँला पनि बराबर छैन, कति व्यक्तिहरुले धर्मको नाममा आफ्नै स्वार्थ पुरा गर्दछन तर जो व्यक्ति यसमा लागेर असल काम गर्छु भनेर अगाडी बढ्छ भने निश्चित रुपमा त्यसको लक्ष्य असल काम गर्ने हुनुपर्दछ ।
अहिले संसारमा धर्मकै नाममा द्वन्दहरु पनि बढिरहेको छ, यदि यो असल कर्म हो भने द्वन्द नहुनुपर्ने होइन र ?
यहि नै अहिले दुर्दशाको कुरा भईरहेको छ, धर्मकै कारणले द्वन्दहरु पनि भईरहेको छ । धर्मको परिभाषा त असल कर्म हो तर असल कर्म गर्न पनि मानिसहरु आज द्वन्द गरिरहेका छन । विशेषगरी मानिसहरु सबैको आ–आफ्नो पृथक विचार हुने र सबैले कुनै पनि कुरालाई यसरी गर्दा राम्रो हुन्थ्यो भन्ने विचार राख्दा सबैको आ–आफ्नो सिद्धान्त र विचार अमेल हुने हुँदा यसले बेला बेलामा द्वन्दको सिर्जना गर्दछ ।
येशुको जन्म धार्मिक कारणले भयो वा त्यतिबेलाको परिवेशले गर्दाखेरि यहाँले भन्नुभएको कुरा उठाउन उहाँ बाध्य हुनुभयो ?
म यो कुरालाई स्पष्टसँग बताउन चाहन्छु कि प्रभु येशू ख्रीष्ट यो संसारमा कुनै धर्म सम्प्रदाय वा समुह खडा गर्ने उद्धेश्यले आउनुभएको होइन, उहाँको स्पष्ट उद्धेश्य परमेश्वर र मानिस बिचको दुरीलाई हटाउन आउनुभएको हो । किनभने परमेश्वर पवित्र हुनुहुन्छ तर मानव जाति भ्रष्ट छ र यसले धेरै दुरी बनाउँछ तर येशू ख्रीष्ट यो दुरीलाई मेटाउन यो संसारमा आउनुभयो । उहाँ साघँु बन्न आउनुभयो कुनै धर्म सम्प्रदाय खडा गर्न होइन । उहाँकै समयमा पनि उहाँका धेरै अनुयायीहरुले उहाँलाई यहुदीहरुको राजा बन्नुपर्दछ भन्न खोजे तर उहाँले त्यो राजगद्दीलाई इन्कार गरी आफु सबै मानव जातिको लागि यो संसारमा आएको भन्ने कुरा गर्नुभयो । उहाँ जन्मनुभएको नै परमेश्वर र मानिसलाई मिलापमा ल्याउनको निम्ति नै हो ।
यहाँले मिठो कुरा ल्याउनुभयो, मानव भ्रष्ट भए तर परमेश्वर पवित्र हुनुहुन्छ, कुनै पनि धर्मको सैद्धान्तिक पक्षलाई हेर्दा नराम्रो कुरा छैन तर अनुयायीहरुले त्यसलाई व्यवहारमा नल्याएर अहिले संसारमा समस्या भएको हो वा के हो ? यदि परमेश्वर हुनुहुन्छ भने अहिले मानिसहरु धेरै कष्टमा छन दुःखमा छन किन होला ?
म ईसाई पाष्टर भएता पनि हरेक धर्मग्रन्थहरुलाई म सम्मान गर्दछु । मेरो हृदयमा सबैलाई सम्मान छ किनभने हरेक धर्मले यहाँले भनेजस्तै चोरी गर्न, लुट्न, व्यभिचार गर्न, हत्या गर्न वा नराम्रो काम गर्न सिकाउँदैन । हरेक धर्मको उद्धेश्य असल मानव समाज, नैतिक चरित्रवान समाज निर्माण गर्नु हो । मानिसहरुले आज शिक्षा त दिन्छन नै तर व्यवहारमा भने उतार्दैनन । उनीहरु मानिसहरुलाई त सिकाउँछन तर आफुले पालन गर्दैनन । बाइबलमा मत्ति २३ अध्यायमा तिमीहरु अरुलाईचाहिँ बोक्न नसक्ने भारी भारी नियमहरु काँधमा राखिदिन्छौ तर आफुले भने एक औलाले पनि त्यसलाई उचाल्न खोज्दैनौँ भनेर भनिएको छ, यो नियम के तिमीहरुको लागि होइन र भनेर भनिएको छ । येशू ख्रीष्टले त्यो बेलामा यो कुरा धर्मगुरुहरुलाई चुनौती दिँदै भन्नुभएको थियो । उहाँ पनि एउटा चुनौतीपुर्ण समयमा समाजलाई यसरी जाउँ भन्ने बाटो तयार गर्दै हिड्नुभएको थियो । त्यसकारण मानिस परमेश्वरबाट टाढा भएकोले उसमा दुःख कष्ट आएको हो ।
येशू ख्रीष्टले त उत्पीडित र अन्यायमा परेका मानिसहरुको उद्धार गर्न आउनुभयो तर फेरि उहाँका अनुयायीहरुले यसलाई धार्मिक रंग दिए नि ?
मैले माथी नै भनिसके कि येशू ख्रीष्ट कुनै धर्म संस्था खडा गर्न आउनुभएको होइन । उहाँको मुख्य उद्धेश्य नै परमेश्वर र मानिस बीचको मिलाप गर्नु रहको छ । साथै उहाँले आज्ञा पनि गर्नुभएको छ कि जे जे मैले गरेँ तिमीहरुले पनि त्यो काम गर्नु, मैले तिमीहरुलाई जे जे सिकाएँ तिमीहरुले पनि अरुलाई त्यो सिकाउनु । यसरी नै तिमीहरु गुणात्मक रुपमा वृद्धि हुँदै गयौ भने मानव सभ्यता राम्रो हुन्छ, मानव समाज असल हुन्छ । शिक्षा चाहिँ संकुचित भएर आफुमा मात्र नराख्नु यसलाई बढाउँदै लैजाउ भन्नुभयो । जब मानिसहरु बढ्दै गएपछि त्यो जमात तथा समुहलाई अगाडी व्यवस्थित रुपमा लैजान त कार्यनिति चाहियो र यहि क्रममा नै ख्रीष्टियनिटी अगाडी बढ्यो ।
मानिस राम्रो बन्न, नैतिकवान वा चरित्रवान बन्न के धर्मसँगै जोड्नुपर्छ अन्य कुराले सकिन्न र ?
यहाँको कुरालाई पनि सहमति जनाउँदै धार्मिक कुराले मात्र नैतिकवान बन्न सकिन्छ भन्ने कुरालाई म पनि शतप्रतिशत ठीक हो भन्दिन । तर यो धार्मिक कुरा भनेका कस्तो भन्नुहुन्छ भने, यो कुराले जीवन हुँदा त मार्गनिर्देशन गर्छ नै र धार्मिक आस्थाले जीवन पर्यान्त पनि केहि आशा छ भन्ने सन्देश दिन्छ । यसकारण जीवन छँदा पनि यसले डोर्याउने काम गर्यो भने जीवन पछि पनि आशा दिने काम गर्यो नि ।
कस्तो आशा हो त्यो, यो त अहिलेसम्म कसैले भोग गरेको त सुनिदैन ?
सबै धर्मले आफ्नो सिद्धान्त र मर्म बोकेर हिँडेको हुन्छ । उनीहरुको केन्द्रबिन्दु भनेको मरेपछि असल गर्नेले स्वर्ग र नराम्रो गर्नेले नर्क जान्छ भन्ने मान्यता बोकेर हिड्छन । अब स्वर्ग गएर को आयो अथवा नर्क देखेर को आयो भन्ने कुरा त हामी भौतिकवादी चिन्तन तथा बैज्ञानिक विचारद्वारा हेर्न थालियो भने त यो गाह्रो छ । यो धार्मिक कुरा अध्यात्मिक चिन्तन भयो भने भौतिक कुरा भौतिक चिन्तन भयो र यो धार्मिक र भौतिक चिन्तनका कुरा त एक अर्कामा मतभेद हुने कुरा भयो । भौतिक चिन्तन भएका मानिसका लागि त आत्मिक कुरा हावामा कुरा गरेजस्तै हुनेभयो । उनीहरुको लागि सबै कुरा देख्नुपर्ने हुनुपर्दछ । तर धार्मिक मानिसले विश्वास गर्दछ र हृदयमा त्यो कुरालाई ग्रहण गर्दछ ।
भनेपछि यो अनुभुति गर्ने कुरा मात्र भयो ?
अनुभुति गर्ने कुरा हो तर यो विश्वास गर्ने कुरा पनि हो । हामीले आफुलाई पनि विश्वासी भनेर चिनाउन मन पराउछौँ । हामी धर्मशास्त्र बाइबल अनुसार नदेखेका
कुराहरुमाथी विश्वास गर्ने मानिसहरु हौँ ।
यहाँले आफुलाई विश्वासी भनेर भन्नुभयो, आजको समयमा कुनै मानिस वा नागरिकले येशू ख्रीष्टमाथी किन विश्वास गर्ने ?
बाइबलको बाटो अर्थात येशू ख्रीष्टको जुन बाटो छ यो अत्यन्तै सरल, सुगम र स्पष्टसँग बुझिने बाटो छ । यसमा स्पष्ट छ कि येशूमा विश्वास गरेपछि मुक्ति र उद्धार निश्चित पाईन्छ । यसको लागि हामीले केहि जटिल कार्य गर्नुपर्दैन । येशू आफैले यसलाई कमाएर राखिदिनुभएको छ । यसको लागि हामीले घरबार त्याग्नुपर्ने, जिविकै छोडेर कतै जानुपर्दैन, आफ्नै समाज र देशमा बसेर समाज र कानुनले अनुमति दिएको काम गर्ने, मिहनेत र परिश्रम गर्ने, आफ्नो परिवार र समाजलाई टेवा दिने, सम्मानित जीवन जिउने, देशको लागि केहि गर्ने र समाजमा नुन र ज्योति बन्ने काम गर्नुपर्दछ । हामीले आफु नुनझैँ विलिन भएर परिवार, समाज र देशलाई स्वाद दिने काम गर्नुपर्दछ ।
यहाँ एउटा अगुवाई गर्ने व्यक्ति हुनुहुन्छ, के विश्वासीले त्यो लक्ष्य समातेका छन ?
यो कुरामा म के भन्न चाहन्छु भने यो बाटोमा आउने धेरै व्यक्तिहरु जीवनमा ठूलो घटना घटेर, चोट पाएर वा कतै न कतै ठक्कर खाएर आएका धेरै छन । उनीहरुको
जीवनमा ठूलै उतारचढाव भएको कारणले नै उनीहरुले यो बाटो अपनाएको साक्षी हामीले पाउँदछौँ । धेरै मानिसहरु निराशाको अवस्थामा कुनै पनि आशा नपाएर
येशूमा आएको घटना हामीले पाउँदछौँ । त्यसैले धेरैले यो खालको लक्ष्यलाई व्यक्तिगत रुपमा अँगाली समाजमा फेरि राम्रो जीवन जिईरहेको उदाहरण हामी पाउँदछौँ । नेपालमा धर्म निरपेक्षता घोषणा भएता पनि यो
विषयमा अझै पनि विवाद कायमै छ, धर्मप्रचारको कुरालाई ईसाईमतसँगै जोडेर हेरिन्छ, के कसैलाई धर्म परिवर्तन गराउन आवश्यक छ र ?
यो कुरालाई म एकदमै संवेदनशिल रुपमा लिन्छु । यो कुरा मेरो मनमा पनि मैले केहि बोल्नुपर्छ भन्ने विषय अन्तर्गत को हो । यो धर्म परिवर्तन गराउन जरुरी छ र
? भन्ने शब्दलाई म स्पष्ट रुपमा अलि सुधार्न चाहन्छु कि ईसाईहरु धर्म परिवर्तन गराउनेहरु होइनन है ! यो कुरालाई गलत तरिकाले नबुझिदिनुहोला । किनभने
मेरो परिभाषा यो हो कि धर्म परिवर्तन भनेको धर्मबाट अधर्ममा जानु हो, धर्मबाट कुमार्गमा जानु हो । मैले पहिले नै भनिसके कि, ख्रीष्टियनहरुले कहिले पनि परिवार,
समाज र देशको विरुद्धमा काम गर्दैनन र सिकाइएको पनि हुन्न । ख्रीष्टियनहरु अरुलाई भलो चिताउनु पर्छ, आफ्नो छिमेकीलाई आफुलाई जस्तै प्रेम गर्नुपर्छ भन्ने भावना बोकेर अगाडी बढ्ने समुह हो । बाइबलले पनि हामीलाई यहि सिकाउँछ कि गएर ज्योति बालिदेउ, स्पष्ट रुपमा बताईदेउ तर कसैलाई पनि जबर्जस्ती नगर । यदि कसैले जोरजबर्जस्ती गर्छ भने त्यो ठीक होइन । यदि कसैले प्रलोभन देखाउँछ, करकाप गर्छ भने यो कुरामा मेरो पनि सहमत छैन । र यो कुरालाई बाइबलले पनि अनुमति दिन्न । मैले भन्न चाहन्छु कि प्रेम गर्ने कुरालाई, प्रेम प्रस्तुत गर्ने माध्यमलाई चाहिँ गलत परिभाषा नदिइयोस, यदि कोहि धनि दयावान व्यक्तिले कोहि समस्यामा परेको, अभावमा भएको मानिसलाई आफ्नो हृदयदेखि केहि सहयोग गर्छ भने त्यसलाई ख्रीष्टियनले प्रलोभन देखाएको परिभाषा नदिईयोस ।अर्को कुरा पनि म भन्न चाहन्छु कि म हरेक धर्मलाई सम्मान गर्छु सबैले असल कुरा नै सिकाउँछन र हामी पनि यो पवित्र धर्मशास्त्र बाइबलको सिद्धान्त प्रभुको बारेमा सुनाउँछौँ र कोही मान्छे आफ्नै स्वइच्छाले आउँछ भने त्यसमा हामीले उहाँहरुलाई स्वागत नगर्ने त !
मैले सामाजिक सन्जालमा भेटको थिएँ , एकजना मित्रले लेख्नुभएको थियो कि, धेरैले “मेरी ख्रीष्टमस”, ह्याप्पी ख्रीष्टमस भन्दै सन्देश पठाए तर मैले जवाफ दिइन, कारण उनीहरुले पनि ह्याप्पी दशैँ, तिहार भन्दा कुनै प्रतिक्रिया जनाउनुहुन्न । के ख्रीष्टियान हुँदैमा अन्य धर्मावलम्बीको चाडमा खुसी बाड्न नहुने हो ?
खुसी त जति बाड्यो त्यति बढ्छ, खुसी सबैले बाड्नुपर्दछ । हो हाम्रो खुसी बाड्ने तरिका केहि फरक होला, केहि पृथक हुन सक्छ । म स्वयं आफै केहि भिन्न पृष्ठभुमिबाट यसमा आएको हुँ, यसमा म धर्म नै परिवर्तन गरेर आएको त होइन । अब जीवन जिउने बाटो परिवर्तन गरेर म आएँ । तर पनि हामी समाजमा मिलेर बसेपछि धेरै साझा कुराहरु जस्तै विवाह, पार्टीहरुमा एक अर्कालाई बोलाउने काम हुन्छ, हामी त्यसमा सरिक हुन्छौँ । उनीहरुसँग मेरो राम्रो भाईचारा छ, प्रेम छ । उत्सव मनाउने क्रममा यहि हो कि हामीले मदिराजन्य पदार्थ प्रयोग नगर्ने, धेरै तडकभडक नगर्ने काम हुन्छ र हामी अलि फरक देखिन पुग्छौँ । तर खुसी साटसाट गर्ने काम चाहिँ गर्न नमिल्ने होइन ।
नेपालमा ख्रीष्टियान अनुयायीहरु दिनप्रतिदिन बढ्दै छन, साथै बाहिरी देशमा युरोप अमेरिकातिर पनि प्रशस्तै अनुयायीहरु छन तर नेपालमा कट्टरता
अलि बढी छ तर बाहिर त्यति पाईदैँनन नि ?
म नेपाली ख्रीष्टियान हुँ र म भन्छु कि हामी नेपालीहरुले जे गर्छौँ, दिल देखि नै गर्छौँ, कतिपय बाहिरी साथीहरुले त्यसलाई हलुका रुपमा लिएको पनि हुन सक्छ । उनीहरु बढी विवेकले काम लिन्छन र यतातिर पनि ठीक उतातिर पनि ठीक्क पारेर दहिचिउरे पाराले एउटा सिद्धान्त निकालेका हुनसक्छन र हामी आत्माले काम लिन्छौँ र जे गर्छौँ हृदयबाट नै गर्छौँ त्यसैले कट्टरता देखिएको हुनसक्छ र कतिपय ठाउँमा चेतना र शिक्षाको कमिले पनि कट्टरता ल्याएको छ । तर हामीले जे पनि गर्छौँ त्यसलाई आफ्नो धर्मशास्त्रमा आधारित भएर सहि रुपले काम गर्नैपर्छ, चाहे बाइबल अनुसार होस, गिता, कुरान र बेद अनुसार होस ।
एउटै धर्ममा पनि मेल हुन किन सकेको छैन ?
हो यहि कुरा दुर्भाग्यपुर्ण छ, परमेश्वर त एक हुनुहुन्छ र सबै मानिसहरु पनि सबै समान छन तर पनि जति अहिले वर्तमान समयमा हामीले समस्या र विपत्तिहरु सामना
गर्दैछौँ ति सबै मानविय विवेकको उपज हुन ।
त्यसोभए मानव स्वार्थी भएको हो ?
हो मानव स्वार्थी भयो नि, जताततै तपाई हेर्नुहोस परिवारमा स्वार्थै छ, समाजमा, देशमा जताततै स्वार्थै स्वार्थ छ सबैले आफ्नै भलाईको लागि मात्रै सोच्छन अरुको भलाई र फिक्री गर्न मान्छेले भुलिसक्यो । मानवलाई परमेश्वरले सबैभन्दा उत्तम सृष्टिको रुपमा आफ्नै प्रतिरुपमा सृजनुभयो तर मानव भ्रष्ट र स्वार्थी बन्दै गए र रमेश्वरदेखि टाढा हुदै गयो त्यसैले त प्रभु येशू ख्रीष्ट मानव र परमेश्वरबीचको दुरीलाई मेट्न मिलापको पुल बनेर आउनुभयो । उहाँ त साँघु हुनुहुन्छ र उहाँ स्वयं शतप्रतिशत मानव अनि शतप्रतिशत परमेश्वर हुनुहुन्छ ।
अन्त्यमा सबैलाई यहाँले के सन्देश दिन चाहनुहुन्छ ?
म यो भन्न चाहन्छु कि हामी नेपाल देशलाई प्रेम र प्रार्थना गर्ने ख्रीष्टियानहरु हौँ । यो देशको सुख शान्ति, सुरक्षा, समृद्धि, बिकास, उन्नती र भलाईको लागि हामी
सबै नेपाली ख्रीष्टियानहरुले रातदिन प्रार्थना गर्नुपर्दछ । हाम्रो देश नेपाल छ र पो हामीले आफुलाई बीर नेपाली ख्रीष्टियान भनेर भन्न पाएका छौँ । तसर्थ हामी यस देशका ज्योति र समाजका नुन हौँ, हामीले आफ्नो असल योगदान दिदैँ उदाहरण भई आ–आफ्नो स्थानबाट देश र समाजलाई टेवा पुर्याउनुपर्छ ।
परमेश्वरले सबैलाई आशिष दिउन र यो देशमा शान्ति र सुशासन कायम रहोस भनि प्रार्थना एवं कामना गर्दछु, धन्यवाद ।