चालीस वर्षदेखि भारतीय जेलमा रहेका एक नेपाली रिहा

अन्तराष्ट्रीय खबर मुख्य समाचार

बिबिसी । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारत कोलकाताको दमदम कारागारमा रहेका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको छ। विगत तीन दिनदेखि उनको मुद्दामा लगातार बहस भएको दीपकको पक्षबाट मुद्दाको बहस गरेका भारतका कानुन व्यवसायी हिरक सिन्हाले बताए।
बुधवार बिहानको बहसमा अदालतले उनी पक्राउ परेको भारतको दार्जीलिङबाट पुराना कागजात मगाएपछि उनको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अदालतले रिहा गर्न आदेश दिएको सिन्हाले बताए।
उनले भने, “बिहान आउने सोमवारसम्मका लागि सुनुवाइ स्थगित भएको थियो। तर दार्जीलिङबाट मुद्दाको पुरानो मिसिल झिकाएपछि र दीपकको मानसिक अवस्थालाई ध्यानमा राखेर अदालतले रिहा गर्न आदेश दिएको हो।”
रोहबरमा रिहा
नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि, उनको र कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको रोहबरमा रिहा गर्न अदालतले आदेश दिएको छ। आवश्यक परेको खण्डमा अदालतमा उपस्थित गराउने सर्तमा दीपकलाई रिहा गर्न उच्च अदालतबाट आदेश भएको महावाणिज्य दूतावासले जनाएको छ। महावाणिज्य दूतका निजी सचिव सतीस थापाका अनुसार दीपकलाई जिम्मा लिनका लागि उनका काकाका छोरा भाइ प्रकाशचन्द्रलाई खबर गरिसकिएको छ।
दीपक २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए। तोरीको पोको बेच्नका लागि भनेर इलामको मंगलबारे हिँडेका दीपक घर फर्केका थिएनन्।
दीपकलाई सोही कारागारमा उनका परिवारका सदस्यले केही दिन अघि भेटेका थिए। उनका भाइ प्रकाशचन्द्रले फागुन १० गते उनलाई कारागार पुगेर भेट्दा ुसुगाको ठुङ्ने चुच्चो फुस्केको जस्तोु अवस्थामा आफ्नो दाजु देखेको बताए। उनको मानसिक अवस्था पनि त्यति राम्रो नभएको आफूले पाएको प्रकाशचन्द्रले बताएका थिए।
दीपकको मुद्दाको पेशी ४० वर्षसम्म अदालतमा चढेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *