एसियाको महारथी जापानलाई हराउँदै कतारले उचाल्यो एसियन कप
एजेन्सी । एसियन कप फुटबलको उपाधि कतारले पहिलोपटक जितेको छ । युएईमा शुक्रबार भएको फाइनल खेलमा जापानलाई ३–१ ले हराउँदै कतारले एसियन कप फुटबलको उपाधि उचालेको हो । एसियाको महारथी जापानलाई हराउन कतारका अलमोइज अली, अब्दुल अजिज र अक्राम अफिफले गोल गरे । जापानका लागि मिनामिनोले एक गोल फर्काए । १२ औं मिनेटमा अलमोइजको गोलबाट कतारले अग्रता लिएको थियो । अब्दुल अजिजले २७ औं मिनेटमा अर्को एक गोल थपे र पहिलो हाफमा कतारले दोब्बर अग्रता बनायो । जापानले ६९ औँ मिनेटमा एक गोल फर्कायो । उसका लागि मिनामिनोले गोल गरे । ८३ औं मिनेटमा कतारले पेनाल्टी पायो र त्यसलाई अक्राम अफिफले गोलमा परिणत गरेपछि कतार ३–१ विजयी बन्यो ।
२२ वर्षीय अलीले जिते गोल्डेन बुट
एसियन कपको कपको इतिहासमा एउटै प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएर कतारका २२ वर्षीय अलमोइज अलीले गोल्डेन बुट जितेका छन् । उनले यस संस्करणमा ९ गोल गरे । उनले इरानका लेजेण्ड अली दाइले बनाएको कीर्तिमान तोडे । अली दाइले सन् १९९६ मा एसियन कपको एउटै संस्करणमा ८ गोल गरेका थिए ।