पोखरामा सुपर जनरल इन्टर क्लब टी–ट्वान्टी क्रिकेट लिग हुने
पोखरा, फागुन १० गते । के.एन स्पोर्टस् प्रा.लिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरामा सुपर जनरल इन्टर क्लब टी–ट्वान्टी क्रिकेट लिग हुने भएको छ ।
खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार भन्ने मुल नाराका साथ यहि मिति २०७७ फागुन १७ देखि २६ गते सम्म पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजना हुन लागेको उक्त खेलमा ८ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा चितवन क्रिकेट टिम, सुपर जनरल पोखरा–११, प्यालिगन्स तनहुँ, बाग्लुङ क्रिकेट क्लब, स्याङजा क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब काठमाण्डौँ, मिक्समाण्डु क्लब काठमाण्डौँ र स्टन एकेडेमी चितवन गरि ८ टिमको सहभागिता रहने छ । सबै क्लबमा प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीहरु रहने जानकारी प्राप्त भएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार, ट्रफि, मेडल तथा सर्टिफिकेट प्रदान गरिनेछ भने विधागत रुपमा उत्कृष्ट खेलाडीलाई समेत छुट्टाछुट्टै आकर्षक पुरष्कार प्रदान गरिने छ ।प्रतियोगिताका संयोजक कमल थापाले अनुसार प्रतियोगिताबाट बचत रकमले महिला क्रिकेट प्रतियोगिता गर्ने साथै यस प्रतियोगिता दर्शकहरुले निशुल्क अवलोकन गर्न सक्ने जानकारी दिनुभयो ।
आयोजित पत्रकार सम्मेलनमा विशेष अतिथि तथा सुपर जनरलका प्रतिनिधि फेजर अलिले आफु क्रिकेटमा जोडिन पाउँदा खुसी लागेको र यस्ता क्रिकेट प्रतियोगिताले पोखराको पर्यटन बिकासमा सहयोग पुर्याउने भएकोले सबैले सहयोग गर्नुपर्छ भन्ने भनाई राख्नुभयो । त्यसैगरी पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा नेपाल क्रिकेट संघका सदस्य ॠषि गौतमले विभिन्न आन्तरिक तथा राजनितिक कारणले क्यान ४ वर्षसम्म निलम्बित हुनुपरेको र यसले नेपालको क्रिकेट विकास सुस्त भएको बताउनुभयो । उहाँले विभिन्न परिस्थितिमा क्रिकेट प्रेमी र खेलकुद संस्था अघि बढे, निजि खर्चमा थुप्रै काम गरेता पनि क्रिकेट प्रति सरकारको ढिलासुस्तीले निराशा पारेको भनि दुःख व्यक्त गर्नुभयो । साथै जस्तै परिस्थिति आएपनि क्रिकेटका विभिन्न प्रतियोगिताहरु निरन्तर अगाडी बढ्ने प्रतिबद्ध जाहेर गर्नुभयो ।