नारायणगढ–मुग्लिन सडकमा पहिरोबाट के अब मुक्ति मिल्नेछ
१३ असार, काठमाडौं । अहिले वर्षातको समय नेपालका विभिन्न ठाउँहरुमा बाढी पहिरो गइरहेको छ । अनलाइन तथा पत्रपत्रिकाहरुमा हिजोआज नछुटाइकन आउने केही खबरमध्ये देशकै लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडक अवरुद्धको खबर पनि एक हो । सडक विस्तारका कारण लामो समयसम्म सास्ती पाएका यात्रुहरु काम सम्पन्न भएपछि सहज यात्रा गर्न पाइने विश्वासमा थिए । तर वर्षा हुन थालेसँगै पहिरोको कहर शुरु भएको छ । जसले पछिल्ला केही दिनदेखि लगातारजस्तो यो सडक ठप्प हुँदै आएको छ ।यो खण्डमा सधैं यसैगरी यात्रुले सास्ती खेप्नुपर्ने हो त ? चिन्ता नगर्नुस्, पहिरो रोक्न यतिबेला यो सडक खण्डका विभिन्न स्थानमा तीव्रताका साथ काम भइरहेको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी एवम इन्जिनियर शिव खनालले भने, ‘अहिले हामीले रक नेटिङ र रक बोल्टिङको प्रविधिमार्फत् पहिरो रोक्न लागि काम गरिरहेका छौं । अब पहिरोका कारण सास्ती धेरै व्यहोर्नु पर्दैन भन्ने विश्वास छ ।’ रक नेटिङ भनेको फलामे रड गाडेर साना ढुंगा तथा गेग्रानलाई रोक्ने प्रविधि हो । यसैगरी रक बोल्टिङ भनेको आठ मिटरसम्म गहिरो प्वाल पारेर फलामे रड छिराएर कस्ने प्रविधि हो । यस्तो प्रविधि पहिरो रोक्ने आधुनिक प्रविधि मानिन्छ ।
अहिले नारायणगढ–मुग्लिन सडकखण्डको झण्डै एक दर्जन स्थानमा रक नेटिङ र रक बोल्टिङको काम भइरहेको खनालले बताए । चारकिलो बाहेक अन्य स्थानमा यही असार मसान्तभित्र रक नेटिङ र रक बोल्टिङको काम सकिने उनले बताए । हाल चेपाङ डाँडा र कालीखोला क्षेत्र पहिरोको बढी जोखिम मानिन्छ । अनलाइलखबर