विश्वकप – पोर्चुगल, स्पेन दोस्रो चरणमा
पोर्चुगल र स्पेन रुसमा जारी विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश गरेका छन् । सोमवार राति दुवै देशले खेलेका खेल बराबरीमा सकेका थिए । इरानसँग पोर्चुगलको १–१ गोलको बराबरीमा र मोरक्कोसँग स्पेनको खेल २–२ गोलको बराबरी भयो । पेनाल्टीबाट गोल हानेको इरानले क्रिष्टियानो रोनाल्डोको पोर्चुगलविरुद्धको खेल बराबरीमा टुङ्गाएको हो । रोनाल्डोले आफ्नो टोलीका लागि पेनाल्टीबाट गोल हान्ने एउटा अवसर गुमाए । भीएआर भनिने भिडिओ असिस्टेन्ट रेफ्री प्रविधिबाट हेरेर रोनाल्डोलाई रातो कार्ड देखाउने वा नदेखाउनेबारे टुङ्गो लगाइएको थियो । पछि उनलाई रेफ्रीले पहेँलो कार्ड देखाएका थिए । पहिलो “हाफ”को अन्त्यतिर सनसनीपूर्ण गोल गर्दै रिकार्डो क्वारेस्माले पोर्चुगललाई अग्रता दिलाएका थिए ।
सन् २०१८ को विश्वकप फुटबलमा भीएआर प्रविधि निकै चर्चाको विषय बन्न पुगेको छ । तर समूह बी को अन्तिम खेलमा सोमवार राति त्यो अहिलेसम्मकै विवादित बन्यो । पोर्चुगललाई पेनाल्टी दिने निर्णयपछि विवाद शुरू भयो । दोस्रो चरणमा पोर्चुगलले युरुग्वेसँग शनिबार प्रतिस्पर्धा गर्नेछ भने स्पेन र आयोजक रुसबीच आइतवार भिडन्त हुनेछ । सोमवार राति सम्पन्न अर्को खेलमा रुसविरुद्ध युरुग्वेले शानदार नतिजा निकालेको छ । रुसलाई ३–० गोल अन्तरले हराउँदै युरुग्वे समूह ए को शीर्ष स्थानमा रहन सफल भएको छ । १० मिनेटमै युरुग्वेका लुइस स्वारेजले “फ्री किक” मा गोल हानेपछि रुस विपक्षीभन्दा पछाडि पर्न गएको थियो ।