नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक
पोखरा । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटको नयाँ नक्सा सरकारले आज औपचारिक रुपमा सार्वजनिक गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्यमा अर्यालले नक्सा सार्वजनिक गर्नुभएको हो ।
यसअघि मन्त्रिपरिषद्को बैठकले नेपालका ती भूभाग समेट्ने गरी नयाँ नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो ।अब सबै सरकारी दस्तावेज एवं पाठ्यपुस्तकमा नयाँ संस्करण बमोजिमका नक्साहरू प्रयोग हुनेछन् । साथै आम प्रयोगकर्तालाई पनि अब नयाँ संस्करण बमोजिमको नक्सा प्रयोग गर्न मन्त्री अर्यालले आग्रह गर्नुभयो । १८१६ को सुगौली सन्धीअनुसार काली नदी र त्यस पूर्वको भूभाग नेपालको अभिन्न अंग भएपनि हाल नेपालमा प्रचलित नक्साहरुमा काली नदी पूर्वका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटिएको नदेखिएकाले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय भएको उहाँले बताउनुभयो।