पुसमै गर्मीको अनुभव

नेपाल मुख्य समाचार विज्ञान तथा प्रविधि

काठमाण्डौ, पौस २७ गते । दुई दिनदेखि काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न ठाउँमा दिउँसो गर्मी अनुभव हुन थालेको छ ।
पुसमै गर्मी भएको भन्दै धेरै अचम्ममा परेका छन् । दिउँसोको अधिकतम तापक्रम बढेपछि गर्मी अनुभव भएको हो । शुक्रबार काठमाण्डौको अधिकतम तापक्रम २१ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा शनिबार २२ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो ।
हिजोको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बढेर २४ डिग्री सेल्सियस पुग्ने महाशाखाको अनुमान छ । अबको केही दिनसम्म काठमाण्डौको तापक्रम यही हाराहारीमा रहने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
अघिल्लो हप्ता देशका विभिन्न भागमा वायु प्रदूषण ह्वात्तै बढ्दा अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम बढेको थियो । बदली भए पनि त्यतिबेला धेरै चिसो महशुस भएको थिएन । शुक्रबारदेखि मौसम सफा हुन थालेपछि दिउँसोको समयमा अधिकतम तापक्रम बढेको हो ।
अब बिस्तारै चिसो घट्दै जाने हुँदा तापक्रम बढ्नु सामान्य भएको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । यस वर्षको हिउँदमा हिउँ र पानी कम पर्नु तथा अहिले वायुको बहाव अरेबियन सागर हुँदै आएकाले न्यानो महशुस भएको मौसमविद् प्रधानाङ्गको भनाइ छ ।

यसैबीच आज राति प्रदेश १, २ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्लाहरुमा आज पनि बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *