आइपिएलको पहिलो खेलमा चेन्नाईले मुम्बईलाई हरायो
एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटको पहिलो खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई हराएको छ । युएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले सुखद सुरुवात गरेको हो ।
शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै फाप डु प्लेसिसले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले । साम करनले १८ तथा रबिन्द्र जडेजाले १० रन जोड्दा कप्तान महेन्द्र सिंह धोनी सुन्य रनमा अविजित रहे । मुम्बईका ट्रेन्ड बोल्ट, जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्डय र राहुल चाहरले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउदा क्विनटन डी ककले ३३ रन बनाए । केइरन पोलार्डले १८ रन जोडे । यस्तै कप्तान रोहित शर्मा १२, सूर्यकुमार यादब १७ तथा हार्दिक पाण्डयले १४ रन बनाए । चेन्नईका लुंगी एनगिडीले ३ विकेट लिए । यस्तै रबिन्द्र जडेजा र दिपक चाहरले २/२ विकेट लिए । साम करण र पियुस चावालाको नाममा १/१ विकेट रह्यो ।
जितसँगै चेन्नईले मुम्बईसँग गत वर्षको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ । गत वर्षको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो ।