कोरोना संक्रमितको अनुभवः आशा नै नभएको अवस्थाबाट कोरोनालाई जितेँ

मनका कुरा मुख्य समाचार स्वास्थ्य

मेरो नाम सम्भु मक्राती हो, मेरो घर गोरखा जिल्ला हो । म हाल बहराइनमा ५ वर्षदेखि रेष्टुरेन्ट लाइनमा काम गर्दैछु । मलाई त्यतिबेला कोरोना संक्रमण भयो जतिबेला संसारमा कोरोना भर्खर भर्खर तिव्र फैलिएको थियो र ठूलो त्रास मानिसहरुमा थियो । मेरो नजिकै रुममा बस्ने एकजना बंगाली भाईलाई कोरोना संक्रमण देखा परेको थियो र मलाई पनि केहि दिनदेखि ज्यानहरु दुख्ने भइरहेको थियो मैले साधारण रुपमा काम नगरी बसेर यस्तो भयो होला भन्ने लागेको थियो ।

त्यो भाईलाई एक्कासी कोरोना पोजिटिभ देखिएपछि मलाई पनि भयो कि भन्ने शंका लाग्यो । म माक्स प्रयोग गर्ने, स्यानिटाइज गर्ने कार्यहरु गरेर बसीरहेको थिएँ । एक्कासी मलाई ज्वरो आयो । मलाई लगभग १०/१२ वर्षपछिको लामो समयपछि ज्वरोआएको थियो । मैले औषधी ल्याएँ, खाएँ, सलाइन चढाइयो तर पनि ज्वरो घटेन । त्यसपछि म टेस्टको लागि गएँ । मेरो पिसिआर टेस्ट भयो । रिपोर्टमा कोरोना पोजिटिभ रहेछ । जब मलाई हस्पिटलबाट फोन आयो तब म काम्न थाले । त्यतिबेला लकडाउन एकदम कडा थियो, कोरोनाले मान्छेहरु मरेको खबरले त्रास फैलिएको अवस्था थियो ।

आफुलाई सम्हालेर मैले परिवारलाई फोन गरे, श्रीमति रुन थालिन, तर मैले उनलाई र आफैलाई पनि सम्झाएँ । कोरोनाले मान्छे मरिहाल्छ भन्ने कन्सेप्ट भएको अवस्थामा मलाई ज्वरो आएको थियो, सास फेर्न गाह्रो भएको अवस्था थियो, औषधीले काम गर्न छोडेको थियो तर मलाई प्रभुमा भरोसा थियो ।
मैले साथीहरुलाई पनि टाढा बस्न भने र आफै आइसोलेशनमा बसेँ । मेरो मनमा मान्छे बाँचेका पनि त छन भन्ने कुराले स्थान आगट्यो । पछि मलाई विस्तारै ज्वरो हटेको थियो । सँगै बस्ने साथीहरु त्यति डराएका थिएनन तर परिवारहरु सबै एकदमै आत्तिनुभएको थियो । केहि समय क्वारेन्टाइनमा बसेपछि म निको भएँ ।

मलाई धेरैले आशा मारिसकेको अवस्था थियो । अव मलाई निको पारे पनि मरेपनि प्रभुमा भरोसा छ भनेर बसेको थिएँ अन्तत म निको भएँ । अहिले म फेरी आफ्नो काममा फर्केको छु । अहिले मैले व्यक्तिगत रुपमा भन्नुपर्दा यो कोरोना भनेको यस्तो रहेछ कि एकपल्ट लागेपछि केहि समय कुनै न कुनै माध्यमबाट कहिलेकाहिँ आफै गाह्रो बनाउने रहेछ । कहिले खुट्टा दुख्ने, औँला दुख्ने हुने रहेछ ।

हामीले यसलाई धेरै सामान्य सोचेर हल्का रुपमा लिन भने हुन्न । सरसफाईमा बस्नुहोस, खुसी हुनुहोस आफ्नो इम्युनिटि क्षमता बढाउने तर्फ लाग्नुहोस । माक्स र सेनिटाइजर मात्र समस्याको समाधान होइन, एकदमै सकारात्मक भएर रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने तर्फ लाग्नुपर्छ । शारिरिक सरसफाई, सामाजिक दुरी कायम गर्ने, कसरत, नाच्ने, गाउने, प्रार्थना र मनोबल बढाउने कुराहरुमा ध्यान दिएमा फाइदा हुन्छ । शम्भु मक्रातीसँग भिडियोकलमा भएको कुराकानीमा आधारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *