हवाई सेवा र सार्वजनिक यातायात सञ्चालन भोलिदेखि, बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई प्रतिव्यक्ति २ लाख दिइने

आर्थिक नेपाल मुख्य समाचार

पोखरा, भदौ ३१ । सरकारले लामो समयपछि आन्तरिक हवाई उडान तथा सार्वजनिक यातायात असोज १ गतेदेखि खोल्ने निर्णय गरेको छ । सरकारले गत चैत ११ गतेदेखि आन्तरिक हवाई उडानका साथै सार्वजनिक यातायातमा रोक लगाउँदै आएको थियो ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले असोज १ गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात, होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी खुल्ने जानकारी गराउनुभयो । खुलेसँगै स्वास्थ्य जोखिम अझ बढ्न सक्नेतर्फ सचेत रहँदै भौतिक दूरी कायम र स्वास्थ्य सुरक्षा कडाइका साथ पालना गर्न गराउन आह्वान गर्नुभयो ।
उहाँले कोभिड–१९ सङ्क्रमणलाई हल्का रूपमा नलिन र हल्लाको पछि लागेर गम्भीर गल्ती नगर्नसमेत आग्रह गर्नुभयो ।
उहाँले नागरिकलाई कोरोनाबारे सही सूचना दिन सञ्चार माध्यमको महìवपूर्ण भूमिका रहने चर्चा गर्नुहुँदै कोरोना भाइरसको विषयमा विज्ञको सल्लाह लिनुहोला, हल्लाको पछि लागेर रुघाखोकी त हो नि भनेर हल्का रूपमा नलिनुहोला भन्नुभयो ।

प्रवक्ता ज्ञवालीका अनुसार हवाई तथा सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड र भौतिक दूरी कायम राख्नुपर्ने छ । यसरी लामो, मध्यम तथा छोटो दूरीका यातायात सञ्चालन गर्दा साविक भाडादरमा ५० प्रतिशतसम्म थप शुल्क व्यवसायीले लिन सक्नेछन् । साविकको हवाई भाडादरमा थप भाडाका विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्धारण गर्ने जनाइएको छ । सेवा प्रदायकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने छ । यात्रु चढ्ने र ओर्लने बेलामा अनिवार्य रूपमा सेनिटाइजरको व्यवस्था सेवा प्रदायकले गर्नुपर्ने जनाइएको छ ।
यसैगरी हिमाल आरोहण तथा पदयात्रा कात्तिक १ गतेदेखि खुला गरिएको छ । आरोहण तथा पदयात्रामा स्वास्थ्य मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने छ ।
सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमनमा लगाउँदै आएको रोक असोज ३० गते मध्यरातसम्म थप गरेको छ । यसअघि नेपाल–भारत सीमा क्षेत्रका १० वटा नाकाबाट मात्र आवतजावतको अनुमति दिइएकोमा थप दुई नाका खुला गरिएका छन् । भारततर्फ इलाम र दार्चुलाका थप दुई नाकाबाट आवतजावत खुला गरिएको जनाइएको छ । यस्तै चीनतर्फ रसुवा नाका खुला गरिएको छ ।
बैठकले शिक्षण संस्था, सामूहिक भेला, गोष्ठी, सभा, सम्मेलन, पार्टी प्यालेस, स्विमिङ पुल, खेल प्रशिक्षण, खेल गतिविधि, सैलुन, ब्युटीपार्लर, स्पा, चिडियाखाना, सङ्ग्रहालय, परीक्षा लगायत जनसमूह भेला हुने कार्यमाथि लगाउँदै आएको रोकमा निरन्तरता दिएको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले भदौ २५ गतेलाई एसिड प्रहार विरुद्धको जागरण दिवसका रूपमा मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २५ गते एसिड आक्रमणमा परेकासँग परामर्श छलफलपछि एसिड पीडितको पक्षमा शिक्षा, स्वास्थ्य, रोजगार र क्षतिपूर्तिको सवालमा महìवपूर्ण घोषणा गर्नुभएको थियो ।
एसिड पीडितको उपचार निःशुल्क गर्ने, पीडितलाई १२ कक्षा सम्मको शिक्षा निःशुल्क गर्ने, रोजगारको व्यवस्था गर्ने, आजीवन औषधि गर्नुपर्ने भएमा सरकारले खर्च बेहोर्ने निर्णय सरकारले गरेको छ । यस्तै कसुर सजाय ऐनको नयाँ मस्यौदा १५ दिनभित्र तयार पार्ने निर्णयसमेत गरिएको छ ।
त्यस्तै नेपालको अद्यावधिक नयाँ नक्सासहित एक र दुई रुपियाँका सिक्का निष्कासन गर्न राष्ट्र बैङ्कलाई स्वीकृति दिइएको छ ।
प्रवक्ता ज्ञवालीका अनुसार बैठकले दूरशिक्षा तथा अनलाइन शिक्षा सिकाइ कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । त्यस्तै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको नयाँ भर्ना खुला गरिने भएको छ ।
यस्तै बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेलाई आर्थिक सहयोग गर्ने निर्णय सरकारले गरेको छ । उहाँका अनुसार परिवारमा एकको मृत्यु भएमा दुई लाख रुपियाँ सहयोग गर्ने, परिवारका अन्य सदस्यको थप मृत्यु भएको अवस्थामा एक लाखका दरले थप सहयोग गर्ने निर्णय सरकारले गरेको छ । बाढी पहिरोका कारण स्थानान्तरण हुने परिवारलाई एक लाख रुपियाँका दरले सहयोग गर्ने, उपचार तथा यातायात खर्च पनि उपलब्ध गराउने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *