च्याम्पियन्स लिगको उपाधि बायर्नको पोल्टामा

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिग फुटबल फाइनलमा जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन “पिएसजी” लाई १–० ले पराजित गर्दै छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो ।
पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन पीएसजीका पूर्वखेलाडी किंग्सले कोमनले एकमात्र गोल गरे । उनले ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । फ्रेन्च खेलाडीको त्यो गोल नै पिएसजीलाई हराउन पर्याप्त बन्यो ।
च्याम्पियन्स लिग सर्वाधिक जित्नेमा बायर्न लिभरपुलसँगै संयुक्त रुपमा तेस्रो स्थानमा उक्लेको छ । रियल मड्रिडले सर्वाधिक १३ र एसी मिलानले ७ पटक उपाधि जितेका छन् ।
बायर्नले पछिल्लो पटक सन् २०१३ मा जर्मनीकै बोरुसिया डर्टमण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । सन् १९७४, १९७५ र १९७६ मा लगातार तीन पटक उपाधि जित्दै उपाधिमा ह्याट्रिक गरेको बायर्नले सन् २००१ मा पनि उपाधि जितेको थियो । ११ पटक फाइनल खेल्दा ६ पटक उपाधि जितेको बायर्न ५ पटक भने उपविजेता बनेको थियो । बायर्नले यस सिजन कुनै पनि खेल नहारी उपाधि जितेको हो । पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पिएसजीले केहि राम्रा अवसरहरु प्राप्त गरेतापनि कुनै गोल गर्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *