गण्डकी प्रदेशः थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा, असार १९। प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणका अनुसार ४ जिल्लामा ३२ जना कोरोना संक्रमित थपिएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेमा १९ जना नवलपरासी कावासोती नगरपालिकाका २२ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरुषमा कोरोना पुष्टि भएको हो । सोही नगरपालिकाकै २३, २६ र ४० वर्षका ३ जना महिलामा पनि कोरोना संक्रमण भेटिएको छ ।
नवलपरासीकै मध्यविन्दु नगरपालिकाका १० देखि ३३ वर्ष उमेर समूहका ४ जना पुरुष र ३० वर्षीय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको चिवतनमा परीक्षण गरिएको थियो ।
त्यस्तै, तनहुँमा शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु तनहुँको भिमाद र ऋषिङ गाउँपालिकाका रहेका छन। त्यस्तै पर्वतको बिहादी, पैयूँ र फलेबास नगरपालिकामा २९, १८ र ३४ वर्षका ३ पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यस्तै बागलुङको जैमिनी नगरपालिकामा पनि २१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । २ जना संक्रमितको मृत्यु भएको थियो भने कोरोना भाइरसलाई जितेर घर फर्किनको संख्या २ सय ९६ छ ।