किम जङअनः सार्वजनिक भए
एजेन्सी । केहि समय अगाडी किमजङ अनलाई लिएर थुप्रै अड्कलबाजीहरु गरिए, कतिले उनी मरे भने त कतिले गम्भिर बिरामी परेको खबरहरु फैलाए । यसै खबरहरुका बीचमा उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसिएनले नेता किम जङ अन विगत २० दिनयता पहिलो पटक सार्वजनिक रूपमा देखिएको जानकारी गराएको छ । केसीएनए समाचार संस्थाका अनुसार एउटा रासायनिक मल उद्योगको उद्घाटन कार्यक्रममा किमले रिबन काटेका छन्। साथै उनी उपस्थित हुँदा उद्योगमा उपस्थित मानिसहरू खुशीले रुन थालेको पनि केसीएनएले जनाएको छ।
एप्रिल १२ तारिखमा सरकारी सञ्चारमाध्यममा अन्तिम पटक देखिएयता नेता किमको स्वास्थ्य अवस्थालाई लिएर विश्वव्यापी अड्कलबाजीहरू भइरहेका थिए। सरकारी सञ्चारमाध्यमले उद्योगबाहिर किमले रिबन काट्दै गरेका तस्वीरहरू सार्वजनिक गरेको छ। केसीएनएका अनुसार कार्यक्रममा किम सहभागी हुँदा उनीसँग बहिनी किम योङ जङसहित थुप्रै उत्तर कोरियाली वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
उत्तर कोरियाली नेताले उत्तरी प्योङयाङ क्षेत्रस्थित एउटा उद्योगको कार्यक्रममा रिबन काटेका थिए। मुलुकलाई सम्पन्नता दिलाउने दिशामा सर्वोच्च नेताले गरिरहेको नेतृत्वका लागि भन्दै कार्यक्रममा सहभागी मानिसहरू खुशीले रुन थाले, केसीएनएले भनेको छ। किमले उद्योगको उत्पादन प्रणालीसँग आफू सन्तुष्ट भएको बताए र देशको रासायनिक उद्योग तथा खाद्यान्न उत्पादनमा पुर्याएको योगदानका लागि कम्पनीको उनले प्रशंसा पनि गरेको केसीएनको रिपोर्टमा उल्लेख छ।