आहा रारा गोल्डकप चैतमा
पोखरा, माघ १७ गते । सहारा क्लब पोखराले आयोजना गर्ने आहा रारा गोल्ड कपको १९ औं संस्करण यसपटक चैत १७ देखि २९ गते सम्म हुने भएको छ ।
शनिबार पत्रकार सम्मेलनमार्फत सहारा क्लबले यस प्रतियोगितक हरेक अवस्थामा भएको साथै २०७२ वैशाख महाभूकम्पले प्यारापिट जीर्ण भएपनि सहाराले आहा गोल्डकप नरोकिएको जानकारी गरायो । पोखरा रंगशालामा रहेको प्यारापिट भत्काए पनि रंगशालामा अस्थाई प्यारापिट तयार पारेर पनि सहाराले आहा गोल्ड कप आयोजना गर्यो । गत वर्ष कोभिड १९ का कारण चैत ११ गते लकडाउन हुनु केहि दिन अघि मात्र आहा रारा गोल्ड कप आयोजना भएको थियो ।
निर्माण पूर्ण रुपमा सम्पन्न भइनसकेको र कोभिड १९ को महामारी पूर्ण रुपमा नियन्त्रणमा आइनसकेका कारण यसपटक पनि क्षमता भन्दा आधा दर्शकमात्र राखेर सहाराले आहा गोल्ड कप आयोजनाको तयारी गरिहेको छ । क्षमता भन्दा आधा दर्शक राखेर प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ एन्फाबाट पत्र प्राप्त भएको पत्रकार सम्मेलनमा सहाराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । पोखरा रंगशाला १६ हजार दर्शक क्षमताको छ । यसपटक कति टोलीलाई सहभागी गराउने , पुरस्कार राशीमा बृद्धि गर्ने नगर्ने तय भइनसकेको बताइएको छ । अध्यक्ष थापाले असहज परिस्थितिका कारण तत्काल केही प्रतिबद्धता दिन नसकिने बताउदै पुरस्कार राशि र टिकट शुल्क पनि तोक्न नसकिएको बताएका छन् । राखेप सदस्य राजेश गुरुङले सहारा क्लबले पोखरा चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउदै पोखराको खेलकुद र सहारा क्लबलाई राष्ट्रिय खेलकुद परिसदले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगितामा अघिल्ला वर्षहरुमा जस्तै आयोजक टोली, विभागीयसहित ए डिभिजनका क्लब तथा मोफसलका क्लबको सहभागिता रहने सहाराका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । हिमश्री फुड्स प्रा लिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहँदै आएको आहा रारामा सर्वोत्कृष्ट खेलाडीको लागि अप्रिला स्कुटरले प्रायोजन गरेको छ । प्रतियोगिताबाट झन्डै १ करोड ३० रुपैयाँ आम्दानी र झन्डै ३० लाख रुपैयाँ बचत हुने सहाराको अनुमान छ ।
सहाराले एकेडेमी संचालनार्थ हरेक वर्ष आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ । गतवर्ष विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ–मस्र्याङ्दी क्लबले उपाधि जितेको थियो ।