ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने
काठमाडौं । वर्तमान समयमा कोरोनाभाइरसलाई नियन्त्रणको लागि सरकारले लकडाउनलाई पुर्ण रुपमा लागु गरेको अवस्था छ । तर पनि लकडाउनका कारण सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले लकडाउनलाई विस्तारै खुकुलो र खुला गर्ने उद्देश्य सहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो । जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र “ग्रिन जोन”, पहेँलो क्षेत्र “एलो जोन” र रातो क्षेत्र “रेड जोन” मा विभाजन गरिनेछ ।
ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
यसैगरी, संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एलो जोन र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ । लकडाउन २५ वैशाखसम्म जारी छ । त्यसपछि यसलाई जारी राख्ने वा खुकलो बनाई जोनअनुसार व्यवस्थापन गर्ने भन्नेमा छलफल जारी रहेको प्रधानमन्त्री कार्यालयका अधिकारीले जनाएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार लकडाउनलाई खुकुलो बनाउनुअघि विश्व स्वास्थ्य संगठनको निर्देशिकामा रहेका विभिन्न ६ वटा सर्तलाई ध्यान दिइनेछ । सो सर्तअनुसार लकडाउनलाई खुकुलो बनाउन संक्रमण विस्तार हुने क्रम नियन्त्रणमा आएको हुनु पर्नेछ भने स्वास्थ्य प्रणालीबाट सबै केसको पहिचान गर्न, जाँच गर्न, आइसोलेसनमा राख्न, उपचार गर्न र सबैको कन्ट्याक्ट ट्रेसिङ् गर्न सक्षम भएको हुनु पर्नेछ ।बन्दाबन्दी खोल्दा एकैपटक नखोली दीर्घकालसम्म बहुआयामिक प्रभाव देखाउने क्षेत्रहरू पहिला खोल्ने र स्थिति नियन्त्रणमा आउँदै जाँदा अन्य सेवाप्रवाह पनि क्रमशः खोल्दै जाने नीति लिन उपयुक्त हुने जनाइएको छ । यसैगरी, बन्दाबन्दी खुला गर्दा सबैभन्दा पहिला उत्पादन र रोजगारका क्षेत्रलाई प्राथमिकतामा राखिनेछ ।