किन भयो केबुल टिभी बन्द?
१० असार, काठमाडौं । मंगलबार प्रकाशित पत्रपत्रिकाले केबुल टेलिभिजनद्वारा अन्तर्राष्ट्रिय च्यानल दुई दिन बन्द गरेकोमा आपत्ति जनाएका छन् । विदेशी विज्ञापन बजाउन पाउनुपर्ने भन्दै केबुल टीभीहरूले सोमबार दिउँसो ३ बजेदेखि २४ घण्टा प्रसारण गराएका थिए । ग्राहकसँग पैसा असुलेर यसरी च्यानल बन्द गराउनु गलत भएको नयाँ पत्रिका र कान्तिपुरले लेखेका छन् ।
नयाँ पत्रिकाले “उपभोक्ता अधिकारमाथि केबुल टीभीको दादागिरी” शीर्षकमा ग्राहकबाट प्याकेजमा महिनाभरि पैसा असुलेर पैसा आफूखुसी बन्द गरिएको बताएको छ । संसदमा विचाराधीन विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा क्लिन फिड लगाउने प्रावधान राखिनु सरकारको सकारात्मक कदम भएको भन्दै कान्तिपुर दैनिकले सम्पादकीय नै लेखेको छ ।
‘क्लिन फिडविरुद्ध अनक्लिन व्यवहार’ शीर्षकमा कान्तिपुरले लेखेको छ– सरकारले क्लिनफिड नीति ल्याउनुको अर्थ स्वदेशी विज्ञापनको प्रवर्द्धन र सम्वर्द्धन हो । विदेशी विज्ञापनको पक्ष लिँदै उपभोक्तालाई मार पर्नेगरी टीभी च्यानल बन्द गर्नु गलत भएको निष्कर्ष निकाल्दै कान्तिपुरले भनेको छ– सरकारसँग लेनदेनका लागि उपभोक्तालाई अठ्याउने केबुल टीभी व्यवसायीको यो व्यवहार गैरकानूनी तथा गैरव्यावसायिक हो । यसबाट च्यानलका ग्राहक बनिसकेका उपभोक्ता मारमा परेका छन् । अनलाइनखबरबाट साभार