चेल्सीलाई हराउँदै सिटीले लिग कपको उपाधि जित्यो
एजेन्सी – चेल्सीलाई टाइब्रेकरमा पराजित गर्दै म्यानचेस्टर सिटीले लिग कपको उपाधि उचालेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरले निकाल्यो जसमा सिटी ४–३ ले विजयी रहयो ।
खेलको अन्तिम समयमा चेल्सीका प्रशिक्षक मौरिजियो सार्रीले गोलरक्षक केपा आर्रिजबगालालाई परिवर्तन गर्न खोजेपनि खेलाडी आफैंले बाहिर निस्कन नमान्दा प्रशिक्षक रिसले आक्रोशित बनेका थिए । सार्रीले टाइब्रेकरका लागि विली काबालेरोलाई मैदान प्रवेश गराउन खोजेपनि केपाले मैदान छाड्न मानेनन् । टाइब्रेकरमा केपाले लेरोय सानेको प्रहार बचाएपनि जित दिलाउन भने सकेनन् ।
सिटीका लागि सर्जियो अगुएरो, इल्काए गुन्डोगन, बर्नार्डो सिल्भा र रहिम स्टरलिङको प्रहार गोल भयो । चेल्सीका एमर्सन, सेजार एज्पिलीक्वेटा र इडेन हाजार्डले गोल गर्दा जोर्जिन्होको प्रहार एडरसनले बचाए । डेविड लुइजको प्रहार पोस्टमा लाग्नु दुर्भाग्य सावित भयो । सिटीले छैटौं पटक लिग कपको उपाधि जितेको हो । प्रतियोगिताको इतिहासमा लिभरपुलले सर्वाधिक ८ पटक यो उपाधि जितेको छ । सिटीले यसअघि सन् २०१६ मा पनि लिभरपुललाई पेनाल्टीमा पर्फजित गर्दै उपाधि जितेको थियो ।