ख्रीष्टियानहरूकाे वास्ता, प्रेम र व्यवहारले मलाई येशू ख्रीष्टमा विश्वास गर्ने बाटो बन्यो

बिबिध मनका कुरा मनाेरञ्जन सुसमाचार

यहाँलाई जयमसिही तथा मनका कुरामा स्वागत छ, आजभोली के मा व्यस्त हुनुहुन्छ ?
– आजभोली म मण्डली तथा समुदायको काममा व्यस्त छु ।
अहिले समुदायमा मिशन सेन्टर सम्बन्धी कुरा निकै चर्चामा आइरहेको छ, यहाँहरू निकै लागी पर्नुभएको छ, यसको उद्धेश्य के हो, यो किन आवश्यक्ता छ र भावी दिनहरूमा यसले सम्पुर्ण ख्रीष्टिय समुदायलाई कस्तो फाईदा पुर्याउन सक्छ बताइदिनुहोस न ?
मिशन भन्नाले यो परमेश्वको नै हृदय हो, मिशन परमेश्वरले नै सुरु गर्नुभयो भनी बाइबलले बताउँदछ, येशू ख्रीष्ट पनि यो संसारमा मिशन नै बोकेर आउनुभयो, मिशनरी नै बनेर आउनुभयो उहाँ परमेश्वर भएर पनि मानव भएर जन्मनुभयो र यहाँ रहँदाबस्दा उहाँले धेरै मिशनको कामहरू, सेवा तथा सुसमाचारको कामहरू गर्नुभयो । वर्तमान अवस्थामा मण्डलीहरूले पनि मिसनको काम गर्दे आएको छ साथै अव यो काम चाहिँ समुदायले पनि सबै मिलेर गर्नुपर्छ र मिशनचाहिँ हामी सबैको एउटा हृदय हुनुपर्दछ । विशेष उद्धेश्य भन्नु नै परमेश्वरको काम हामी सबैजना मिलेर संयुक्त रुपमा गरौँ साथै सबैजनाले एकसाथ काम गर्न सक्यौँ भने हामी अझै सफल हुन सक्छौँ र अगाडी बढ्न सक्छौँ भन्ने हो ।
भनेपछि मण्डलीले व्यक्तिगत रुपमा बोकेर हिडेको दर्शन तथा गरिरहेको कामलाई अझै प्रभावकारी रुपमा सबै मिलेर गर्नु यसको उद्धेश्य हो ?
– एकदमै हो ।
अब म अलिकति व्यक्तिगत कुुरा गर्न तर्फ लागेँ, यहाँको जन्म कहाँ र कहिले भयो, बाल्य अवस्था कस्तो रह्यो ?
मेरो जन्म २०२८ सालमा गोरखाको हर्मी गा.वि.समा भएको हो । हामीहरू चार दाजुभाइहरू थियौँ म साइलो छोरा हो । हामीहरू सानोदेखि गाउँघरमा खेल्ने रमाउने गरेर गाउँले जीवन बितायौँ । हाम्रो स्कुल पुग्न १५ देखि २० मिनेट उकालो हिड्नुपथ्र्यो, त्यस्तै मा.वि तहसम्म पढ्न एकघण्टा हिड्नुपथ्र्यो । त्यतिबेला जीवन रमाइला थियो, खेल्ने पढ्ने, गोठालो जाने, बाबाआमालाई सघाउँदै समयहरू बित्यो ।
यहाँ कसरी इसाई बन्नुभयो ? कसरी यो सेवामा लाग्नुभयो ?
– म १९९०मा एस.एल.सी पास गरेपछि कलेज पढ्न काठमाडौँ गएँ जहाँ मेरा दुइजना दाजुहरू बस्नुहुन्थ्यो र म माइलो दाजुसँग बसेर पढाइलार्ई अगाडी बढाउन थाले । मेरो माइलो दाजुको परिवार चर्च जानुहुँदाे रहेछ । एकदिन उहाँहरू चर्च जानेक्रममा मैले उहाँहरूलाई मलाई पनि लैजान अनुरोध गरेँ र म जीवनमा पहिलोपल्ट चर्च गएँ (आराधना चर्च, काठमाडौँ) । त्यहाँ धेरै मान्छेहरू थिए, भिड थियो, मलाई त्यहाँको क्रियाकलाप नौलो लाग्यो, प्रार्थना गरेको, गीत गाएको सबै कुरा भिन्नै थियो । म चर्चबाट फर्के र अर्को हप्ता गइन । म चर्च नगएपछि लगत्तै आइतबार सोमबारतिर चर्चका दाई दिदीहरू मलाई भेट्न आउनुभयो, र उहाँहरूले मलाई नजिकबाट वास्ता देखाउनुुभयो, कस्तो लाग्यो, केही बिसन्चो भयो कि भनेर सोध्नुभयो । उहाँहरूको त्यो वास्ताले मलाई छोयो । मैले महसुस गरेँ कि मेरो आफ्नै मान्छेहरूले यति प्रेमपूर्वक साेध्दैनन्, वास्ता गर्दैनन त । यी मान्छेहरूले किन मलाई यति वास्ता गर्देछन भन्ने लाग्यो । उनीहरूले मलाई आउने हप्ता चर्चमा आउने निम्तो दिएर गए । त्यसपछिको हप्ता म चर्च गएँ । त्यहाँको वास्ता, प्रेम र व्यवहारले मलाई येशू ख्रीष्टमा विश्वास गर्ने बाटो बन्यो । धेरै ठाउँका मानिसहरू, फरकफरक मानिसहरू भएतापनि उनीहरू एउटै आमाका सन्तानजस्तै थिए जुन कुराले मलाई येशूमा आउन प्रेरित गर्यो ।
यहाँ एउटा योग्यता भएको व्यक्ति पनि हुनुहुन्छ, अवसरहरू थुप्रै थिए तर कि यो सेवकाईलाई नै रोज्नुभयो ?
– म १९९० बाट १९९८ सम्म काठमाडौँ रहेँ र त्यसपछि केहि समयको लागि बेलायत गएँ । तर त्यो भन्दा पनि पहिले काठमाडौँमा एउटा बालिकाको सन्दर्भमा एउटा घटना घट्यो जसले मलाई नानीबाबुुहरूको बीचमा केहि गर्नुपर्छ भन्ने प्रेरणा मिल्यो ।
यहाँलाई बिचैमा रोके, त्यो घटना अलि स्पष्ट बताइदिनुहोस न ?
– त्यो घटना यस्तो थियो कि म एकदिन बीर अस्पतालबाट टेकुतिर गइरहेको थिएँ, टेकुमा केहि मानिसहरू बाटोको छेउमा भिड भएर जम्मा भएका थिए, सुरुमा मैले कहि वास्ता नगरेपनि पछि के रहेछ भनि हेर्न मन लाग्यो । त्यहाँ लगभग ७–८ वर्षको नानी रोइरहेकी, उसको चिउडोबाट रगत बगिरहेको थियो, एकजना अधबैँसै मान्छेले काखमा टेको दिइरहेको अनि अरु मानिसहरूले हेरिरहेका थिए । त्यहाँ उसलाई कसैले वास्ता गर्ने काम गरेनन तर त्यो दृश्यले मेरो मन छोयो र मैले यो कस्को बच्चा हो भनेर सोधे कसैले जवाफ दिएन साथै उसलाई म उपचार गर्न लैजान्छु कसैले सहायता गर्नुहोस भने तर, कसैले चासो देखाएन, पछि उसलाई काखमा लिनेले नै मसँग उपचारमा जान तयार भयो । र जाने बेलामा नजिकै ट्राफिक पुलिस रहेछन उनलाई पनि साथमा लिएर ट्याक्सीमा चढी हस्पिटल गएँ । अस्पतालको इमर्जेन्सीमा पुगेपछि कसैले उपचार गर्ने चासो देखाएनन् बरु थुप्रै प्रश्न सोधे, उसको आफन्त वा जिम्मा लिने व्यक्ति नभएसम्म हामी उपचार गर्देनौँ भने । मैले केहि भइ हालेमा म जिम्मा लिन्छु र खर्च पनि आफै व्यहोर्छ भन्ने सर्तमा उनीहरूले उपचार गरे । र हामी जहाँबाट नानीलाई लिएर गएका थियौँ त्यहाँ आइपुग्यौँ । त्यसबेला मंसिर महिनाको अन्त हुुन लागेको थियो, मौसम जाडो थियो अँध्यारो पनि हुन लागेको थियो हामीले नानीलाई उसको घर कहाँ हो भनेर सोध्यौँ, उसले थाह नै पाइन । नानीलाई पालैपाले बोक्दै हामी टेकुबाट घर खोज्दै बल्खुतिर पुग्नैलाग्दा त्यहाँ एउटा केटो रुँदै दौडियो, त्यो उसको दाइ रहेछ उ चाहिँ बहिनीको चिउडोको ठूलो टेप र पुलिस पनि साथमा देखेको कारणले दौडेको रहेछ । उसलाई पछ्याउँदे घर पत्ता लगाउने क्रममा उनीहरू बाटोको छेउको घरको अन्डरग्राउन्ड जस्तोमा बस्दा रहेछन । हामीले उसको आमाबाबालाई सोध्यौँ तर उनीहरू काममा गएका रहेछन । आमाले बाटोको छेउछाउमा फलफुल बेच्ने साथै बाबाले टाढा साइकल पसलमा साइकल मर्मत गर्ने काम गर्दा रहेछन । त्यो नानीलाई त्यहाँ छोडेपछि ट्राफिक पुलिसले मलाई सर तपाई मसँग कालिमाटी चौकी जानुपर्छ किनभने तपाईले मैले दिनभरी के काम गरेँ भन्ने कुराको जवाफ दिनुपर्छ भन्यो र म त्यो सँग गएँ । त्यसपछि हामी तिनै जना चौकीमा पुग्यौँ, अफिसरले हामीलाई सबै कुरा सोध्यो र हामीले बतायौँ । पछि त्यो नानीको आमा पनि थाह पाएर त्यहाँ आइपुगिन । आमासँग सोध्दा उसले छोरीलाई विद्यालय पढाउन नसकेकोले आफुसँगै काममा लगेको रहेछ पछि उ डम्पिङ साइडको नजिकै खेल्दैगर्दा उसलाई कुकुरले टोकेपछि त्यो अवस्था भएको रहेछ । आमालाई पनि उसको छोरीलाई कुकुरले टोकेपछि कसैले लग्यो भन्ने मात्र थाए भएछ तर कसले कहाँ लग्यो भन्ने कुरा थाह नपाउँदा उनी चौकीमा आएकी रहिछन । त्यहाँको हाकिमले मलाई र काखमा बोक्ने व्यक्ति जो रिक्साचालक थियो उसलाई खर्च कति लाग्यो भनेर सोधे र सबै खर्च नानीको आमाले दिनुपर्छ भने । तर उनले आफुसँग पैसा नभएको र पैसा घरमा भएको बताइन । पैसाको लागि उनको घरमा जानुपर्छ भनिन । उक्त अफिसरले मलाई जवान मानिस भएर पनि यस्तो राम्रो सहयोगको काम गर्नुभयो भनेर मलाई धाप मार्दै स्याबासी दिए । हामी फर्केर त्यो नानीको घरमा गयौँ तर नानीको आमाले आफुसँग पैसा नभएको भनि रुन थालिन, भरे श्रीमानले पैसा ल्यायो भने दिउँला भनिन् । उक्त कुराले मलाई छोयो र हामीले भन्यौं हामीलाई पैसा दिनु पर्दैन बरु आफ्नो नानीको उपचार राम्रोसँग गर्नुहोस भनेर आफ्नो ठाउँतिर फर्कियौँ । त्यो घटनाले मलाई नानीहरूको बीचमा काम गरेर मैले सेवाको काम गर्नुपर्छ भन्ने कुराको प्रेरणा जगाएको हो ।
यहाँले नानीबाबुहरूको बीचमा लामो समय सेवाको काम गर्नुभयो, अहिले पनि धेरैले नानीबाबुहरूको बीचमा काम गर्देछन्, उनीहरूको बीचमा सेवकाई गर्दा नभइ नहुने कुराहरू, केहि महत्पवुर्ण तत्वहरू बताइदिनुहोस न ?
– त्यो घटनापश्चात मैले नानीबाबुहरूको बीचमा काम गर्ने प्रेरणा बोकी १९९९ मा म पोखरा आएँ । मैले कहि साथीहरू चिनेको थिएँ जसले मलाई अहिलेको वर्तमान ठाउँमा आएर नानीबाबुहरूको बीचमा सेवा गर भनेर सल्लाह दिनुुभयो । म सँग बेलायतबाट फर्केर आउँदा केहि पैसा थियो त्यहि पैसाले मैले काम सुरु गरेँ, एक्लै काम अगाडी बढाएँ विवाहपश्चात हामी दुवै मिलेर यो सेवालाई अगाडी बढायौँ । र यो अवस्थासम्म आइपुग्यौँ । सेवाको दौरानमा मैले भोगेको र सिकेको कुरा यहि हो कि उनीहरूको बीचमा काम गर्नलाई पहिलो कुरा हृदय चाहिन्छ, त्यसैगरी उनीहरू बाबुआमा नभएर, केहि नभएर, खाना लाउन नपाएर यहाँ आएका हुन मैले उनीहरूलाई हेरेको हुँ भन्ने विचार गर्नुहुँदैन, यो भावना लिनुुहुुँदैन । उनीहरूको कारणले म यहाँ छु, अथवा उनीहरूको कारणले मैले मौका पाएँ भन्ने सोच्नुपर्दछ । साथै अहिले धेरै होमहरू संस्थागत हिसाबले चलेका छन तर हामीले पारिवारिक वातावरण दियौँ । र यो पनि अत्यन्तै खाँचो छ भन्ने मलाई लाग्छ । त्यसैले उनीहरूको बीचमा काम गर्दा हृदय, समर्पणता साथै उनीहरूको कारणले म यहाँ छु भन्ने भावना चाहिन्छ । मैले १६–१७ वर्ष काम गरेँ, प्रशासन साथै अन्यबाट अनुगमन हुँदा पनि एउटा उदाहरणको होम भन्ने नाम हामीले पायौँ ।
अब अलिकति प्रसंग बदलौँ, यहाँ नेपालकै ऐतिहासिक समुदाय, पोखरेली ख्रीष्टिय समुदायको वर्तमान अध्यक्ष हुनुहुन्छ, यहाँलाई कस्तो महसुस भइरहेको छ, कसरी यहाँले यो समुदायलाई अझै अगाडी बढाउन खोज्दै हुनुहुन्छ ?
यो समुदाय लगभग २०४८ सालदेखि विधिवत रुपमा सुरु भयो, त्यो भन्दा अगाडी पनि मण्डलीहरू मिलेर प्रार्थना गर्ने, भेट्ने कार्य भइरहेकै थियो । त्यसपछि लगभग २०५२–२०५३ मा आएर विधानहरू लेख्ने र वैधानिक रुपले समुदाय अगाडी बढाउने काम भयो, मण्डलीहरू बढ्दै गए र अहिले सम्म आउँदै गर्दा समुदायमा लगभग ४७ वटा चर्चहरू छन । म भन्दा अग्रज दाइहरूले यसलाई यहाँसम्म ल्याउनुभयो । म पनि समुदायमा रहेर सचिवको रुपमा, महासचिव, उपाध्यक्ष हुँदै अहिले अध्यक्षको भुमिका निर्वाह गर्दै छु । मलाई समुदाय चाहिँ कस्तो लाग्छ भने यो चाहिँ संगति हो । हामी एउटाले अर्कोलाई सहायता गर्ने, भेटघाट गर्ने र एकतामा रहेर एकअर्कालाई उत्साह दिने, दुःखसुखमा सहभागी हुने काम गर्नुपर्दछ । मेरो आफ्नो पनि अरु ठूलो गर्ने, यी कुराहरूभन्दा अन्त जाने योजना छैन । हामी जुनसुकै नयाँ पुुराना चर्च भएतापनि एक अर्कासँग एकतामा हुनुपर्छ, एउटाले अर्काको निम्ति प्रार्थना गर्नुपर्छ, दुःखसुखमा सँगै हुनुपर्छ र यो समुदायको मर्म हो र यसैलाई नै अगाडी बढाउने मेरो लक्ष्य रहको छ ।
समुदायको मुख्य उद्धेश्य छोटकरीमा बताइदिनुहोस न ?
–यसको मुख्य लक्ष्य भनेको नै एकता र संगति हो । अहिले मिशन सेन्टरको कुरा आइरहेको छ र यो पनि नौलो होइन, चर्चहरूले यसलाई गरिरहेका छन र यसलाई संयुक्त रुपमा गरौँ न भन्ने एउटा पहल मात्र हो ।
वर्तमान समयमा समुदाय र चर्चहरू कसरी मिलेर अगाडि बढिरहेको छ साथै एउटा विश्वासीले समुदायबाट के कस्तो लाभ लिन सक्छ ?
– समुदाय भनेकै मण्डली होे र यिनीहरूको बीचमा नजिकको सम्बन्ध रहेको छ । विभिन्न उतारचढाव आउँदछन तर पनि समुदायले सबैलाई एक आपसमा पहिचान हुने, एक अर्काको लागि प्रार्थना गर्ने एकतामा रहने थलो प्रदान गरेको छ साथै यसले विश्वासी विश्वासीहरूमाझ पनि एक अर्कासँग परिचित हुने अवसर दिएको छ ।
समुदायमा रहेर आगामी दिनहरूमा यहाँले के कस्तो काम गर्ने योजना गर्नुभएको छ ?
– अब काम गर्दै जाँदा मण्डलीहरू धेरै वृद्धि हुँदै गयौँ भने यसलाई कतिपय अवस्थामा स्थानको कारणले व्यवस्थापन गर्न गाह्रो हुुने हुुँदा यसलाई क्षेत्रगत रुपमा तथा संयुक्त रुपमा अगाडी लैजानुु कस्तो हुन्छ होला भन्ने कुरा साथीभाइ तथा अग्रजहरूसँग सल्लाह लिने साथै भेटघाट तथा प्रार्थनालाई अझै गाढा बनाउने योजना रहेको छ । अर्को चाहिँ मलाई लागेको हामी समुदायमा वृद्धि हुँदै धेरै जना भएपछि बोली, विचार धेरै प्रकारका आउनुु स्वभाविक हो तर हामी एउटै हुनुपर्छ । हामी समुदाय बाहिर वा भित्र हौँ हामी एकै हुनुपर्छ । र यी कुराहरूलाई अगाडी बढाउने मेरा योजना रहेको छ ।
युवाहरू, महिलाहरू तथा बालबालिकाहरूप्रति समुदायको भविष्यमा के कस्तो लक्ष्य रहेको छ ? समुदायले के गर्न खोज्दै छ कसरी परिचालन गर्न खोज्दै छ ?
– वास्तवमा यो कुरा धेरै महत्वपुर्ण हो कि हामीले जवानहरू र दिदीबहिनीहरूलाई महत्वपुर्ण स्थान दिई उनीहरूलाई परिचालन गर्नुपर्दछ साथै समुदायमा जवानहरूलाई पनि सक्रिय सहभागी गराउनुपर्छ भन्ने मलाई लाग्दछ । अहिले हामी समुदायमा प्रतिनिधी भनेर एउटा चर्चबाट एउटा दुइटा मात्र प्रतिनिधि हुने प्रावधान छ, अनि ति प्रतिनिधि अगुवाहरू वर्षौँदेखि उही छन परिवर्तन भएका छैनन, अनि मलाई लाग्दछ कि सबैलाई मौका दिनुपर्दछ । अगुवाहरूलाई पालो गरेर समुदायमा प्रतिनिधित्व गर्ने अवसर दिइनुपर्दछ । यो चाहिँ एकता र संगति भएकोले सबैलाई विशेष गरेर जवान तथा दिदिबहिनीलाई मौका दिइनुपर्छ भन्ने मलाई लाग्छ ।
ख्रीष्टमसको समय नजिकिदैँ छ, यहाँ एउटा चर्चको पाष्टर पनि हुनुहुन्छ, यहाँको विचारमा एउटा विश्वासीको लागि ख्रीष्टमस किन महत्वपुर्ण हुन्छ अलिकति बताइदिनुहोस न ?
– ख्रीष्टमस येशू ख्रीष्टको जन्मोत्सव हो ,यो समयमा रमाउनु, एक अर्कालाई शुभकामना आदनप्रदान गर्दै उपहारहरू साट्दै, येशूख्रीष्टको सुसमाचार सुनाउने पर्व हो यो । त्यसैले यो समयमा मण्डलीहरूले आ–आफ्नो कार्यक्रमहरू आयोजना गर्दछन, छिमेकी तथा पाहुनाहरूलाई बोलाउने, शुभकामना आदान प्रदान गर्ने कार्यक्रमहरू पनि हुन्छन त्यसैले यो विश्वासीहरूलाई खुसी बनाउने, उत्साहित गराउने एउटा समय भएकाले यो समय अति नै महत्वपुर्ण छ ।
एउटा ख्रीष्टियान विश्वासीले आफु बसेको समाज र राष्ट्रलाई कसरी टेवा दिन सक्दछ ?
– बाइबलले हामीलाई सिकाउँदछ कि ख्रीष्टमा विश्वास गर्ने व्यक्तिले आफ्नो देश तथा उच्च अहोदामा भएको व्यक्तिहरूको लागि प्रार्थना गर्नुपर्दछ, देशमा धार्मिकता र शान्तिको लागि प्रार्थना गर्नुपर्दछ त्यसैले हाम्रो जिम्मेवारी भनेको असल नागरिक भएर सकारात्मक सोचको साथमा एउटाले अर्कोलाई टेवा दिने, सहायता गर्ने । समाज तथा देश निर्माणको काममा अग्रसर हुने गर्नुपर्दछ ।
अहिले समाजमा ख्रीष्टियनिटीको बारेमा थुप्रै कुराहरू सुनिँदै आएको छ समाजमा ति कुराहरूलाई यहाँले कसरी व्याख्या गर्नुहुन्छ ?
–अहिलेको समयमा धेरैको बुझाईमा ख्रीष्टियान धर्म भनेको विदेशी धर्म हो, यिनीहरूले डलर खान्छन भन्ने मात्र छ तर यो त विश्वासको कुरा, आस्थाको कुरा हो । यो विश्वासद्वारा मुक्ति पाउने कुुरा होे । जो भनिएका कुराहरू छन ति सत्य होइनन । हामीले हरेक कुराको यथार्थ बुझनुपर्दछ । अहिले मानिसहरूले एक अर्कालाई जात जाति तथा धर्मको नाममा उक्साउने काम गरिरहेका छन, यो हुनुहुँदैन । रुपैयाँ पैसाले मानिसको आस्थालाई परिवर्तन गर्न सक्छ भन्ने कुरा मिथ्या मात्र हो ।
अन्त्यमा यहाँले सबैलाई के सन्देश दिन चाहनुहुन्छ ?
– सर्वप्रथम त यो मौका र अवसरको लागि धन्यवाद दिँदै समस्त ख्रीष्टियान जन तथा देशबासीहरूमा आउँदै गरेको ख्रीष्टमसको शुभकामना साथै यो देशमा शान्ति र समृद्धि आओस, यो पर्वले सबैमा एकता र खुसी ल्याएको होस् साथै मेरो व्यक्तिगत तथा परिवारकोतर्फबाट, बाटुलेचौर चर्चको तर्फबाट साथै पोखरेली ख्रीष्टियान समुदायको तर्फबाट पनि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छुु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *