सफलताको एउटा बाटो

लेख / रचना साहित्य

सफलता के हो ? सफलता कसरी प्राप्त गर्न सकिन्छ ? भन्ने प्रश्नहरु हाम्रो लागि सरोकारका विषय हुन । हामी यस्तै प्रश्नको उत्तरको खोजीमा विभिन्न पुस्तक, लेख तथा पत्रपत्रिका पढ्छौ । त्यति मात्र नभएर सफल भनिनेहरुको अन्तर्वार्ता तथा विचार पनि सुन्ने गर्दछौ । यद्यपि अझै हाम्रो चित्त बुझ्दैन । कसैले भन्छन संघर्ष नै सफलताको साँचो हो, कसैले कडा परिश्रम हो भन्छन त कसैले निरन्तर लगनशीलताले सफलता हात पर्ने बताउँछन् । हुन त सफलताको क्षितिज फराकिलो हुने गर्छ । कति उपलब्धि वा प्राप्तिलाइ सफलताको उपज दिने भन्ने कुनै पनि मापदण्ड छ जस्तो लाग्दैन । त्यसैले सफलता भनेको सन्तुष्टि, प्रतिष्ठा र सम्पन्नताको मिश्रण हो भन्ने यो पङ्क्तिकारको ठम्याइ छ । जीवनमा सबैको आफ्नो लक्ष्य र उद्देश्य हुन्छ । त्यही लक्ष्यको प्राप्ति नै सफलताको एउटा पाटो हो । यस अर्थमा सफलताको मैदान भनेको हाम्रो जीवनको सपना वा लक्ष्य हो । महान वैज्ञानिक अल्वर्ट आइन्सटाइनले भनेका छन, “जीवनका सबै पक्षहरुमा सफल हुन सकिदैन ।” यसबाट के प्रष्ट हुन्छ भने सफल हुनलाई हामीले कुनै एउटा क्षेत्र चुन्नु पर्ने हुन्छ जून हामीले मन देखी चाहेका हुन्छौ । किन एउटा मात्र लक्ष्य सहि भन्ने कुरा यो उदाहरणबाट खुलस्त होला । यदि तपाईं लड्नको लागि तयार हुनुहुन्छ र तपाईंलाई चारैतिरबाट घेरा हालेर आक्रमण गर्न आए भने के तपाईं आफ्नो शरिरलाई सहि रुपले परिचालन गर्न सक्नुहुन्छ ? वा चारै जनालाई जित्न सक्नुहुन्छ ? अवश्य सक्नुहुन्न । कि त तपाईं जित्नको लागि चमत्कारिक सावित हुनुपर्यो । नत्र लड्नुभयो भने तपाईं नष्ट (Perish) हुनुहुनेछ । यदि एकजना मात्र लड्न आयो भने पक्कै पनि तपाईंले क्षमता राम्रोसंग देखाउन सक्नुहुन्छ र जित्न सक्नु हुन्छ । त्यसैले तपाईंको उद्देश्य पनि एउटै हुनुपर्छ र त्यो तपाईंको मनले चाहेको हुनुपर्छ ।
अब स्वभाविक प्रश्न उठ्छ कसरी सफलता हासिल गर्ने ? सबैभन्दा पहिले तपाईंले आफ्नो जिन्दगीको लक्ष्य निर्धारण गर्नुपर्दछ र त्यसमा मनदेखि तत्परता देखाउनुपर्दछ । त्यो नै सफलताको पहिलो लक्षण हो । यस सन्दर्भमा एकजना प्रख्यात लेखक शिव खेडाले आफ्नो विश्वचर्चित कृति  You can Win अर्थात तपाईंको जीत भन्ने पुस्तकमा लेखेका छन – “संसारका असफल मान्छेहरु क्षमताको अभावले विफल भएका होइनन तर इच्छाशक्ति,समर्पण, निर्देशन र अनुशासनको अभावको कारणले गर्दा भएका हुन ।” यो वाक्यांशको नेपाली अनुवादमा केहि त्रुटी भएको हुन सक्छ तर मूल मर्म यहि नै हो । यसर्थ, यो पङ्क्तिकारले सफलताको साचो मूख्य रुपमा यि चार तत्वहरु इच्छाशक्ति, समर्पण, निर्देशन अनुशासन हुन् भन्ने कुरालाई यो लेख मार्फत प्रष्ट पार्ने जमर्को गरेको छ ।

 

१. इच्छाशक्ति (Desire)
सफलताको लागि पहिलो शर्त भनेको नै इच्छाशक्ति हो, जसले सफलताको ढोका उघार्ने काम गर्दछ । Napoleon Hill ले भनेका छन – “Desire is the starting point of all achievement not a hope, not a wish but a keen pulsating desire which transcends everything.” यसको अर्थ सफलताको पहिलो खुड्किलो नै इच्छा भन्ने हो । त्यस्तै गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन– “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक” । यसले पनि सफलताको खातिर गहिरो इच्छाशक्तिलाई इङ्गित गर्दछ । हरेक व्यक्तिले आफ्नो लक्ष्य चुम्न मनभित्रैबाट आट गर्नुपर्छ । हाम्रो नेपाली समाजमा एउटा उखान प्रचलित छ– “जहाँ इच्छा त्यहाँ उपाय” । यसको मतलब हामीभित्र इच्छा हुनै पर्छ । इच्छा भएपछि उपायहरु भेटिन्छन । अन्यथा, इच्छा विपरित अगाडि बढियो भने हाम्रो प्रत्येक प्रयास बालुवामा पानी खनाए भन्दा फरक रहदैन । यस विषयमा बुबाआमा (Parents) अझ सचेत रहनुपर्छ । आफ्नो बालबच्चाको इच्छा मूताविक अवसर र शिक्षा प्रदान गरियो भने सबैभन्दा ठूलो कर्तव्य निभाएको ठहरिनेछ । कतिपयले आफ्नो छोराछोरीलाई जबरजस्ती डाकटर, इन्जिनिएर पढाउन खोज्छ्न जबकि छोराछोरीमा संगित वा अभिनयमा मा इच्छा हुन सक्छ । आफ्नो इच्छाविपरित करिअर अंगाल्नेहरु धनदौलत प्रशस्त भएपनि जीवनका धेरै आयामहरुमा असन्तुष्ट र बेखुसी हुने गर्दछन । त्यसैले इच्छाविपरीत हामी सफल हुन सक्दैनौ । हामीले कल्पना गरौ । महान गायक नारायण गोपाल संगीतमा नलागी डाक्टर भएको भए कस्तो डक्टर हुन्थे होला ? महान फुटबल खेलाडी पेले क्रिकेट खेलाडी भएको भए के उत्तिकै चर्चित हुन्थे होला ? विश्वचर्चित हास्यकलाकार चार्ली चप्लिन हास्य क्षेत्रमा नलागी इन्जिनियर भएका भए कस्ता हुन्थे होलान् ? त्यसैले अमर न्यौपानेको पुस्तक “करोडौं कस्तुरी “ मा भने झै आफूभित्रको विना (क्षमता) पत्ता लगाउनेले मात्र सफलताको फल चाख्न पाउछन । उक्त क्षमता चिन्न ढिला नगरौ । आफ्नो तीब्र इच्छा जून क्षेत्रमा छ त्यहीँ क्षेत्रमा तन मन लगाएर अगाडि बढ्ने प्रण गरौ । यसको उदाहरण खोज्न टाढा जानुपर्दैन । स्व. डा.स्वामी प्रपन्नाचार्यको जीवनीबाट बुझ्न सक्छौ । सामान्य काले राइ भनेर चिनिने उनी एकाएक ज्ञानको भोकले २८ वर्षको उमेरमा भारत प्रस्थान गरेर संस्कृतका प्रकाण्ड विद्धान बने । उनलाई वेद गुरु भनेर पनि चिनिन्छ । उनीभित्र गहिरो इच्छाशक्ति नभएको भए उनी त्यति सफल विद्धान हुने थिएनन । त्यसैले लक्ष्य प्राप्तिको भोक हामीभित्र हुनु सफलताको पहिलो शर्त हो ।

२.समर्पण (Devotion)
इच्छा भएर मात्र जीवनको वास्तविक सफलता प्राप्त हुदैन । यसको निम्ति निरन्तर लगावको जरुरत पर्दछ । हामीले अब आफ्नो उद्देश्य मूताविक दैनिक कार्ययोजना (Daily Action Plan) तयार गर्नुपर्ने हुन्छ । एउटा भनाइ छ – “The mystery of our success is hidden behind our daily routine.” अर्थात, हाम्रो सफलताको रहस्य हाम्रो दैनिक रुटिन पछाडि लुकेको हुन्छ । यसको मतलब हचुवाको भरमा काम गर्नुभन्दा सहि कार्यतालिका अनुसार अगाडि बढ्नु राम्रो हुन्छ । प्रत्येक दिन आफ्नो योजनासहित कार्यको शुभारम्भ गर्नुपर्दछ ।यो सफल हुनेहरुको एउटा सर्वोत्तम उपाय हो र साचो अर्थमा जीवनमा सकारात्मक परिवर्तन पनि ल्याउने गर्दछ । वास्तवमा भन्ने हो भने सफलताको सबैभन्दा महत्वपूर्ण पाटो नै निरन्तर लगाव हो, संघर्ष हो, कडा परिश्रम र मिहिनेत हो जसले आफ्नो जीवनको लक्ष्यप्रति समर्पित गराउछ । कामप्रतिको निरन्तर समर्पणले नै हामीलाई सफलता उन्मुख गराउछ । एक दुई दिन वा दुई चार महिना र वर्ष पनि उद्देश्य प्राप्तिको लागि पर्याप्त नहुन सक्छ । त्यसैले यसको निरन्तरता अपरिहार्य रहन्छ ।
दुनियाँमा सफल बन्नेहरु आफ्नो सम्पूर्ण सफलताको कारण आफ्नो निरन्तर मिहिनेत अर्थात कामप्रतिको लगावलाइ ठान्दछन । उनीहरू सधै आफ्नो कर्ममा कटिबद्ध रहन्छन । कयौ प्रयासहरु गर्छन । महान वैज्ञानिक थोमस एल्बा एडिसनले विज्ञान जगतमा सयौ आविष्कारहरु गरेर छाडेका छन । उनले बिजुलीको चिम बनाउन करिब ९९९ पटक भन्दा प्रयास गरेका थिए । पासाङ ल्हामु शेर्पाले तीनपटकमा सगरमाथाको सफल आरोहण गरेकी थिइन । निरन्तर लगाव र परिश्रमले राजेश हमाल नेपाली रजतपथमा महानायक बने । मह जोडी मदन कृष्ण र हरिवंश त्यसै सफल भएका होइनन् । भारतका धनाढ्य अम्बानी पहिला कबाडी सामान बेच्थे । अहिलेको स्थानसम्म उनले कति संघर्ष गर्नुपर्यो होला । त्यसैले हामीले निरन्तर संघर्ष गर्नैपर्छ ।
हुन त फेरि कतिपय मान्छेहरु भाग्यमा विश्वास गर्छन न कि ज्यादा कर्ममा । उनीहरु सफल हुने र नहुने भाग्यको खेल ठान्छन । यो भाग्यवादी सोच हामी धेरैमा व्याप्त रहेको हुन्छ । तर भाग्यवादी सोच सफलताको एक बाधक तत्व नै हो ।
Shiva Khera ले लेखेका छन : हाम्रो जीवनको सबै भन्दा निराशाजनक वाक्य “मैले गरेको भए ” भन्ने हो । अधिकाङ्श मानिसहरु जो भाग्यमा विश्वास गर्छन, उनीहरु अरुको सफलता देखेपछि मात्रै बल्ल पश्चताप गर्छन कि मैले पनि गरेको भए हुने रहेछ । तैपनि उनीहरु भाग्यलाई दोष दिन्छन । मेरो पनि उस्को जस्तो भाग्य भएको भए सफल हुन्थे भन्छन । जबकी सफलताको लागि उनिहरुमा लगनशीलता र कडा परिश्रम नभएको थाहा पाउदैन । हेनरी डेभिड थोरोले भनेका छन– मानिसको सोचाइले उसको भाग्य निर्धारण गर्दछ । ” यो कुरालाइ मनन गर्दा मलाइ के लाग्छ भने निराशावादीहरु भाग्यमा विश्वास गर्छन भने आशावादीहरु सधै आफ्नो सकरात्मक सोचलाई भाग्यको पूर्वसन्ध्या मान्छन । विजय हुन चाहनेहरु कहिल्यै पश्चताप गर्दैनन। बरु हरेक गल्तिलाइ आफ्नो असक्षमता महसुस गरि नयाँ पाठ सिक्दै अघि बढ्छन ।
भाग्यवादी मानिसहरु राशिफलले के भन्छ भनेर पर्खेर बसिरहेका हुन्छन । उनिहरु आफ्नो काम पनि अरुले गरिदेओस भन्ठान्छन । उनीहरु आँखा चिम्लेर भाग्यमा विश्वास गर्छन तर आफ्नो भाग्य चिन्दैनन । विद्धानहरु यसलाइ कमजोर दिमागको उपज हो भन्छन । त्यसैले त उनीहरु पण्डित, ज्योतिषहरुको सिकार हुन्छन । भाग्यवादी मान्छेहरु चराले भाग्यमानी पखेटा पाएका हुन्छन भन्ने ठान्दछन तर के चरालाई आफ्नो पखेटा भाग्यमानी लाग्ला ? पक्कै लाग्दैन । वास्तवमा हाम्रो भाग्य हामी भित्रै छ । हाम्रा हात, खुट्टा, आँखा, मुटु, मस्तिष्क आदि अङ्गहरु त्यसै बनेका छैनन । हामीले सहि प्रयोग र मिहिनेत गर्यौ भने सफल कसो नभइएला ?
अर्को महत्वपूर्ण कुरा के हो भने तपाईंले कुनै पनि हालतमा आफ्नो आत्मविश्वास गुमाउनु हुदैन । संघर्षको बेलामा हतोत्साहित हुने, निराश हुने, निरन्तरताको अभाव आदि कारण तपाईं आफ्नो लक्ष्य चुम्न असफल हुनुहुनेछ । त्यसकारण तपाईंभित्रको आत्मविश्वास दरिलो हुनुपर्छ । आत्मविश्वासका साथ आफ्नो काम र लक्ष्यप्रति प्रतिबद्ध भएर संघर्ष गर्नुहोस् । निरन्तर परिश्रम विनाको सफलताको कल्पना गर्न सकिदैन ।

३.निर्देशन (Direction)
तपाईले आफ्नो सफलताको निम्ति जहाज उडाइ सकेपछि अब अर्को महत्वपूर्ण कुरा आउछ सहि दिशा निर्देशनको । तपाईंले अथाह परिश्रम गरेर मात्र सफलता प्राप्त गर्न सक्नुहुन्न । कुन बाटो र कता जाने, कसरी अगाडि बढ्ने भन्ने कुरा स्पष्ट गर्नुपर्छ । जस्तै, पानी जहाज वा हवाइजहाज “कम्पास” विना अगाडि बढ्न सक्दैन । कुहिरोको काख जति उडे पनि रुमल्लिरहेको हुन्छ । त्यसकारण, सफलताको निम्ति सहि मार्र्गिनर्देशन अपरिहार्य रहन्छ ।  कतिपय मान्छेहरु गुनासो गर्छन कि जति संघर्ष गरेपनि सफल हुन सकिएन । सधै हातमा लाग्यो शून्य भयो भन्छन । जस्तो कि विद्यार्थीसंग मिहिनेत गरेपनि पास हुन नसकेको गुनासो हुन्छ, व्यापारीसंग नाफा भन्दा घाटा बढी भएको गुनासो हुन्छ, लडाकुसंग जति बहादुरी देखाएपनी युद्ध हारेको अनुभव हुन्छ, आदि आदि । वास्तवमा, यो सहि बाटो देखाउने व्यक्ती अर्थात सहि सल्लाह सुझावको कमीले गर्दा भएको हो ।
Shiva Khera ले भन्छन :  “ Winners don’t do different work but they do the same work differently.” अर्थात, सफल हुनेहरु फरक काम गर्दैनन् तर सोही कामलाई फरक ढंगले गर्छन । त्यसैले हामीले आफ्नो कामलाई फरक ढंगले गर्नुपर्छ । गुरुको निर्देशनलाई मनन गरेर अगाडि बढ्नुपर्छ । संघर्षको हरेक पाइला–पाइलामा हामीलाई सहि निर्देशनको आवश्यकता पर्दछ जसबाट हामी सफलताको गन्तव्यमा पुग्न सक्छौ ।

४.अनुशासन (Discipline)
सफलताको लागि इच्छा, समर्पण, निर्देशन मात्र पर्याप्त हुदैन । हामी सहि गन्तव्यमा पुगेपछि त्यसलाई कसरी स्थायित्व प्रदान गर्ने भन्ने कुरा अर्को महत्वपूर्ण कुरा हो । स्प्ष्ट भन्नुपर्दा, सफलतालाई कसरी टिकाउ बनाउने भन्ने कुरा हो,अनुशासन । सहि आचरण अंगाल्नु, नैतिक रुपमा बलियो हुनु, नराम्रो कर्ममा नलाग्नु, सधैं असल रहनु अनुशासनका विशेषता हुन ।
कतिपय मान्छेहरु जीन्दगीमा कति धेरै संघर्ष गरेर सफल हुन्छन तर नैतिक रुपमा पतन भएका हुन्छन । त्यस्ता मान्छेहरु वास्तवमा सफल होइनन । समाजले स्वीकार गरेको मान्छे मात्र सफल भन्न सकिन्छ । धेरै धन कमाउनु, ठूलो व्यापारी हुनु, महान कलाकार हुनु, महान नेता हुनु, प्रतिष्ठित डाक्टर हुनु मात्र सफलता होइन, सफलता अनुशासनको सहि पालना पनि हो भन्ने यो पङ्क्तिकारको बुझाइ छ ।

अन्तमा, लक्ष्यविहिन भौतारिरहेका हामीमध्ये युवाहरु आफ्नो क्षमता चिन्न सकिरहेका छैनौ । आफ्नो बहुमूल्य जीवन त्यसै बेवारिसे बनाइरहेका छौ । कमसेकम केहि गर्ने प्रण गर्नुभयो भने सफलताले तपाईलाई चुम्नेछ । भोलीको बिल गेट्स, भोलीको हरिवंश, चार्ली चप्लिन, भोलीको अमिताभ बच्चन, भोलीको नारायण गोपाल, भोलीको अल्वर्ट आइन्स्टाइन हामी नै हौ । त्यसैले तपाईं जुन क्षेत्रमा लाग्नुहोस एउटा सफल व्यक्ति भएर उभिनुहोस चाहे त्यो ढिलो नै किन नहोस ।

 

 

 

 

 

 

 

 

लेखकः सुनिल घर्ती मगर (हाल टोकियो,जापान)

Leave a Reply

Your email address will not be published. Required fields are marked *