भालुपहाडस्थित सेती खोलामा भेटियो स्याङजाका पंकज गिरीको कंकाल
पोखरा, साउन १९ । बुलेट बाइकसहित असार १८ गतेदेखि हराएका हराएका स्याङ्जाका पंकज गिरीको कंकाल भालुपहाडस्थित सेती खोलामा आज सोमबार भेटिएको छ । उनी घरबाट पोखरा जान्छु भनेर हिडेका थिए । आइतबार फेदीखोला गाउँपालिका वडा नं २ भालुपहाडस्थित सेती खोलामा क्षतविक्षत अवस्थामा नम्बर नखुलेको बुलेट मोटरसाइकल फेला परेको थियो र आज त्यहि ठाउँनजिक उनको कंकाल भेटिएको हो । माछा मार्न जाने व्यक्तिले हिजो बुलेट बाइकदेखेपछि पंकजको समेत त्यसै वरिपरि खोजी भएको थियो । आज उनको हाडखोरमात्रै भेटिएको स्याङ्जा प्रहरीले जनाएको छ ।
पंकजका आफन्तले घटनास्थलमा भेटिएका लुगाफाटोका आधारमा कंकाल उनकै भएको पहिचान गरेका थिए । सोही आधारमा उक्त कंकाल पंकजकै भएको प्रारम्भिक निक्र्योल प्रहरीले निकालेको हो ।
स्याङ्जाका प्रहरी नायब उपरीक्षक डिएसपी राजेन्द्र अधिकारीका अनुसार कंकाल भेटिएपछि पहिचानका लागि पंकजका आफन्तलाई डाकिएको थियो । आज मध्याह्न १२ बजेपछि घटनास्थल पुगेका आफन्तले सनाखत गरेका थिए । पंकजको दुर्घटनाबश वा कसैले मारेर ज्यान गएको हो भन्ने यकीन भएको छैन । त्यसको अनुसन्धान सुरु भएको जानकारी डिएसपी अधिकारीद्वारा प्राप्त भएको छ ।