पास्टर अतन लेप्चा लामाको जीवनी पुस्तक विमोचन
कमल बिएन । लामाचौर, पोखरा
लामाचौरस्थित आर.सी.कम्प्लेक्समा पास्टर अतन लेप्चा लामाको ८९ औं जन्मदिनको अवसरमा आयोजित एक कार्यक्रममा उहाँकै जीवनी पुस्तक “ख्रीष्टका सेवक अतन लेप्चा लामा” विमोचन भएको छ । पुस्तक विमोचन गर्दै शिक्षाविद् जोर्ज जोनले पुस्तक पढ्दा आफूले आफ्नै जीवन पढेको जस्तो महसुस गरेको बताउनुभयो । उहाँले पुस्तकमा सपाट जीवनी मात्र नभएर भूगोल र इतिहास पनि सँगसँगै पढ्न पाइने उल्लेख गर्दै यस पुस्तकबाट ख्रीष्टियन जीवन लेखनमा एउटा अध्याय सुरु भएकोमा खुसी व्यक्त गर्नुभयो ।
एकता बुक्सका निर्देशक रामचन्द्र तिमोथीले पुस्तक लेखन, सम्पादन क्रममा निकै मेहनत परेको उल्लेख गर्दै भन्नुभयो— “आदरणीय पास्टर अतन लेप्चा लामा नपाली इसाई जगतमा उल्लेखनीय योगदान दिने व्यक्ति हुनुहुन्छ । विभिन्न परिस्थिति र अप्ठ्याराहरुका बावजुद उहाँलाई प्रभुले नेपाली भूमि र ख्रीष्ट येशूको सुसमाचारका लागि चलाउनुभयो । पाष्टर अतनको जीवनलाई उहाँको सेवकाइसँग जोड्दै उहाँको जीवनी पुस्तक यहाँहरुमाझ आएको छ । आज र भोलिका पुस्ताहरुको लागि आशिष्मय र चुनौतीपूर्ण होस् भन्ने ध्येयले यो पुस्तकको प्रकाशन गर्ने जमर्को गरिएको छ ।”
कार्यक्रममा गायिका सलोमी तिमोथीले हार होइन जीवन जित हो बोलको गीत प्रस्तुत गर्नुभएको थियो भने पास्टर ग्रीष्मकेशव पराजुलीले वचनबाट बोल्दै पास्टर अतन लामाको जीवनबाट धेरैले आशिष पाउने विश्वास व्यक्त गर्नुभयो ।
२०६६ सालमा योजना बनाएर सुरु गरिएको यो परियोजना चार पटकको पुनर्लेखनपछि मात्र यो रुपमा पुस्तक आएको हो । पुस्तकमा अतनका जीवनका विभिन्न आयामहरुलाई समेटिएको छ । पुस्तक पढ्दा थाहा हुन्छ— उहाँ पुलपुलिएको केटो हुनुहुन्थ्यो, उहाँले त्रिभुवन, महेन्द्र र वीरेन्द्र गरी राजहरुको तीन पुस्तासँग भेट्न पाउनुभयो । सन २००७ सालको आन्देलनका कमाण्डर थीरबम मल्लको उपचारमा संलग्न हुनुहुन्यो । उहाँलाई कतिपय अवसरमा धर्मको ठेकेदार, डलरे इत्यादि आरोप पनि लाग्यो । उहाँले ख्रीष्टियान भएकै कारण कालो मोसोसहित अपमानसमेत सहनुपरेको कथाहरु पुस्तकमा समेटिएको छ । अतनका जीवनमा भएका यस्ता अनगिन्ती घटनाहरु छन् यस पुस्तकमा ।
एकता बुक्सले प्रकाशन गरेको यस पुस्तक कमल बी.एन. ले लेखेका हुन् । पुस्तक ४०० पृष्ठको रहेको छ ।