पाष्टर वा अगुवाले राजनिति गर्न हुने कि नहुने ?
ईसाइहरूको बीचमा एउटा नयाँ बहस भनौं या वैचारिक लेखाजोखा निकै उत्कर्षमा देखिएको छ । पाष्टरले राजनीतिक दलको अगुवाइ गर्न हुने कि नहुने । मपनि यहि समाजको अभिन्न अंग भएकोले चासो नलिने कुरै भएन त्यसमाथि पनि एक पक्ष तिर लागेर उसको राम्रो पक्ष को वकालत् पनि गर्नै पर्यो, त्यसैले केही कुरा साथी भाई माझ राख्दै छु ।
धेरै ठूलो जमात् पाष्टरले राजनितिको भाषा,कुनै पनि पार्टीको प्रचार प्रसार तथा कुनै पनि चुनावमा उठ्न नहुने भनेर कुर्लेको देखियो । यसमा कुनै शङ्का छैन कि नेपाल र छिमेकी राष्ट्र भारतमा फोहोरी राजनीति को खेलमा नेता र कार्यकर्ता चुर्लुम्म डुबेको हरेक ईसाइ जो अलिकति जागरूक छ उसको नजरमा नलुकेको होइन त्यसैको उपज हुन सक्छ ।
एउटा मण्डली (चर्च) को अगुवा जसले नराम्रो नगर भन्ने शिक्षा दिन्छ भोलि अरू नेता सरह स्वार्थ को लागी जे पनि गर्न सक्छ भन्ने चिन्ता पलाउनु स्वभाविक पनि हो, तर यसलाइ उल्टो तिर बाट मात्रै किन सोच्ने ? एकछिन महान् विचार भएका साच्चिकै शिक्षित् व्यक्ति ले झैं विचार गरौं त, तपाईं हाम्रो पाष्टर तथा अगुवा जसलाई तपाईं पछ्यानु हुन्छ,जसले परमेश्वर को बचन बोल्दा तपाईं पुरा मनले सुन्नुहुन्छ वा पालन गर्नु हुन्छ,जसको सल्लाहमा तपाईं शैतानको किल्ला भत्काउन जोशले भरिनु हुन्छ, जसलाइ तपाईं आफ्नो सारा भित्री कुराहरू खोलेर प्रार्थना गरि माग्नुहुन्छ र समस्या भए हल गराइ माग्नु हुन्छ,त्यही पाष्टर वा अगुवा तपाईं बस्ने देशको प्रधानमन्त्री वा राष्ट्रपति भए एउटा सानो मण्डली मात्र होइन देशनै चलाउने भए कसको के बिग्रन्छ? के यो सपना देख्न प्रभुले मनाइ गर्नुभाछ ?
एउटा पाष्टर वा अगुवालाई जससँग पवित्र आत्मा को भरपुरी छ जससँग परमेश्वरको जिवित बचन छ, उसलाइ परमेश्वरको दोस्रो महान् आग्या पुरा गर्ने ठूलो अवसर बाट बन्चित त गराएका छैनौँ? यदि पाष्टरले अरू कुनै काम गर्न सक्छ भने राजनिति गर्न किन नहुने? यदि उसलाइ लाग्छ कि उस्ले राजनीतिक क्षेत्रमा केही गर्न सक्छ भने । बिना दर्शन र अगुवाइ त केही पनि पूरा हुदैन ।
पुराना विश्वासी हरूलाई याद होला कि विश्वासीहरूले त व्यापार पनि गर्नुहुन्न भनि संकुचित सिद्दान्त बोकेर हिड्ने गर्थे अरे…तर आज धेरै को व्यापारमा प्रभुले आशिष दिनुभएको छ । हरेक काम गरौँ तर पाप लाई प्रोत्साहन हुने काम पो गर्न भएन, कृपया आफुखुशी बन्देज सृजना नगरौं कित नेपालमा ईसाइ राजनेता हरू प्रशस्त भए लौ पाष्टर ले यता तिर नहेरेकै बेस भन्नु, व्यवस्थापिकासंसदमा शुन्य ईसाइ जनप्रतिनिधित्व भएको अवस्थामा कुनै बिचरा पाष्टर ले कदम बढाउनु अघिनै छेकबार गर्नु पररमेश्वर बाट हो कि अन्त कतैबाट एक चोटी गम्भीरता साथ विचार गर्नैपर्छ । नेपालमा कुनै ईसाइ अगुवाले कहिल्यै पनि राजनैतिक निकाय लाई नहाँकेको अवस्थामा पहिल्यै प्रतिबन्धित् भनाई आउनु हतार त भएन?
राजनिति फोहोरी खेल अरे? यदि साँच्चै राजनिति फोहोरी खेल भए पाष्टर त के कुनै साधारण ईसाई पनि त्यसमा सहभागी हुनु हुँदैन, तर मित्रहरू राजनिति लाइ फोहोर को डङ्गुर बनाउने मान्छेनै हो, बाईबलले भन्छ भलो गर्न जानेर पनि कसैले गर्दैन भने त्यसले पाप गर्छ,त्यही फोहोरको सफाई गर्ने ईसाइको पर्खाईमा छ हाम्रो राष्ट्र,बाईबलमा यो पनि लेखिएको छ कि ’तिमीहरूलाई म व्वाँसोहरूको बीचमा भेडाको पाठो सरी पठाउने छु । तपाईं लाई थाहा छ राज्यको हरेक महत्वपूर्ण स्थानमा राजनैतिक नियुक्ति हुन्छन्, त्यही स्थानले बडो व्यग्रतासाथ एउटा सच्चा ईसाई को सदियौं देखि प्रतीक्षा गर्दै छ,त्यो एउटा पाष्टर पनि हुन सक्छ,त्यो मण्डलीको एल्डर डीकन वा प्रेरित पनि हुन सक्छ ।
पर्मेश्वर कहिले पनि परिवर्तन हुनुहुन्न तर वहाँले विश्वलाई परिवर्तनशील बनाउनु भएको छ,त्यही कारणले हेर्दै जानुहोला एक दिन सच्चा ईसाइ अगुवाहरू आफ्ना भेडाहरू लाई राजनैतिक शिक्षा पनि समावेश गरि डोर्याउन पर्ने समय आउने छ, कहिले सम्म राजनैतिक थिचोमिचो मा र पिडित वर्ग लाई टुलु टुलु हेरेर बस्न सक्नु हुनेछ, आखिर घुँडा टेकेर यो देश लाई तपाईंले बचाउनुहोस भनेर प्रार्थना गरेको पक्कै खेर जाने छैन ।
एकजना पाष्टरले यसो पनि भन्नुभयो म चुनावको बेलामा ईसाइ पार्टी वा त्यो वा यो पार्टी लाई भोट हाल भनेर भन्दिन………..के मण्डलीका विश्वासी हरू राजनैतिक विषयमा पूर्ण जानाकार छन् र? किविवादमा परिन्छ भनेर हो? वा तिमीहरु पुच्छर होइन शीर तुल्याउने छु भन्ने बचन् माथि विश्वास छैन ?
यहाँ मैले नेपाल भन्दा बाहिरका ईसाइ पार्टी तथा ईसाइ अगुवा हरूले के के गरे भनेर उदाहरण प्रशस्तै भएता पनि प्रस्टयाउन चाहिन किनकी तर्क आउन सक्छ उनीहरूको संस्कृति,चाल चलन, रहन सहन फरक होला भनि हो ठिक त्यही हाम्रा बीचमा विद्यमान कुण्ठित र संकिर्ण संस्कृति को जुन तुस बाँकी छ नि त्यसलाई निमिट्यान्न पार्न पहल गर्नु पनि एउटा सेवकाई नै ठान्छु । मण्डली भित्र मात्रै हाल्लेलुयाह भन्दै बस्ने ईच्छा हुनेलाई मेरो यो लेख पढदा हाँसो उठ्ला तर साँच्चिकै ख्रिष्टिय परिवर्तन चाहनेलाई केही उत्साह अवश्य दिनेछ ।.
जय मसिह
(यो लेखकको व्यक्तिगत विचार हो । )