बन्दाले क्यान्सर रोकथाम गर्नसक्छ !
वैज्ञानिकहरूले आन्द्राको क्यान्सरको जोखिम घटाउने गुण भएका केही सागपातहरूको पहिचान भएको बताएका छन । तिनमा बन्दा र ब्रोकोली पनि छन् ।
“क्रुसिफेरी” वर्गका ती वनस्पति खाँदा पेटलाई फाइदा हुन्छ । तर त्यसको विस्तृत कारण भने त्यति स्पष्ट भइसकेको छैन । फ्रान्सिस क्रिक इन्स्टिट्युटका वैज्ञानिकहरूले ती सागपात पचेपछि पेटमा क्यान्सर प्रतिरोधी रसायन बनेको प्रमाण भेटेका छन् । क्यान्सर रिसर्च यूकेले धेरै सागपात खानु पर्नाका पर्याप्त कारणहरू रहेको बताएको छ । यो अनुसन्धानले मुसा र प्रयोगशालामा विकसित आन्द्राको अध्ययन गरेर कसरी सागपातले आन्द्राको भित्री सतहलाई फेरिदिन्छ भनेर हेरेको थियो ।
आन्द्राको सतह पनि छालाजस्तै निरन्तर रूपमा बनिराख्छ । यो प्रक्रियाका लागि चारदेखि पाँच दिन लाग्छ । तर यो निरन्तर भइराख्ने प्रक्रिया नियन्त्रित हुनुपर्छ । नत्र यसले क्यान्सर वा आन्द्रामा “इन्फ्लमेशन” अर्थात शूल हुनसक्छ । “इम्युनिटी” जर्नलमा प्रकाशित सो अनुसन्धानबारेको लेखमा उपर्युक्त सागपातमा भएका रासायनिक तत्त्वहरू महत्वपूर्ण रहेको उल्लिखित छ । यी सागपात चबाउँदा बन्ने इन्डोल–३–कार्बिनल नाम गरेको रसायनबारे अनुसन्धानकर्ताहरूले अध्ययन गरे ।
अनुसन्धानकर्ता डा.गिटा स्टकिङ्गर भन्छिन, “सागपात धेरै नपाकोस, ब्रोकोली ढाडिएको नहोस् भनेर हेक्का राख्नुपर्छ ।” पाचनप्रणालीभित्र यात्रा गर्दै जाँदा यो रसायन पेटमा हुने अम्लसंग मिसिएर परिवर्तित हुन्छ । तल्लो आन्द्रामा यसले आन्द्राको सतह पुनरुत्पादन गर्ने “स्टेम सेल” र शूल नियन्त्रण गर्ने “इम्युन सेल”हरूको गतिविधिलाई फेरिदिन सक्छ । अनुसन्धानले इन्डोल–३–कार्बिनल प्रचुर मात्रामा हुने खानेकुराले आनुवंशिक कारणले उच्च जोखिम भएका मुसालाई पनि क्यान्सरबाट जोगाएको अनुसन्धानले देखाएको छ ।
आन्द्राको क्यान्सरका लक्षणहरू :
दिसामा निरन्तर रगत देखिनु
धेरै पटक दिसा बस्नुपर्ने हुनु
पेट दुख्नु, फुल्नु र अप्ठेरो हुनु
सुरक्षात्मक खानाविना पेटका कोषहरू अनियन्त्रित रूपमा बढे । स्टकिङ्गर भन्छिन । “मुसाहरूमा ऐँजेरु बन्न थालेपछि हामीले उपयुक्त खाना दिन थाल्यौँ । त्यसले ऐँजेरुको वृद्धिलाई रोकिदियो ।” स्टकिङ्गरका अनुसार सो अनुसन्धानबाट पत्ता लागेको कुरा “आशाप्रद” छ । आफूले मासु खान घटाएर धेरै सागसब्जी खान थालेको उनी बताउँछिन् । “यो अध्ययनबाट यो प्रणालीले कसरी काम गर्छ भन्नेबारे रासायनिक विधि थाहा भएको छ ।” बिबिसी