चेन्नईलाई आइपिएलको उपाधि, गील आइपिएलमा सर्वोत्कृष्ट खेलाडी

खेलकुद मुख्य समाचार

एजेन्सी – चेन्नई सुपर किंग्सले आइपिएल २०२३ को उपाधि जितेको छ । फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै उपाधि जितेको हो । योसँगै चेन्नईले पाँचौं पटक आइपिएलको उपाधि जितेको छ ।
जितको लागि १ सय ७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । जितको लागि अन्तिम २ बलमा १० रन चाहिँदा रविन्द्र जडेजाले छक्का र चौका हान्दै खेल जिताएका हुन् ।
वर्षाको कारण पाँच ओभर घटाइएको थियो । सुरुमा २ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा पहिलो ओभरमा वर्षा भएपछि लामो समय खेल रोकिएको थियो ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । लिग चरणमा गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए । पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

गिललाई आइपिएलमा सर्वोत्कृष्टसहित चार अवार्ड
गुजरात टाइटन्सका शुभमन गिलले सर्वोत्कृष्ट “मोष्ट भ्यालुएबल” सहित चार अवार्ड जितेका छन् । गुजरातलाई फाइनलसम्म पुर्याउन सानदार प्रदर्शन गरेका गिलले मोष्ट भ्यालुएबल, सर्वाधिक रन बनाएवापत पाउने ओरेन्ज क्याप, ड्रिम गेम चेन्जर, सर्वाधिक चौका “रुपे वन द गो फोर सिजन” गरि कुल चार अवार्ड प्राप्त गरेका हुन् । गिलले हरेक अवार्डमा समान १० लाख भारु पाउनेछन् । गिलले १७ खेलमा ३ शतक र ४ अर्धशतकसहित कुल ८ सय ९० रनका साथ शीर्ष स्थानमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *