मनाङमा भेटिए पहिलो संक्रमित, पोखरामा महिलालाई छुट्टै क्वारेन्टिन
पोखरा, असार ४ । गण्डकी प्रदेश अन्तर्गतको हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित पुष्टि भएको छ । मनाङको चामे गाउँपालिकाका एक कर्मचारी लाई संक्रमण देखिएसँगै गण्डकी प्रदेशमा थप ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
नवलपुरमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा मुस्ताङ बाहेकका १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । ४२ जना थपिएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २८९ पुगेको छ । नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष हुन् । दुई जनाको भने नखुलेको निर्देशक शर्माले जानकारी दिए । यसैगरी नवलपुर कै गैंडाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । तनहुँका १२ संक्रमितमध्ये ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका १ जना छन् । उनीहरु १८ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष हुन् ।
यस्तै गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहिद लखन गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालुङटारमा २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पुरुष र ४० वर्षीया एक जना महिलामा संक्रमण देखिएको छ ।
गोरखाकै शहिद लखन गाउँपालिकामा ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना पुरुष कर्मचारीको स्थायी ठेगाना भने कपिलवस्तुको बाँणगंगा–१४ रहेका हुन् । गण्डकी प्रदेशमा अहिले सम्म २२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।
महिलालाई छुट्टै क्वारेन्टिन
नेपालका केहि स्थानमा क्वारेन्टिनमा बलत्कार लगायत अन्य घटनाहरु घटेपछि यस्ता कार्यहरुलाई हुन नदिन पोखरा महानगरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । उक्त क्वरेन्टिनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि महिलानै रहनेछन । पोखरा महानगरपालिका वडा नम्वर ३ मा रहेको बृद्ध हस्पिटललाई महिलाहरुका लागि क्वारेन्टिइन बनाइएको छ ।