युभेन्टसलाई पेनाल्टीमा हराउँदै नेपोली कोपा इटालिया च्याम्पियन बन्यो
पोखरा, असार ४ । लिग च्याम्पियन युभेन्टसलाई हराउँदै नापोलीले पछिल्लो ६ सिजनमा पहिलो पटक मुख्य प्रतियोगिताको उपाधि जितेको छ। नापोलीले बुधबार राति कोपा इटालियाको उपाधि जितेको हो। उपाधि भिडन्तमा नापोलीले युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्यो। त्यसअघिको खेल गोलरहित बराबरीमा सकिएको थियो।पेनाल्टी सुटआउटमा युभेन्ट्सका पाब्लो डिबाला र डानिलोको पेनाल्टीले गोल गर्न सकेन।
डिबालाको प्रहार गोलकिपरले रोक्दा डानिलोको प्रहार आउट भयो। त्यसपछि नापोलीका मिलिकले वियजी गोल गरे।
पेनाल्टीमा युभेन्टसका लागि पहिलो प्रहार नै विफल भएको थियो । तेस्रो प्रहारका रुपमा लिओनार्डो बोनुची र चौथो प्रहारमा आरोन राम्सीले भने गोल गरेका थिए । नेपोलीका लागि कप्तान लोरेन्जो इन्सिग्ने, म्याटियो पोलीटानो, म्याक्सीमोभिच र अर्कादिउस्ज मिलिकले गोल गरेका थिए ।
खेलको २६ औं मिनेटमा नेपोली अग्रता लिनबाट चुकेको थियो । फरवार्ड लोरेन्जो इन्सिग्नेको फ्रिकिक प्रहार पोस्टमा लाग्दा युभेन्टस जोगिएको थियो । रोड्रीगो बेन्टान्कुरले फल गरेपछि प्राप्त फ्रिकिकमा इन्सिग्नेले सिधै गोलको प्रयास गरेका थिए ।
पहिलो हाफको अन्त्यतिर नेपोलीले अर्को अवसर गुमायो । ड्रिज मर्टेन्सको पासमा इन्सिग्नेको प्रहारलाई गोलरक्षक जियानलुइजी बुफोनले डाइभ दिँदै बचाए । त्यसको लगत्तै मिडफिल्डर डिएगो डेम्मेको प्रहारलाई बुफोनले खुट्टाले विफल पारे ।
पहिलो हाफको इन्जुरी समयमा बुफोनले अर्को उत्कृष्ट बचाउ गरे । उनले पुनःएकपटक इन्सिग्नेको प्रहारलाई नै गोल हुनबाट रोकेका थिए । पहिलो हाफमा गोलरहित बराबरीमा खेल सकिएको थियो ।
दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरेपनि गोलरक्षक बाधक बनिरहे । ८३ औं मिनेटमा इन्सिग्नेकै प्रहारले पोस्टको दिशा लिन नसक्दा नेपोली अभागी सावित भयो । पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा उनले बुफोनलाई समस्या दिन सकेनन् ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा बुफोनले युभेन्टसलाई पुनःजोगाए । माक्सिमोभिचको हेडरलाई उत्कृष्ट ढंगले बचाएका बुफोनले ६ यार्ड बक्सभित्र भिडमा तीन प्रहारलाई गोल हुनबाट रोकेका थिए । यसक्रममा नेपोलीको एक प्रहार भने पोस्टमा समेत लागेको थियो । बुफोनले खेल अवधिमा उत्कृष्ट प्रदर्शन गरेपनि युभेन्टस पराजित हुन पुग्यो ।