नेपालकै ठूलो सडक महोत्सवको २४ औँ संस्करण पौष १३ देखि
लाईट न्युज संवाददाता
पोखरा । २२ मंसिर २०७९ । सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ भन्ने मुल नाराका साथ पोखराको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्धेश्यले पुष १३ देखि १७ सम्म पोखरा सडक महोत्सवको २४ औँ संस्करण आयोजना हुन लागेको छ ।
आयोजक रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा पाँच दिन लेकसाइडको फिस्टेल गेटदेखि जरेबरसम्म ३ कि.मी क्षेत्रफलमा सडक महोत्सव गर्न लागेको हो । आफ्नो बेग्लै पहिचान निर्माण गर्न सफल पोखराको यस सडक महोत्सवले विगतका थुप्रै आरोह अवरोह सामना गर्दै २४ औँ संस्करणसम्म आउँदा एउटा गर्विलो इतिहास बोकेको छ ।
बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले उक्त महोत्सव थप आर्कषक र पृथक हुने जानकारी दियो । कार्यक्रममा बोल्दै रेवान अध्यक्ष एवं महोत्सव संयोजक नरेश भट्टराईले महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालिन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्य सहितको डकुमेन्ट्री प्रदर्शन जस्ता गतिविधिलाई निरन्तरता दिने जानकारी दिनुभयो ।
पर्यटन क्षेत्रलाई थप टेवा पुर्याई विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउने उद्धेश्य सहित अयोजित महोत्सवमा ८५ लाख कारोबार भई ५ देखि १० लाख बचाउने साथै ३ देखि ४ लाख दर्शक भित्राउने उद्धेश्य रहेको अयोजक समितिले बतायो । दर्शकहरु भित्राउन नेपाल पर्यटन बोर्डसंगको साझेदारीमा सातवटै प्रदेशमा समन्वय गरेको पनि जानकारी दियो ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, रेवान प्रथम उपाध्यक्ष विश्वराज पौडेल, महासचिव विकास भट्टराईले बोल्नभएको थियो ।